सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन गर्नु अघि कस्तो छ कम्पनी? हेरौं

Oct 21, 2021 05:13 AM Merolagani

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबार (कार्तिक ४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६ लाख ७९ हजार ९०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७ करोड ३० लाख रुपैयाँ गरी १२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा कार्तिक ८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक १८ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग रहेको छ भने प्रत्याभुतकर्ता एनआईबिएल एस क्यापिटल रहेको छ।

औषत जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डवल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७७ पुस ९ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ।

कस्तो कम्पनी हो?

सामलिङ्ग पावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७० चैत २३ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा सामलिङ्ग पावर कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो।

२०७६ जेठ २४ गते पब्लिक कम्पनीमा परिणत भई सामलिङ्ग पावर कम्पनी लिमिटेडको रुपमा कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्ट्रार कार्यालय ललितपुर महानगरपालिका वडा नं. २ सानेपा ललितपुरमा रहेको छ।

कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने इलाम जिल्लाको इलाम नगरपालिका साविक (इलाम नगरपालिका र गोदक गाविस) तथा माइजोगमाई गाँउपालिका ( साविक सोयाङ र नामसालिङ गाविस) मा रहेको छ।

कम्पनीले रन अफ रिभरमा आधारित ९.५१ मेगाबाट क्षमताको माइबेनी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि आयोजना सञ्चालन गरिरहेको छ।

आयोजनाको कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई १४.६ प्रतिशत अर्थात ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर गरी कुल १२ लाख ३० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

आईपीओ निष्काशन गरेर संकलन भएको १२ करोड ३० लाख रूपैयाँ कम्पनीले कर्जा चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

तीन वर्षमा सञ्चित नाफा करिब ७२ लाख पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ७१ लख ६१ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २४ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने कम्पनी १ लाख ४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६७ पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ७६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २७ पैसा नोक्सानीमा रहेको थियो।

आयोजनाको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।

साधारणतर्फ लगानी फिर्ता हुने अवधि ७.०७ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १२.२४ वर्ष रहेको छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ५० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७५.५ प्रतिशत र सर्वसाधारणको २४.५ प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिमा काे काे छन्?

कम्पनीको सञ्चालक समितिमा ११ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ७ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना, आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुबाट १ जना र स्वतन्त्र गरी २ जना सञ्चालक समिति रहने व्यवस्था छ।

हाल कम्पनीको सञ्चालक समितिमा १० जना सञ्चालकहरु रहेका छन्। त्यसमध्ये ८ जना संस्थापक शेयरधनी र २ जना स्वातन्त्र सञ्चालक रहेका छन्।

सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी थप एक जना सञ्चालक चयन गर्नेछ। सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष विजय बहादुर राजभण्डारी रहेका छन्। अध्यक्ष भण्डारी सिई कन्स्ट्रक्सनका तर्फबाट प्रतिनिधित्व गर्दै कम्पनीको अध्यक्ष बनेका हुन्।

यस्तै, श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर, मोहनदास मानन्धर, शम्भु प्रसाद फुयाल, मोहन बिक्रम कार्की, भानुभक्त पोखरेल, मंगला अमात्य, दिनेश श्रेष्ठ र राजु शाक्य सञ्चालक समितिमा रहेका छन्।

दिनेश श्रेष्ठ र राजु शाक्य भने स्वातन्त्र सञ्चालकको रुपमा रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। त्यसको लागि नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरुको समेत निर्माण गरी उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई समृद्ध बनाउने कम्पनीको योजना रहेको छ।

कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्य अनुरुप भावि योजना र रणनीतिमा सम्भाव्य जलविद्युत आयोजनाको पहिचान गरी अनुमतिपत्र प्राप्त गरी सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने र ती आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति बिक्री गर्ने कम्पनीको अर्को उदेश्य रहेको छ।

विभिन्न जलविद्युत आयोजनाहरुको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न अन्य कम्पनीसँग मिलि लगानी गर्ने वा नयाँ कम्पनी स्थापना गरी सो कार्य गर्ने योजना रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।