अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई १ वर्षभन्दा बढी समयको लागि मात्र शेयर किन्न छुट छ। छोटो समयको लागि शेयर बजारमा कारोबार गर्न बन्देज छ। शेयर कारोबार गरेर गत वर्ष अन्य आम्दानी बढाएको बैंकहरुको आम्दानी यो शीर्षकमा घट्ने निश्चित छ। अन्य आम्दानी शीर्षकको आम्दानी घट्ने आँंकलनसँगै बैंकहरु फि, कमिसन र छुट शीर्षकमा आम्दानी बढाउने कसरतमा लागेका छन्।
नयाँ आर्थिक वर्ष शुरु भएदेखि बैंकहरूले विभिन्न बहानामा शुल्क काटिएको म्यासेज पठाउन थालेका हुन्। कहिले मोबाइल बैंकिङ त कहिले एटिएम शुल्क तथा अन्य विविध शुल्कको नाममा ग्राहकसँग चर्को शुल्क असुलिरहेका छन्। बैंकले व्यक्तिको खाताबाट ३०० रुपैयाँ, ५०० रूपैयाँ, १००० रूपैयाँसम्म काटिएको भन्दै म्यासेज पठाउँदा ग्राहकहरु रनभुल्लमा परेका छन्। केही समयका लागि बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशुल्क हुने व्यवस्था मिलाए पनि अन्य समयमा मनलाग्दी शुल्क लिने गरेका छन्। शून्य मौज्दात तथा एक रूपैयाँमै खाता खोल्न पाउने भन्दै खाता खोल्न लगाउने र कारोबार गर्दै गएपछि बिस्तारै विभिन्न शुल्कको बहानामा पैसा काट्ने गरेका हुन्।
‘मैले ग्लोबल आईएमई बैंकको खाता चलाए पनि ‘ग्लोबल स्मार्ट’ सेवा प्रयोग गरेको थिइन। दुई दिन अगाडि सो सेवा प्रयोग गरेबापत ३०० रुपैयाँ काटिएको एसएमएस आयो। मैले तुरुन्त बैंकमा खबर गरेर यसको जानकारी मागेपछि मेरो पैसा पुनः फर्काइयो,’ ग्लोबल आईएमईमा खाता भएका कलंकी निवासी प्रताप अधिकारीले भने।
त्यस्तै, सामाखुशी निवासी रिता रञ्जितले पनि धेरै वर्ष अगाडि बैंक अफ काठमाडौंमा खाता खोलेका रहेछन्। त्यो बैंकको खाता नचलाएको वर्षौ भए पनि केही दिन अगाडि मात्र सो खाताबाट मोबाइल बैकिङको नाममा ३ सय रुपैयाँ काटिएको एसएमएस काटिएको उनले बताए। ‘मैले खाता खोल्दादेखि नै मोबाइल बैकिङको सुविधा लिएको थिइन। बैंकमा फोन गरेर बुझ्दा एसएमएसमार्फत मोबाइल बैकिङसम्बन्धी अपडेट आएको र सोही अनुसार रकम काट्न थालिएको जानकारी दियो। तर मलाई यसबारे जानकारी छैन,’ उनले भने।
‘खाता खोल्दा ग्राहकले फर्मको धेरै ठाउँमा हस्ताक्षर गरेको हुने तर कुन प्रयोजनको लागि भनेर पर्याप्त जानकारी लिएको हुँदैन। पछि एसएमएस आएपछि मैले यो सुविधा नै लिएको छैन भनेर आउनुहुन्छ,’ नेपाल राष्ट्र बैंकको प्रवक्ता देवकुमार ढकालले भने। साँच्चै नै ग्राहकले उपभोग नगरेको सुविधामा शुल्क लिएको भए राष्ट्र बैंकमा उजुरी गर्न आह्वान गर्दै केन्द्रीय बैंकले दोषी देखिए कारवाही गर्ने उनले बताए।
बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानीपछि अर्को राम्रो आम्दानीको स्रोत हो ’फि एण्ड कमिसन’ बैंकिङ शुल्क तथा कमिसन। ब्याज आम्दानी घट्न थालेपछि बैंकहरू अन्य स्रोत खोज्न थालेका हुन्। गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकहरुले २५ अर्ब ५४ करोड रुपैयाँ फि एन्ड कमिसन शीर्षक अन्तर्गत आम्दानी गरेका छन्। ऋण प्रवाह गर्दाको सेवा शुल्क तथा मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, एटीएम शुल्कलगायतका वार्षिक शुल्क यो शीर्षक अन्तर्गत पर्दछन्। गत वर्ष सबैभन्दा बढी एनआइसी एशिया बैंकले १ अर्ब ६१ करोड रुपैयाँ फि एन्ड कमिसन आम्दानी गरेको छ भने कृषि विकास बैंकले १ अर्ब ५८ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब ५२ करोड र नबिल बैंकले १ अर्ब ४८ करोड रुपैयाँ फि एन्ड कमिसन आम्दानी शीर्षकमा आम्दानी गरेका छन्। फि एन्ड कमिसन आम्दानी सबैभन्दा कम गर्ने बैंकमा सिभिल बैंक, सेन्चुरी बैंक पर्छन्। यी बैंकहरुले ३७ करोड रुपैयाँ हाराहारी मात्रै आम्दानी गरेका छन्।
साधारणतया एउटा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम अनिवार्य प्रयोग गर्छन्। यसका लागि बैंकपिच्छे नै फरक–फरक शूल्क लिने व्यवस्था छ। सरकारले बैंक खाता खोल्न अनिवार्य जस्तै गरिसकेको छ। सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्नेदेखि लिएर धेरै क्षेत्रमा बैंकिङ प्रणाली जोडिसकेको छ। डिजिटल प्रविधिमा ग्राहकरुलाई आकर्षित गर्दै मानवीय जनशक्ति घटाउनु पर्नेमा हतोत्साहित गर्ने गरी बैंकहरूले विभिन्न बहानामा शुल्क उठाइरहेका छन्।