दसैंको सामान ल्याउनका लागि ऋणको माग गर्ने ह्वात्तै बढे, शेयर किन्नका लागि बैंकबाट ऋण लिने भने घटे

Sep 14, 2021 06:10 PM Merolagani



  • विष्णु बेल्वासे

दसैंको सामान ल्याउनका लागि बैंकमा ऋणको माग गर्ने बढेका छन् । नयाँ सवारी साधान खरिद गर्नेदेखि नयाँ लुगा लगाउने, मिठो खाने कुराहरु बिदेशबाट ठूलो परिणाममा दसैंमा खरिद गरिने हुँदा ऋण लिएर ती सामानको आयात गर्न थालिएकाले बैंकबाट ऋण लिने ह्वात्तै बढेका हुन् ।

दसैं नजिकिदै गएकाले बढी सामान आयात गर्न थाल्दा त्यतातिर बैंकले बढी ऋण प्रवाह गरेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए ।‘अहिले दसैंलाई लक्षित गरेर ऋण लिन खोज्नेहरु बढी छन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले भने, ‘विगत वर्षहरुमा पनि यति बेला ऋणको माग बढी हुने गरेका थिए ।’

विदेशबाट सामान आयात गर्नका लागि मात्र नभएर अन्य क्षेत्रमा पनि ऋणको माग बढेको नेपाल बैंक प्रवक्ता प्रकाश कुमार अधिकारीले बताए । ‘एसएमई, उत्पादनमूलक उद्योगहरुले पनि ऋणको माग गरिरहेका छन्,’ उनले भने, ‘अन्य क्षेत्र क्षेत्रबाट पनि ऋणको माग फाट्टफुट्ट रुपमा आइराखेको छ ।’

त्यसैगरी, घर कर्जा, सावारी साधन कर्जा, शैक्षिक कर्जा, साना तथा मझौला उद्योगले पनि कर्जाको माग गरिरहेका छन् । केही समयअघिसम्म शेयर धितो कर्जाको माग पनि निकै थियो । तर, नेपाल राष्ट्र बैंकले एक बैंकबाट ४ करोड र तीन बैंकबाट बढीमा १२ करोड भन्दा बढी ऋण नदिन निर्देशन दिएपछि शेयर बजार ओरालो लागेको र त्यस क्षेत्रमा जाने ऋणको माग पनि त्यति धेरै नभएको अधिकारीले बताए ।

‘केही समय पहिला शेयर धितोमा राखेर ऋण लिने धेरै देखिएका थिए,’ उनले भने, ‘१२ करोडको सीमाले शेयर बजार घटेको हुनाले त्यतातिर कम ऋण माग हुन थालेको छ ।’

बैंकहरुले बिभिन्न फरक फरक क्षेत्रमा लगानी गरेपनि दसैं नजिकिदै जादा दसैंलाई लक्षित गरी ऋणको माग गर्ने धेरै आउन थालेको अध्यक्ष दाहालले बताए ।

कोरोना भाइरसको संक्रमणका बीचमा पनि व्यवसायीले व्यवसाय बिस्तार गर्ने क्रम जारी राखेको र नयाँ लगानी गर्न थाल्दा बैंकमा ऋणको माग बढेको बैंकरहरुको भनाइ छ । बैंकबाट लिएको अधिकांश रकम व्यवसायीले अत्यावश्यक बस्तु, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेका छन् ।

यतिबेला बैंकमा पैसा जम्मा गर्ने भन्दा बैंकबाट ऋण लिने बढेको बैंकका कर्मचारीहरु बताउँछन् । यसबाट के स्पष्ट हुन्छ भने दसैंमा बैंकबाट ऋण लिएर लगानी गर्ने बढेका छन् । बिगतका वर्षहरुमा पनि दसैंमा कर्जाको माग अत्याधिक हुने गरेको थियो ।

शेयर घटेकाले बैंकबाट ऋण लिएर शेयर खरिद गर्नेमा पनि कमी आएको छ । यसले गर्दा दैनिक नयाँ रेकर्ड बनाउदै गएको शेयर बजार निरन्तर ओरालो लागेर २९२९ अंकमा आइपुगेको छ । केही समयअघि शेयर बजारले दैनिक नयाँ रेकड बनाउदै ३ हजार २०० अंकमा पुगेको थियो ।

वाणिज्य बैंकहरुले भदौको दोस्रो सता अर्थात भदौ १८ गतेसम्म बैंकहरुले ऋण बढाएर ३८ खर्ब १९ अर्ब पुर्याएका छन् । निक्षेप पनि सोही अवधिमा ४१ खर्ब २९ करोड पुर्याएका छन् ।

पछिल्लो समयमा बैंकबाट ऋण लिने बढेको बैंकका एक कर्मचारीले बताए । ‘व्यवसायीले बैंकबाट ऋण लिएर अत्यावश्वयक बस्तु उत्पादन, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा लगानी गरिरहेका छ,’ उनले भने, ‘दसैंअघिदेखि नै कर्जाको माग बढेको छ, यस्तो ऋणको माग दसैपछि कमी हुने सम्भावना देखिएको छैन् ।’

ऋणको माग बढेपछि बैकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव हुन थालेको छ । गत वर्ष बैंकिड प्रणालीमा करिव २ खर्ब रुपैयाँ लगानीयोग्य रकम थियो । तर, अहिले बैंकिङ प्रणालीमा करिव २७ अर्ब मात्र लगानीयोग्य रकम छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन थालेपछि गत सातामात्रै केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । कोरोनाको महामारीले क्रास कम हुँदै गएपछि ऋणको माग हुन थाल्दा बैंकिङ प्रणालीमा रकमको अभाव हुन थालेको हो । कर्जाको माग र निक्षेपबीचको सन्तुलन मिलाउने काम राष्ट्र बैंकको हो ।

राष्ट्र बैंकले तरलताको अभाव भएको बेलामा बजारमा तरलता पठाउने र बजारमा तरलता बढी भएको बेलामा खिच्ने गर्छ ।

गत वर्ष निक्षेप संकलनको तुलनामा कर्जाको माग कम हुँदा समस्या हुँदै आएको थियो । तर अहिले त्यसको ठिक विपरित कर्जाको तुलनामा निक्षेप संकलन ज्यादै कम छ ।

निक्षेप संकलन तथा कर्जा विस्तारमा सन्तुलन भएमा खासै फरक पर्दैन् । तर निक्षेप संकलनको तुलनामा ऋणको माग बढी भएका कारण समस्या आएको बैंकरहरुको भनाइ छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।