प्राधिकरणले करिब ४ महिना अघि नै फाइभजीको लागि रोलआउट प्लान सहित केही बिषयमा जवाफ मागेको थियो ।
यसअघि पनि प्राधिकरणलाई टेलिकमले फाइबजी परिक्षण कार्ययोजनाको खाका तयार पारेर पठाएको थियो । तर,टेलिकमले पठाएको कार्ययोजनामा प्राधिकरणले असन्तुष्टि जनाउँदै रोलआउट प्लानको थप विवरण माग गरेको थियो ।
लामो समय भइसक्दा पनि फाइभजी परिक्षणका लागि आवश्यक योजना पठाउन नसकेको कारण फाइभजी परिक्षणमा ढिलाई भएको दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले मेरो लगानीलाई जानकारी दिए ।
‘फाइभजी परिक्षण सम्भव नहुने भन्ने छैन तर, दूरसञ्चार कम्पनीले हामीले मागेको जवाफ पठाएको छैन जसले गर्दा २०२१ भित्र परिक्षण नहुने जस्तै छ’ स्थापितले भने ।
उनका अनुसार प्राधिकरणले नेपाल टेलिकमलाई रोलआउट प्लान, मोडालिटी,शुल्क दर तथा सेवा वितरण प्रक्रियाको बिषयमा जवाफ मागेकाे छ ।
सन २०२१ भित्रै फाइभजी परिक्षण गर्ने गरी प्रक्रिया अघि बढाइए पनि चार शहरमा परिक्षणको जिम्मा पाएको नेपाल टेलिकमको ढिलाइका कारण पछि धकेलिएको हो ।
स्थापितले भने ‘टेलिकमले जवाफ पठाए लगत्तै अध्ययन गरेर फाइभजी परिक्षण अनुमतिको प्रक्रिया अघि बढाउने तयारी छ।’ प्राधिकरणले पनि हालसम्म टेलिकमलाई फ्रिक्वेन्सी दिन सकिरहेको छैन ।
प्राधिकरणले मागेको थप विवरणमा अध्ययन गरिरहेको टेलिकमले जनाएको छ । चालू बर्ष भित्रै नेपालका चार शहर (काठमाडौं, पोखरा, विराटनगर, विरगञ्ज)बाट फाइभजीको शुभारम्भ गर्ने योजना सार्वजनिक भएपनि अहिलेसम्म फ्रिक्वेन्सी र अगामी कार्ययोजना स्पष्ट नहुँदा नेपालमा फाइभजी परिक्षण पछि धकेलिने निश्चित भएको हो ।
नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट फोरममा प्रस्तुति दिंदै नेपालमा २०२१ भित्रै फाइभजी परिक्षण रणनीति सन् २०२५ सम्म देशभर फाइभजी सेवा पुर्याउने लक्ष्य राखेको र सोको काम चरणबद्ध योजनाका साथ अघि बढ्ने बताएका थिए ।
तर,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फाइभजी परिक्षण अनुमति दिएको लामो समय भइसक्दापनि अहिलेसम्म नियामकले निर्णय लिन सकेको छैन ।