काेभिडका कारण क्रय शक्ति घटेका उपभाेक्ता,जसलाई मदिरा अनिवार्य चाहिन्थ्याे,उनीहरू अबैध मदिरा तर्फ माेडिए: उपाध्यक्ष धिताल

Sep 24, 2021 05:54 PM merolagani

सरकारले मदिरा जन्य व्यवसायलाई राजस्वकाे राम्राे श्राेत ठान्ने गरेकाे छ । हरेक आर्थिक बर्षकाे बजेटमा मदिराजन्य पेय पदार्थमा कर बढाइएकै हुन्छ । कर बढाएर मूल्य बढेपनि मदिरा पारखीहरूले महंगाे नमानी मदिराकाे सेवन गर्ने गरेका छन् । अझ चाडबाडकाे समयमा त मदिराकाे बिक्री बितरण अत्याधिक नै हुने गरेकाे छ ।                           

#के मदिरा व्यवसाय बाहिरी संसारले हेरे जस्तै मालामालकाे अवस्थामा छ त ? नेपालमा मदिरा व्यवसायकाे  स्थिति, बिदेशी ब्राण्डसँगकाे प्रतिस्पर्धा, अबैध मदिराले पारेकाे प्रभावका विषयमा मेराे लगानीका उप सम्पादक  सुवास निराैलाले  नेपाल मदिरा उत्पादक संघका नव नियुक्त उपाध्यक्ष राजेन्द्र धितालसँग कुराकानी गरेका छन् ।

 

अब व्यवसायकै कुरा गराैं, कस्ताे छ अवस्था ?

यति बेला मदिरा उत्पादक व्यवसायीलाई साह्रै ठूलो समस्या छ। सबैभन्दा बढी समस्या कोभिडले नै पार्‍यो। किनभने सबैभन्दा बढी मदिरा खपत भनेको होटेल, रेस्टुरेन्ट लगायतमा हुन्छ। कोभिडमा ती व्यवसाय बन्द प्राय: भए। यसले मदिराको खपत ह्वात्तै घटाइदियो। मदिरा पिउँछु भन्ने मानिसहरूले पनि त्यस बेला उपभोग गर्न पाएनन्। फेरि मदिरा पिउने भनेको रिल्याक्स, एक किसिमको आनन्द र खुसीको समयमा नै हाे। अर्कोतर्फ जनजीवन सामान्य अवस्थामा हुँदा त्यसको खपत बढी हुन्छ। एकातर्फ जनजीवन नै असामान्य भयो। त्यसमाथि खरिद गर्न पनि सहजता भएन। यसले गर्दा मदिराको खपत ह्वात्तै घट्यो। जसले गर्दा व्यवसायीलाई अप्ठ्यारो स्थितिमा पुराएको हो।

व्यवसाय ह्वात्तै घट्यो भन्नु भयो। सामान्य अवस्थामा कति जति खपत हुन्थ्यो र अहिले कतिमा झरेको छ ?

राज्यले दिएको मदिराहरूको अनुमतिका आधारमा आ आफ्नै कसिमका उपभोक्ता छन्। मदिरा बिभिन्न लेभलका छन् । बजारमा २५ युपि, ३० युपि,४० युपि, ५० युपि र ७० युपिका मदिराहरू छन्। यसमा आ आफ्नै किसिमका उपभोक्ता छन्। माथिल्लो लेभलको कन्जुमरको आफ्नै किसिमको लेभल मन्टेन छ। तर हामीहरू धेरै जसो व्यवसायीले निम्न वर्गीय उपभोक्तालाई लक्षित गरेर मदिरा उत्पादन गर्ने गर्छौ। त्यसमा चाहिँ सबैभन्दा बढी विक्री घटेको छ। हिजोको दिनमा १०० मान्दा आज त्यसको उपभोग ४० मा घटेको छ। त्यो वर्गको लागि लक्षित गरेर उत्पादन गरेको मदिराको किन उपभोग घट्यो भन्दा त्यस्तो वर्गको आम्दानी पनि कोभिडको कारणले घट्यो। उपभोक्ताको क्रय शक्तिमै क्षयीकरण भएपछि ती वर्गलाई लक्षित गरेर उत्पादन गरिएका मदिराको बिक्री घटेको हो। माथिल्लो स्तरको भन्दा निम्न र मध्यम वर्गलाई लक्षित गरेर उत्पादन गरेको मदिराको खपत बढी हुन्छ। त्यही वर्गले मदिराको उपभोग घटाइएपछि व्यवसाय घटेको हो।

नेपालमा सबैभन्दा बढी कुन युपिको मदिरा खपत हुन्छ ?

नेपालमा सबैभन्दा बढी बजार ७० युपिको छ। ७० युपिको बजार त असाध्यै घटेको छ। अन्तःशुल्कका कुराहरूले पनि यसलाई प्रभाव पारेको छ। किनकि त्यसको अन्तःशुल्क वृद्धि भएको छ। जसले गर्दा मूल्य पनि स्वाभाविक रुपमा बढ्यो। एकातर्फ सर्वसाधारणको क्रय शक्ति कमजोर हुनु र अर्को तर्फ मूल्य बढ्नु। जसले गर्दा त्यसमा समस्या देखिएको हो।

यसको बिक्री घट्नुमा अर्को कारण भनेको वैद्य मदिराको मूल्य बढ्यो। यता सर्वसाधारणको क्रय शक्ति घट्यो। मदिरा पिउने मानिसले त पिउन छाडेका छैनन्।  तर आफूसँग पर्याप्त रकम छैन। अब के गर्ने भन्दा पिउने बानी परेका मानिसहरूले अवैध मदिरा उपभोक्तालाई बढाइ दिए। अलिकति सस्तो पनि हुने भएकोले त्यसको व्यापकता बढ्दै गयो। अवैध मदिराको उत्पादन र खपत दुवै बढ्दै गएपछि वैद्य मदिरा व्यवसायी मर्कामा परेका हुन्। जसलाई राज्यले नियन्त्रण गर्न सकिरहेको छैन। जसको मारमा हामी परिराखेका छौ।

मुख्य समस्या भनेको कोभिडले पारेको बन्दाबन्दी नै देखियो भन्दा परक नपर्ला। तर अब बिस्तारै बजार पनि खुल्दै छन्। यसबाट आउने दिनमा केही आश गर्ने स्थिति सिर्जना हुँदै गएको छ कि छैन ?  

बजारमा चाडपर्वले गर्दा अलि अलि माग बढ्नै नै भयो। अहिलेको अवस्थामा सेल्स अलिकति भएपनि उठ्छ कि भन्ने अनुमानचाहिँ हामीले लगाउँदै आएका छौ। तर यति भन्दा भन्दै पनि पहिलेकै स्थितिमा पुग्न भने अझै गाह्राे नै देखिरहेका छौ।

चाड पर्वकाे बेलामा आन्तरिक उत्पादन र विदेशी उत्पादनको पनि माग हुन्छ। चाडबाडमा कुन मदिराको बढी माग हुन्छ ?

चाडबाडमा दुवै किसिमका मदिराको माग हुन्छ।  विदेशी उत्पादन प्रयोगकर्ता नेपालमा छन्। तर चाडबाडमा आन्तरिक उत्पादनकै बढी माग हुन्छ। खासगरी चाडबाडमा २५ युपिका मदिराको अलि बढी नै माग हुन्छ। हाम्रो उत्पादन नै विदेशकाे भन्दा कम नभएकोले पनि आन्तरिक उत्पादनकै बढी खपत भएको हो।

अर्को तर्फ राज्यले विदेशी मदिरा भन्दा पनि स्वदेशी मदिरालाई  प्रोत्साहन गर्ने गर्छ। उसले प्रोत्साहन गर्नुको कारण भनेको स्वदेशी पूँजी बाहिर नजाओस् भन्नको लागि हो। प्रोत्साहन गर्ने भन्दैमा विदेशी मदिरा भित्रिनै नदिने भन्ने पनि होइन। किनकि खुला बजारमा सबैले छनौट गर्ने अवसर पाउनु नै पर्छ। तर राज्यले स्वदेशी र विदेशी मदिरामा करको विषयमा भने थोरै अन्तर गर्नु पर्छ भनेर हामीले भनिरहेका छौ।

स्वेदेशी उत्पादन प्रोत्साहन त राज्यले गर्नु पर्ने कर्तव्य नै भयो। अर्को तर्फ मदिरा उत्पादकले यसलाई निर्यात गर्न सके अझै बढी लाभ होला नि ? निर्यातको अवस्था कस्तो छ ?

तपाईले ठीक कुरा गर्नु भयो। नेपालमा विदेशी मदिरा उपभोक्ताले पाइरहेका छन्। तर उत्पादन खपत भने स्वदेशीकै बढी छ। यसो हुनुको एउटै कारण के हो भने स्वदेशी उत्पादन वृद्धिको दाँजोमा निक्कै राम्रा र गुणस्तरीय हुनु हो। कुनै पनि राम्रा भनिएका विदेशी ब्रान्ड भन्दा नेपाली ब्रान्ड कम छैनन्।  त्यसैले अहिले केही राम्रा नेपाली ब्रान्डको निर्यात पनि निक्कै राम्रो हुँदै गइराखेको छ। बियर जन्य उत्पादन,रक्सी जन्य उत्पादन राम्रैसँग निर्यात क्रमिक रुपमा बढ्दै गइराखेको छ।  

विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने नेवाली ब्रान्डहरूको नाम लिनु पर्‍यो भने कुन कुन हुन् ?

ओल्ड दरबार, रुस्लान भोड्का, रोयल स्ट्याग, सिग्नेचर र भ्याट लगायतका ब्रान्डहरू आफैमा विश्व स्तरका छन्। यसमा पनि केही त अन्य मुलुककै ब्रान्ड हुन्। तर हाम्रो नै भन्नु पर्दा एटएटफोरएट,ओल्ड दरबार, रूस्लान भोड्का र भिएटी  गर्व गर्न लायकका प्रडक्ट हुन्। यिनीहरू २५ युपि अन्तर्गतका ब्रान्ड हुन्।

घरेलु उत्पादनलाई हाम्रोमा अवैध भन्दै आएका छौ।  राज्यको स्वीकृति बिना व्यवसाय गर्नकै लागि भनेर घरेलु मदिरा उत्पादन गर्न पाइँदैन । तर धेरै देशमा र हाम्रै मुलुकमा पनि कति देशका घरेलु उत्पादन ब्रान्डिङ भएर बजारसम्म आइ पुगेको देखिन्छ। हाम्रा घरेलु उत्पादनलाई पनि ब्रान्डिङ गर्न सकिँदैन ?

राज्यले चाह्यो भने गर्न नसकिने भन्ने चाँहि हुँदैन।  तिनीहरूलाई राज्यको कानुन अनुसार अघि बढाउन सकिन्छ। तर हामीले त त्यसलाई अवैध नै भन्छौ। किनकि हामीले राज्यलाई कर तिरेर उत्पादन गर्छौ। उत्पादनको ल्याब टेस्ट पनि गर्छौ। प्रमाणित गरेर उपभोक्ता माझ पुर्याउछौ। अवैधमा त्यसको कुनै मापदण्ड नै हुँदैन। न उनीहरूले गुणस्तरीय उत्पादन नै गर्छन्, न त उनीहरूले राज्यलाई कुनै योगदान नै पुर्याउछन्। अवैध मदिराले त राज्यलाई सबैतिरबाट घाटै घाटा छ। हामी त उनीहरूलाई राज्यले कडाइकासाथ नियन्त्रण गर्नुपर्छ भन्छौ। अवैध मदिराले गर्दा हाम्रो व्यवसायमा अप्ठ्यारो त परेको छ भनेर हामीले राज्यसँग जतिसक्दो नियन्त्रण गर्नु पर्‍यो भनेर लगातार माग गरिरहेका छौ। 

तपाईहरूले त्यसो भनिरहदा घरेलु मदिराको उत्पादन घटेको छैन बरु बढिरहेकै छ। खासमा उपभोक्ता पनि बढी आकर्षित भएरै तिनको उत्पादन पनि बढेको हो। किन सर्वसाधारण आकर्षित भई राखेका हुन् ?

राज्यको कमजोरी र उपभोक्तामा चेतनाको अभावले नै हो।  पहिलो कुरा त त्यसको नियन्त्रण राज्य पक्षबाटै गर्नु पर्छ। अर्कोतर्फ उपभोक्ता पनि सजग हुनुपर्छ। मदिरा भन्ने बित्तिकै त्यो मानव शरीरका  लागि उपयोगी हुँदैन। तर निश्चित मात्रामा उपभोग गर्दा त्यसले पार्ने प्रभाव पनि निश्चित नै हुन्छ। वैद्य मदिरा उत्पादकले जति सक्दो राज्यको नियम भित्रै रहेर राज्यकै निगरानीमा उत्पादन गर्ने हो। जसले गर्दा उपभोक्ताले गुणस्तरीय उत्पादन प्रयोग गर्न पाउँछन्।

तर घरेलु मदिराको कुनै मापदण्ड हुँदैन। आ आफ्नै तरिकाले उत्पादन गरिएको हुन्छ। जसको प्रयोगले तत्कालै मानिसको ज्यान समेत जान सक्छ। उनीहरूले कस्ता कच्चा पदार्थ प्रयोग गर्छन् भन्ने पनि यकिन नहुने भएकोले उपभोक्ताको लागि ती उत्पादन हानीकारक हुन्छन्। यसले गर्दा पहिले राज्यले नै त्यसलाई निरुत्साहित गर्नु पर्छ। अर्कोतर्फ उपभोक्ता पनि सचेत हुनु पर्छ।

अर्को तर्फ निम्न र मध्यम वर्गले उपभोग गर्ने मदिरालाई राज्यले अत्यधिक कर वृद्धि गरिदिँदा मदिरा महँगिएको छ। त्यसले गर्दा पनि उपभोक्ता घरेलु मदिरातर्फ आकर्षित हुँदै गएका हुन्। त्यसैले अझै धेरै मदिराबाट राज्यले बढी लाभ लिने हो भने त्यसको कर कम गरेर सस्तो दरमा उपभोक्ताले मदिरा प्रयोग गर्ने अवस्था सिर्जना गरिदिनु पर्छ। त्यसले एकातर्फ उपभोक्तालाई शिलबन्दी मदिरा प्रयोगमा बढवा दिन्छ भने अर्को तर्फ घरेलु मदिरा भन्दा गुणस्तरीय मदिरा उपभोग गर्न पाएपछि त्यो समस्या समाधान हुन्छ जस्तो लाग्छ।

अवैध मदिरा उत्पादन नियन्त्रण गर्नुपर्छ भनेर तपाईहरूले भन्दै आउनु भएको छ। खास कसरी नियन्त्रण गर्न सक्छ राज्यले ?

हेर्नुस् हाम्रो धेरै अघिदेखि नै यसलाई नियन्त्रण गर्नु पर्छ भनेर भन्दै नै आएका छौ। पटक पटक आन्तरिक राजस्व कार्यालयलाई भनिरहेका नै छौ। हामीले घचघच्याउने भनेको पनि त्यहीँबाट  हो। भर्खरै हाम्रो नयाँ कार्य समिति चयन भएको छ। हामीले पनि त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौ। जति सक्दो चाँडो हामी फेरि एक पटक आन्तरिक राजस्व विभाग गएर पुन: यो कुरालाई दोहोर्याउने योजनामा छौ। यसलाई नियन्त्रण गर्न राज्यले पनि आफ्नो तर्फबाट सहयोग गरिदिनु नै पर्छ भने हाम्रो तर्फबाट पनि यसमा कसरी सहयोग गर्न सकिन्छ भनेर कुरा राख्छौ। 

राजस्व कार्यालयको कुरा आउँदै गर्दा मदिरामा नक्कली स्टीकरको कुरा पनि बेला बेलामा आँउछ नि ?

हो यो कुरा बढी नै सुनिन्छ। सुन्दै जाँदा यस्तो भान पर्छ कि मदिरा उत्पादक नै यस्तो क्रियाकलापमा सहभागी हुन्छन् । तर यहाँनेर स्पष्ट पारौँ कि मदिराजन्य पदार्थ उत्पादन गर्दा सरकारको निगरानीमा मात्रै उत्पादन हुन्छ। जब उत्पादन गर्दा राज्यको निगरानी हुन्छ भने त्यसमा यस्तो खालको क्रियाकलाप मदिरा उत्पादकले नै गर्छन् भन्ने मलाई लाग्दैन । तर अपवाद भन्ने कुरा जहाँ पनि हुन्छ। कसैले त्यसो गर्‍यो होला। तर सबैलाई एउटै डालोमा राखेर हेर्न भने हुँदैन।

कुनै पनि मदिरा उत्पादन गृहमा राज्यको एक जना सुब्बा सरहका मानिस भौतिक रूपमै उपस्थित हुन्छन्। उनको भौतिक उपस्थितिमै उत्पादकहरूले उत्पादन गर्ने हो। राज्यका व्यक्तिको निगरानीमा उत्पादन हुने उत्पादनमा गलत काम भयो भनेर भन्नु आफैँमा राज्यको कमजोरी देखिनु हैन र ? फेरि एकछिन मात्रै सरकारी अधिकारीले गएर निरीक्षण गर्ने भन्ने पनि होइन। २४ सै घण्टा सरकारी कर्मचारीको निगरानी हुन्छ। यसलाई कसरी नियन्त्रण गर्ने हो त्यो राज्यको पाटो हो।   

जब २४ सै घण्टा राज्यका एक कर्मचारी उत्पादन गृहमै खटिएका हुन्छन् भने त्यसमा कतै राज्यको मिलेमतोमा  हुन्छ कि भनेर शङ्का गर्न सक्ने ठाउँ देखियो नि  हैन ?

राज्यको मिलेमतो हुन्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दिन। तपाईले शङ्का गर्न सक्ने ठाउँ त रह्यो। तर त्यस्तो हुन्छ भन्नेमा मैलेचाहिँ विश्वास गर्दिन। किनकि राज्यले त्यहाँसम्मको क्रियाकलाप गरेको चाहिँ मैले अहिलेसम्म पाएको छैन।  

नयाँ कार्यसमिति आइसकेपछि यस विषयमा हाम्रो मुलुक भित्र रहेका व्यवसायीलाई भेला गराएर एक कार्यक्रम आयोजना गरेरै त्यस्ता क्रियाकलाप निरुत्साहित गर्न जोड दिने छौ। यस्तो क्रियाकलापमा सहभागी कहीँ कतै देखिएका रहेछन् भने पनि उनीहरूलाई ऐन अनुसार कारबाही हुनु पर्छ भन्ने पक्षमा हामी छौ।

नाफाको दृष्टिकोणले कस्तो छ यो व्यवसाय ?

जुन सुकै व्यवसायमा पनि नाफा त हुन्छ नै। तर त्यसका लागि उसको उत्पादनले नै बजार लिनु पर्छ। उत्पादन भएको वस्तु अत्यधिक बिक्री भयो भने बढी नै नाफा हुने भयो। अब उत्पादन नै राम्रो भएन भने त नाफा हुने कुरै भएन। हाम्रो व्यवसायमा पनि त्यस्तै हो। जसको ब्रान्ड चलेको छ। उसले राम्रै नाफा गर्न सकेको स्थिति छ भने जसको चलेको छैन उनीहरुअझै सङ्घर्ष गरिरहेका छन्।  

कोभिडको बीचमा उद्योगहरू समस्यामा परे। राज्यले खासै मदिरा उद्योगलाई सहयोग गरेको देखिँदैन। कसरी म्यानेज गरिरहनु भएको छ ?

पुनरकर्जाको रुपमा राज्यले हाम्रो विषयमा केही बोलेको छैन। तर व्यवहारिक रूपले जसको उद्योग राम्रो चलिराखेको थियो उनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले सपोर्ट गरेका छन्। उद्योग चलाउन अफ्ठ्यारो परेकाहरूलाई बैंकहरुले थप १५ देखि २० प्रतिशतसम्म कर्जा बढाइदिएका छन्। जसले गर्दा हामीलाई सहुलियत नै भएको छ भन्नु पर्छ। 

comments powered by Disqus

हकप्रद निष्काशन गरेर व्यवसाय विस्तार गर्ने कम्पनी घटे

Oct 17, 2021 05:31 PM

सुधा देवकोटा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार हकप्रद शेयर जारी गर्न नपाउँदा हकप्रद निष्काशन गर्ने कम्पनीहरूको सङ्ख्यामा भारी गिरावट आएको छ।