यस अघि १८८१ अंकको उच्चतम बिन्दु छोएर झरेको शेयर बजार न्यूनतम बिन्दु ११०२.५१ अंकसम्म ओर्लिएको थियो। उक्त बिन्दुमा ओर्लिदा कायम भएको अन्तिम कारोबार मूल्य भन्दा पनि तल्लो मूल्यमा शेयर झरेका छन्। सोमवार १३ कम्पनीको मूल्य तल ओर्लिएका हुन्। मेरो लगानीले पछिल्लो समय सबैभन्दा न्यून बिन्दुमा आएको दिनको अन्तिम कारोबार मूल्य र साेमबार कारोबारमा आएका ११९ कम्पनीको शेयर मूल्यलाई दाँजेर हेर्दा १३ कम्पनीको मूल्य तल आएको देखिएको हो।

यस अघि २०७५ फागुन ६ गते नेपाल स्टक एक्सचेन्जको कारोबार मापक नेप्से परिसूचक ११०२.५१ अंकसम्म ओर्लिएकाे थियो। त्यसयता भने बजार बढ्दो क्रममा रहेको थियो। तर यतिबेला ३२ सय अंक छोएर बजार ओर्लदो क्रममा छ। त्यसबेला कायम भएकाे मूल्य भन्दा पनि तल्लो मूल्यमा कम्पनीको शेयर मूल्य झर्न थालेका छन्। यस बिचमा १३ कम्पनीको शेयर मूल्य तल ओर्लिसकेका छन् भने अन्य कम्पनी ओर्लिने लाइनमा देखिएका छन्।
त्यस बेलाको मूल्य भन्दा तल ओर्लने कम्पनीको सूचीमा सबैभन्दा पहिलाे स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ भने १३ औ स्थानमा सोल्टी होटल परेको छ। समताले त्यस बेलाको भन्दा प्रति कित्ता मूल्य ३०५ रुपैयाँ गुमाउदा सोल्टीको मूलय ७ रुपैयाँले खुम्चिएको छ। गुमाउने १३ कम्पनीको सूचीमा सात कम्पनी बिमा समूहका छन्। लघुवित्त, बाणिज्य बैंक, होटल, उत्पादनमूलक र जलबिद्युत समूहका कम्पनी पनि उक्त सूचीमा अटाएका छन्।
मूल्य गुमाउदै गएका कम्पनीहरुमा वाणिज्य बैंक अग्रपंक्तिमा देखिएका छन्। केही दिन बजार यही गतिमा ओरालो लागे धेरै वाणिज्य बैंकको शेयर मूल्य त्यस बेलाको भन्दा न्यून मूल्यमा झर्ने छन्। किनकी उनीहरुको मूल्य निक्कै कम हुँदै गएको छ।

दोस्रो बजारमा राम्रा भनिएका कम्पनीहरुको शेयर मूल्य त्यस बेलाको भन्दा निकै तल आउन थालेका छन् भने यस अघि शेयर बजारले नपत्याएका कम्पनीहरुको शेयर मूल्य भने अझै पनि माथि नै रहेका छन्। लाभांशका हिसावले राम्रो मानिएका कम्पनीहरुको शेयर मूल्य निक्कै तल आउनु र अहिलेसम्म निकै कम लाभांश दिएका कम्पनीको शेयर मूल्य माथि देखिनुले पनि धेरैजसो लगानीकर्ता अलमलमा पर्न थालेका छन्। शेयरमा गर्ने लगानी दीर्घकालको भन्ने गरिएकोमा पछिल्लो समय दोस्रो बजारमा तय भएका कम्पनीहरुको मूल्यले भने कस्ता कम्पनी दीर्घकालका लागि भनेर किन्ने भन्दै लगानीकर्ता अलमलमा परेको एक लगानीकर्ताले बताए। “दोस्रो बजारमा लगानीकर्ता मूल्यका हिसाबले निक्कै अलमलिएका छन्। लाभांश र प्रतिफलका हिसावले निक्कै राम्रा मानिएका कम्पनीहरुको मूल्य ११ सय बिन्दु हुँदाको भन्दा तल ओर्लन थालेका छन्। अब कस्ता शेयर किन्ने, कस्ता शेयर नकिन्ने भन्नेमै लगानीकर्ता अलमलिन थालेका छन्” लगानीकर्ता नयन बाँस्तोलाले भने।
खासमा शेयर बजार लगातार घट्नुमा यो पनि एक मुख्य कारणको रुपमा अघि आउन थालेको बाँस्तोलाको भनाई छ। राम्रा कम्पनीहरुले आफ्नो मूल्य उच्च कायम गर्न सकेको भए यसरी बजार घट्ने अवस्था नै आउने थिएन। तर जसरी बजारमा राम्रा कम्पनीहरुको शेयर मूल्य घट्यो, त्यसले नियमित कारोबार गर्दै आएका लगानीकर्ता नयाँ कम्पनीहरुतर्फ आकर्षित हुन नसकेको कारण पनि शेयर कारोबारी कम हुँदै गएको कारण बजार घट्न थप दबाब परेको बाँस्तोलाको भनाई छ।