यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुककलोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ ४५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फाइनान्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा श्री इन्भेष्टमेन्टको शेयर प्रतिकित्ता ४७६ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको ४९९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ। लाभांश वितरण पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएको कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्न स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयर स्वामित्व पनि परिमार्जन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यस्तै, सभाले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने गराउने प्रयोजनको लागि सहमति तथा सम्झौता लगाएको काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) ले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।