नेसनल पेमेन्ट स्वीच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था स्वीचसँग आवद्ध भएका छन् । बिहीबार गभर्नर महाप्रसाद अधिकारी आतिथ्यतामा आयोजित कार्यक्रममा १८ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक र ६ वटा वित्त कम्पनीले एनसीएचएलसँग सम्झौता गरी स्वीचसँग आबद्ध छन् ।
नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत कार्डबाहेक रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, इ–वालेट, क्युआरकोडमार्फत हुने भुक्तानीलाई समेटिएको छ । यसअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड बमोजिम नेपाल–पे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटेलमेन्टलगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने जनाइएको छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईको मार्फत बैंक तथा वित्तीय संस्था र गैरबैकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेसनल कार्ड स्वीच तथा नेपाल पेमेन्ट कार्ड कार्यान्वयनको निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको एनसीएचएलले दिएको छ ।बिहीबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेसनल पेमेन्ट बीचको कार्यान्वयनले सुरक्षित, सक्षम र सहज भुक्तानी प्रणाली विकासमा महत्वपूर्ण उपलब्ध हासिल भएको धारणा राखे । उनले भने –बैंक तथा वित्तीय संस्थासँगै भुक्तानी कारोबारमा संलग्न अन्य संस्थाहरुबीच अन्तरआबचता स्थापित गरी कारोबारलाई सुरक्षित र स्वस्थ बनाउने दिशामा पेमेन्ट बीचको कार्यान्वयन एउटा महत्वपूर्ण उपलब्धि हो ।’ सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, बैकिङ विभागका कार्यकारी निदेृशक रामबहादुर माननन्धर, नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्याय, डेभलपमेन्ट बैक एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युम्न पोखरेल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सराेजकाजी तुलाधरले पेमेन्ट बीचको कार्यान्वयनले भुक्तानी प्रणालीलाई थप सुरक्षित र सहज बनाएको चर्चा गरे । कार्यक्रममा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले आगामी दिनमा थप बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थालाई समेत स्वीचमा आबद्ध गरिने जानकारी दिए ।