दशैंमा दक्षिणा पाए जस्तै चीनमा पाउँछन रेड इन्भेलोप

Oct 16, 2021 07:36 AM Merolagani



हामीले दशैंमा ठूलाबडाबाट टिका थापेर दक्षिणा प्राप्त गरेजस्तै चीनमा नयाँ वर्षलगायतका चाडहरुमा रातो खाम (रेड इन्भेलोप) मा केही पैसा राखेर बाँड्ने चलन छ। त्यसलाई उनीहरु ‘होङपाव’ भन्ने गर्दछन्। प्राय विजोर अंकमा नयाँ नोट राखेर रातो खाममा दिने हुनाले त्यसलाई होङपाव भनिएको हो । चिनियाँ भाषामा ‘होङ’ को अर्थ रातो र ‘पाव’ को अर्थ खाम हो।

परिवारमा भए परिवारको वरिष्ठ व्यक्तिले रेड इन्भेलोप बाँड्ने गर्दछन् भने कार्यालयहरुमा भए वरिष्ठ कर्मचारीले बाँड्ने गर्छन्। बिजोर नम्बरको सबैभन्दा ठूलो अंक ९ हो। ९ लाई चिनियाँ भाषामा ‘च्यु’ भनिन्छ । ‘च्यु’ को अर्को अर्थ ‘लामो समय’ भन्ने पनि हुन्छ। रेड इन्भेलप आशिर्वादको रुपमा दिने हुनाले चिरायु होस् भन्ने अर्थमा खाम भित्रको पछिल्लो अंक विजोर हुने गरेको हो। चिनियाँ समाजमा विवाह मिति तय गर्दा पनि सकेसम्म विजोर अंक नै रोज्ने गर्दछन्। चिनियाँले सबैभन्दा मन नपराउने अंक ४ हो। ४ लाई चिनियाँ भाषामा ‘सु’ भनिन्छ। यसको अर्को अर्थ मर्नु पनि हो। भौतिक रुपमा जतिसुकै प्रगति गरे पनि चिनियाँहरु यस्ता रुढिवादी परम्परामा विश्वास गर्ने खालका छन्। सिम कार्डको नम्बर छान्दा होस् वा गाडी नम्बर, सकेसम्म ४ अंक नभएको छान्छन् भने ९ र ८ अंकलाई बढी प्राथमिकतामा राख्छन्। ८ चाँहि जोर अंक भए पनि यसलाई भने राम्रो अंक नै मान्छन्। ८ लाई चिनियाँ भाषामा ‘पा’ भनिन्छ। ‘पा’ भनेर बोल्दा ‘फा’ जस्तै सुनिन्छ । ‘फा छाई’ भन्दा समृद्ध हुनुहोस् भन्ने अर्थ लाग्छ। ९ र ८ अंक बढी भएको सीम कार्ड र गाडी अझ प्रिमियम मूल्यमा बिक्री हुन्छ।

डिजिटल बन्दै परम्परा

प्रविधिको विकाससँगै परम्परागत रुपमा गरिने क्रियाकलाप पनि डिजिटल हुँदै गएको छ। मोबाइल फोन स्मार्ट मोबाइलमा परिणत भएपछि सांस्कृतिक रुपमा दिइने रेड इन्भेलोप पनि डिजिटलमा रुपान्तरण भएको छ। अहिले भौतिक रुपमा दिइने रेड इन्भेलोप कम हुँदै गएको छ। मोबाइलको बाक्लो प्रयोग सँगै चाडपर्व मनाउने तरिकामा पनि क्रान्तिकारी परिवर्तन आएको छ। चिनियाँ समाजमा डिजिटल भुक्तानी बढेको छ। वीच्याट, अलिपेजस्ता मोबाइल भुक्तानीमा एप्सहरुको बढ्दो प्रयोगसँगै रेड इन्भेलप पनि विद्युतीय रुपमा पठाउने क्रम बढेको छ ।

सन् २०१४ को चिनियाँ नयाँ वर्षमा पहिलोपटक वीच्याटले आफ्नो वीच्याट पे प्लेटफर्ममार्फत भर्च्युअल रुपमा रेड इनभेलोप पठाउने प्रणालीको घोषणा गरेको थियो। हामीले चलाउने फेसबुकको मेसेन्जरजस्तै चीनमा वीच्याट एकदमै प्रयोगमा आउने मेसेजिङ एप हो। वीच्याटको अभिन्न अंगको रुपमा वीच्याट पेलाई लिइन्छ। हाम्रो देशमा इसेवाले दिने जस्तै विभिन्न खालको अनलाइन भुक्तानीको काम वीच्याट पेको मद्दतबाट गर्न सकिन्छ। वीच्याटले सर्वप्रथम सीसीटीभीको नयाँ वर्ष सम्बन्धी विशेष कार्यक्रममा वीच्याटको भर्च्युअल रेड इन्भेलोपको घोषणा गरिएको थियो। हरेक चिनियाँ नयाँ वर्षको दिन प्रसारण गरिने सीसीटीभीको सो कार्यक्रम चीनको सबैभन्दा बढी हेरिने कार्यक्रम हो। त्यस कार्यक्रममा पुरस्कार जित्ने दर्शकहरुलाई वीच्याटले पुरस्कारस्वरुप ‘रेड इन्भेलोप’ पठाएको थियो। वीच्याटमार्फत पाउने भर्च्युअल रेड इन्भेलाेप अधिकतम २ सय युआनसम्म पठाउन मिल्छ। आफूलाई आवश्यक परेको बखत सो रकम आफ्नो बैंक खातामा समेत ट्रान्सफर गर्न सकिन्छ।

२०१४ को चिनियाँ नयाँ वर्षमा शुरुवात गरिएको भर्च्युअल रेड इन्भेलोप सन् २०१६ को नयाँ वर्षसम्म आइपुग्दा ३२ अर्ब वटा भर्चुएल रेड इन्भेलोप वीच्याटमार्फत आदान प्रदान भएका थिए। वीच्याटको मुख्य संस्था टेन्सेन्टले भर्च्युअल रेड इन्भेलोप शुरुवात गरिसकेपछि चीनको अर्को प्रतिस्पर्धी मोबाइल एप अली पेले पनि समान किसिमको भर्च्युअल रेड इन्भेलोप पठाउने सुविधा थपेको थियो। अली पे चीनको सर्वाधिक धनी ज्याक माको अलीबाबा ग्रुपले प्रबर्द्धन गरेको अनलाइनबाट मोबाइल भुक्तानी दिने मोबाइल एप हो। वीच्याट र अलिपेले रेड इन्भेलोप शुरु गरेपछि छोटो भिडियो शेयरिङ गर्ने वेबसाइट डोउयिन, ख्वाइसोउ, चीनको सबैभन्दा ठूलो सर्च इन्जिन बाइडुले पनि मोबाइल प्रयोगकर्ताको ध्यान आकर्षित गर्नको लागि रेड इन्भेलोपको सुविधा आफ्नो मोबाइल एपमा थपेका छन्।

पछिल्लो समय धेरै कम्पनीले रेड इन्भेलोप पठाउने सुविधा थप गरे पनि सबैभन्दा चल्ने भनेको वीच्याटको रेड इन्भेलोप नै हो। सन् २०२१ को नयाँ वर्षमा चिनियाँहरुले वीच्याटमार्फत फेब्रुअरी ११ देखि १६ सम्म ३ करोडभन्दा बढी रेड इन्भेलोप पठाइएको थियो। पछिल्लो समय गुच्ची, लुइस भुइटन, भर्सेज, डनहील डी बियर्सजस्ता चर्चित ब्रान्डहरुले पनि आफ्नो अनलाइन विज्ञापनमार्फत रेड इन्भेलोप जित्न सकिने सुविधा थपेका छन्। यसले पनि वीच्याटको रेड इन्भेलोपमार्फत हुने कारोबार बढेको पाइएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।