आज फुलपाती, कालरात्रीकाे पूजा अर्चना गरी घर घरमा फुलपाती भित्र्याइँदै, शक्तिपीठहरूमा श्रद्धालुकाे घुँइचाे

Oct 12, 2021 06:06 AM Merolagani



आज फुलपाती सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो। 

आज घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ। कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ। दशैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ। काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दशैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ।

गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछन्।

आजकै दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरुले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका अर्थात नौ खालका फुलहरु- जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन्। फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ। त्यसैगरी, आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ।

फुलपाती भित्र्याउने साईत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन्। नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ। उक्त बढाईंको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरुले प्रत्यक्ष अवलोकन गर्दछन् भने सर्वसाधारणलाई समेत त्यसको अवलोकलन गर्ने अवसर मिल्दै आएको छ।

फूलपातीसंगै दशैं पूर्णरुपमा शुरु हुन्छ। फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु बिदा हुने गर्दछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।