मध्य भोटेकोशीको आईपीओमा आवेदन गर्नु अघि कस्तो छ कम्पनी? हेरौं

Oct 06, 2021 06:34 AM Merolagani

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ९० कराेड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गेरको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

औषत जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई २०७७ मंसिर १८ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ।

कस्तो कम्पनी हो?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६७ साउनमा १३ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगंज, काठमाडौंमा रहेको छ। कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने सिन्धुपाल्चोक जिल्लाको साविक  बाह्रबिसे नगरपालिका ५ र मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रहेको छ।

कम्पनीले रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ।

कम्पनीमा हाल चिलिमे जलविद्युत, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर र सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी संस्थापक शेयरधनी रहेका छन्।

आयोजनाको कुल लागत १६ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत १६ करोड ६४ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी ६ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर गरी कुल १ करोड ५० लाख कित्ता निष्काशनमा ल्याएको हो।

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी कम्पनीले सिभिल हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माण कार्यको लागि १ अर्ब रुपैयाँ, इलेक्ट्रो मेकानिकल कार्यको लागि ३० करोड रुपैयाँ, २२० केभी ट्रान्समिसन लाइनको निमार्ण कार्यको लागि १० करोड रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ।

यस्तै परामर्शतादाको लागि ५ करोड र आयोजना सञ्चालनको लागि ५ अर्ब रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ।

तीन वर्षमा सञ्चित नाफा एक अर्ब २८ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा एक अर्ब २८ करोड १४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २९ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने कम्पनी ५ करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २२ पैसा र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३६ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७९ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको थियो।

आयोजनाको अनुमानित कुल लागत १६ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत १६ करोड ६४ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।

साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १५.४८ वर्ष रहेको छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैयाँ र जारी पूँजी ६ अर्ब रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ११ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ४ जना र २ जना स्वतन्त्र गरी १ को सञ्चालक समिति रहने व्यवस्था छ।

अहिले संस्थापक समूह बाहेक अन्य समूहमा शेयर बिक्री नभएसम्म संस्थापक शेयरधनी चिलिमे जलविद्युत कम्पनीको तर्फबाट ४ जना, नेपाल विद्युत प्रधिकरणबाट १ जना, कर्मचारी सञ्चयकोषको तर्फबाट एक जना, अन्य संस्थापकहरुले मनोनयन गरेको १ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ८ जनाको सञ्चालक समिति रहनेछ। हाल स्वतन्त्र सञ्चालक पद रिक्त रहेको कम्पनीले जनाएको छ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व गर्ने हरिहर न्यौपाने रहेका छन्। यस्तै चिलिमे जलविद्युत कम्पनीबाटै लेखनाथ कोइराला, तुलसी राम ढकाल, सुभाष कुमार मिश्र पनि सञ्चालक समितिका सदस्य रहेका छन्।

कर्मचारी सञ्चय कोषको तर्फबाट ध्रुब भट्टराई, नेपाल विद्युत प्रधिकरणको तर्फबाट श्रीराम राज पाण्डे र सिन्धु इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट नरेशलाल श्रेष्ठ सञ्चालक समितिमा रहेका छन्।

नेपाल विद्युत प्रधिकरणमा विभिन्न तहमा रहेर ३२ वर्ष काम गरेका राम गोपाल शिवाकोटी कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका छन्।

भावी योजना तथा रणनीति

नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु कम्पनीको मुख्य रणनीति रहेको छ। त्यसको लागि नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने र सो आयोजनाहरुको निर्माण गरी उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशमा रहेको उर्जा संकटलाई केही हदसम्म कम गर्ने कम्पनीको योजना छ।

कम्पनीद्वारा सञ्चय कोषसँग लिएको ऋणलाई आयोजना सम्पन्न भई पूर्ण रुपमा व्यापारिक उत्पादन भए पश्चात सम्झौता बमोजिमको साँवाको किस्ता तथा ब्याज सहित बुझाउने छ।

कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्य अनुरुप भावि योजना र रणनीतिमा सम्भाव्य जलविद्युत आयोजनाको पहिचान गरी अनुमतिपत्र प्राप्त गरी सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने र ती आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति बिक्री गर्ने कम्पनीको अर्को उद्देश्य रहेको छ।

विभिन्न जलविद्युत आयोजनाहरुको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न अन्य कम्पनीसँग मिलि लगानी गर्ने वा नयाँ कम्पनी स्थापना गरी सो कार्य गर्ने योजना रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।