नेरुडेको संस्थापक शेयर लिलाम बिक्री गर्दै प्राइम कमर्सियल बैंक

Oct 28, 2021 06:05 AM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि कात्तिक २३ गतेदेखि मंसिर १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलकबोल गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै शेयरका लागि आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।