राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर सच्याउन थाले

Sep 22, 2021 11:54 AM Merolagani



असोज महिनामा उच्च रुपले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर संशाेधन गर्न थालेका छन्।

केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न निर्देशन दिएको थियो।

केन्द्रीय बैंकले यसअघि नै निक्षेपको ब्याजदर अधिकतम ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेको थियो। तर कतिपय बैंकहरुले साधारण बचत र मुद्दति निक्षेपको ब्याजदर नै ५ प्रतिशतभन्दा धेरैले फरक हुनेगरी सूचना निकालेका थिए। सो पश्चात केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सिइओहरुलाई ब्याजदर घटाउन निर्देशन दिएको थियो।

केन्द्रीय बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेर नयाँ सूचना निकाल्न थालेका छन्। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। तर कतिपय बैंकहरुले एकै महिनामा दुई पटकसम्म ब्याजदर प्रकाशित गरेका छन्।

बुधबार सिटिजन्स बैंकले असोज ४ गते प्रकाशित गरेको दशै तिहार मुद्दति निक्षेप योजना स्थगित गरिएको भन्दै नयाँ सूचना निकालेको छ।

त्यस्तै मञ्जुश्रीफाइनान्सले पनि भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागु गर्ने जनाएको छ। उसले असोज ४ गते नयाँ ब्याजदर सम्बन्धी सूचना सार्वजनिक गरेको थियो। तर उसले उक्त सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने प्रस्ट पारेको छ।

यसैगरी, प्रोग्रेसिभ फाइनान्सले पनि भदौ ३१ गते र असोज १ गते दुई वटा ब्याजदर सम्बन्धी सूचना जारी गरेको थियो। तर फाइनान्सले बुधबार एक सूचना जारी गर्दै पुरानै ब्याजदर लागु हुने जनाएको छ।

यसैगरी, गरीमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले पनि ब्याजदर संशोधन गरेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।