नेपालका १४ वटा टुर अपरेटरहरुले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र संचारकर्मीहरुलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजहरुको बारेमा जानकारी गराउनुका साथै नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा, नेपालमा उपलब्ध पर्यटकीय सुबिधाहरुको बारेमा सूचना तथा ढाका स्थित नेपाली राजदुतावासले बंगलादेशी पर्यटकहरुका लागि सहजरुपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराइएको थियो ।
दक्षिण एशियाका मुलुकहरु मध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको बंगलादेशले कोभिड १९ को महामारीलाई पनि कुशलतापूर्वक व्यवस्थापन गरिरहेको सन्दर्भमा बंगलादेशीहरु माझ अन्तराष्ट्रिय पर्यटनको माग बढदै गएको देखिएको छ र नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरुको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीहरुको गहिरो चासो र उत्सुकता रहेको पाइएको छ ।
विश्व बैंकको तथ्याङ्क अनुसार बंगलादेशको कुल ग्राहस्थ उत्पादन सन् २०२१–२०२२ मा ६.४% ले बृद्धि हुने अनुमान गरेको छ जुन दक्षिण एशियाली मुलुकहरु मध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक बृद्धिसंगै नागरिकहरुको खर्च गर्न सक्ने सामाथ्र्य पनि बढने भएकाले बंगालदेशीहरु माझ अन्तराष्ट्रिय भ्रमणको माग पनि उच्च हुने देखिएको छ ।
नेपालको पर्यटन आगमन तथ्याङ्क अनुसार सन् २०१८ मा बंगालादेशबाट २६००० भन्दा बढी पर्यटकहरुले नेपालको भ्रमण गरेको थिए । तत्पश्चात विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च गिरावट आएको छ ।
नेपालको बंगलादेशस्थित राजदुतावासका उपनियोग प्रमुख कुमार राईले दुतावासबाट हुने सहयोगमा कुनै कमी नहुने आश्वासन दिंदै नेपाल र बंगलादेशको अत्यन्त सुमधुर सम्बन्ध रहेको र ढाकाबाट केवल एक घण्टामा काठमाडाैंमा पुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहजरुपमा पुग्न सकिने भएकाले आगामी दिनहरुमा बंगलादेशी पर्यटकहरुको संख्या ह्वात्तै बढने संभावना रहेको बताए ।
नेपाल र बंगलादेश दुवै देशहरुले अन्तराष्ट्रिय पर्यटकहरुको लागि सीमाना खुला गरिसकेको सन्दर्भमा दुवै देशका टुर अपरेटरहरु आगामी वर्षहरुमा पर्यटनको आगमन उच्च बृद्धि हुनेमा निकै आशावादी रहेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले जानकारी दिए ।
कोभिड–१९ ले थला परेको नेपालको पर्यटनलाई छिमेकी राष्ट बंगालदेशबाट हुन सक्ने पर्यटकको आगमनले ठूलो राहत पुग्न सक्ने कार्यक्रममा सहभागीहरुको धारणा छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाईगुडी रेलवे स्टेशनसम्म सिधा रेल सेवाको सुरुवात हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगालदेशी पर्यटकहरुको संख्यामा पनि उल्लेख्य बृद्धि हुने नेपाल एशोसियशन अफ टाभल एण्ड टुर एजेन्टस्का अध्यक्ष अच्युत गुरागाँइले बताए ।
सन् २०१९ को मार्चदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ पश्चात् बोर्डले हालै मात्र श्रीलंकाको कोलम्बोमा पनि यस्तै कार्यक्रम गरको थियो भने अब स्थिति सामान्य हुँदै गएको खण्डमा अन्य स्रोत बजारहरुमा पनि पर्यटन प्रवर्धनका कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्ने तयारी गरिरहेको छ । नेपाल एशोसियशन अफ टाभल एण्ड टुर एजेन्टस् का अध्यक्ष अच्युत गुरागाँइले व्यवसायीहरुको टोलीको नेतृत्व गरेका थिए ।