मर्जर टुटेका कम्पनीहरु अर्काेसँग मर्जरको कुराकानीमा व्यस्त, कुन कुन कम्पनीले खाेज्दै छन् पार्टनर?

Mar 14, 2022 08:30 AM Merolagani

डिमर्ज भए पनि शेयर कारोबार नखोल्ने तथा अन्य सुविधाहरु समेत रोक्ने राष्ट्र बैंकको अडान पछि फेरि अर्को पार्टनर खोजेर डिमर्जमा गइसकेका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान थालेका छन्।

गत शुक्रबार मात्रै काभ्रेमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले रुपेन्देहीमा केन्द्रीय कार्यालय रहेको बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई आफूमा गाभ्ने सम्झौता गरेको छ। मिर्मिरे लघुवित्तले यसअघि सिर्जनशील लघुवित्त वित्तीय संस्थालाई आफूमा गाभ्ने सम्झौता गरे पनि सो मर्जर सफल हुन सकेको थिएन। मिर्मिरेको बुद्धज्योतिसँगको गाभ्ने/गाभिने सम्झौता सफल भएमा मात्रै मिर्मिरेले यसअघि वितरण गरेको २० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा हुनेछ। कम्पनीकाे यसअघि नै सो बोनस साधारण सभाबाट पारित भइसकेको छ।

त्यसैगरी, लामो समयसम्म कारोबार रोक्का रहेको सहारा विकास बैंक, गरिमा विकास बैंकमा गाभिएको छ। सहारा विकास बैंक शुरुमा देवः विकास बैंकसँग विलय हुने सम्झौता भएको थियो तर यो अगाडि नै देवः विकास बैंक, कुमारी बैंकमा विलय भएपछि सहाराले गरिमासँग विलय हुने सम्झौता गरेको हो। सहारा विकास बैंक, गरिमा विकास बैंकमा गाभिएपनि सहाराको कारोबार भने अझै खुलेको छैन।

पछिल्लो समय नेपाल राष्ट्र बैंकमा मर्जर तथा एक्विजिसनमा गएका संस्थाहरुको मर्जर वा एक्विजिसनमा जान नसकेमा सजाय स्वरुप अर्को संस्था खोजेर मर्जर गर्नै पर्ने बाध्यकारी नियम ल्याएकाे छ। मर्जर नसकेको खण्डमा संस्थाले केन्द्रीय बैंकबाट पाउने सुविधा रोकिनुका साथै संस्थाले बोनस एवम् नगद लाभांश समेत वितरण गर्न नपाउने व्यवस्था छ।

केन्द्रीय बैंकले यसअघि मिर्मिरे र सिजर्नशील लघुवित्त, धौलागिरी लघुवित्त र आँधिखोला लघुवित्त तथा डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त मर्जरमा जाने सम्झौता गरेर पनि बीचमै असहमत भएपछि डिमर्ज गरिदिनुका साथै कम्तिमा ३ आर्थिक वर्षसम्म कम्पनीले लाभांश घोषणा रोक्का गरिदिएका थिए। राष्ट्र बैंकको यस्तो कारवाही भोगेका संस्थाहरुले नियमानुसार लाभांश घोषणा गरेर साधारण सभाबाट पारित गर्न त पाउँछन्, तर शेयरधनीलाई वितरण गर्न भने प्रतिबद्धता गरे अनुसार कुनै संस्थासँग मर्जर वा एक्विजिसन गर्नैपर्छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर पनि लगानीकर्ताको लागि टाउको दुखाई सावित हुँदैछ। राष्ट्र बैंकको मर्जर प्रावधान अनुसार पहिले प्रतिबद्धता गरे बमोजिम दुई बैंक मर्ज हुन नसकेको अवस्थामा अन्य कुनै तेस्रो बैंकसँग सफल मर्जर गरेपछि मात्रै शेयर कारोबार खोल्छ। अहिले नै झन्डै दुई संस्थाको कारोबार रोकिएको १ वर्ष पुग्न लागिसकेको छ। अन्य संस्था खोजेर मर्जर सफल बनाउँदा कति समय लाग्छ भन्ने टुुंगो छैन। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको सवालमा हिमालयन बैंकले साधारण सभाबाट मर्जरमा जान नसकिने प्रस्ताव अस्वीकृति गरिसकेको अवस्था छ तैपनि दुवै बैंक केन्द्रीय बैंकमा डिमर्जको औपचारिक पत्र लिएर नपुगेको राष्ट्र बैंक स्रोत बताउँछ। दुई बैंकबीच मर्जरको सम्भावना नरहे पछि अहिले दुवै बैंक अन्य बैंकसँग मर्जरको कुराकानीमा व्यस्त देखिएका छन्।

यस्तै कथा डिप्रोक्स र नाडेप लघुवित्तको पनि छ। मेरो लगानीसँगको कुराकानीमा नाडेप लघुवित्तका अधिकारीले उपयुक्त पार्टनरको खोजीमा रहेको बताएका छन्। समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच पनि मर्जर सम्झौता भाँडिएको छ। समाज लघुवित्त नेप्सेमा सूचीकृत संस्था हो भने स्वस्तिक लघुवित्त शेयर निष्काशन नगरेको संस्था हो। समाज लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएपनि अहिलेसम्म एकपटक पनि कारोबार भएको छैन। आँधीखोला लघुवित्त र धौलागिरी लघुवित्तको पनि समान समस्या रहेको छ। यी दुई संस्थाबीच मर्जरको सहमति भएपनि मर्जर हुन सकेन। आँधीखोलाको शेयर नेप्सेमा सुचीकृत भएपनि मर्जर टुटेर अन्य पार्टनर खोजीमा रहेका कारण अझै पनि शेयर कारोबार खुला भएको छैन। अब डिप्रोक्स, नाडेप, समाज, स्वस्तिक, आँधीखोला र धौलागिरी लघुवित्तले कुनै न कुनै लघुवित्तसँग मर्जर र एक्विजिसन गर्नैपर्ने बाध्यता यी संस्थाहरुलाई छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान विभिन्न सहुलियत दिएर प्रोत्साहन गरिरहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि मर्जर गरेमा अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट दिइने, राष्ट्र बैंकको संस्थागत मुद्दती निक्षेप संकलन सीमामा १० प्रतिशत विन्दुले थप गरिने, राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दुले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैकबाट इजाजत प्राप्त अन्य संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधान लागू नहुनेलगायतका छुट प्रदान गरेका छन्। त्यस्तै लघुवित्त मर्जर गर्ने सवालमा एउटै व्यक्ति/समूहद्वारा प्रबर्द्धन भएका संस्थाहरुलाई चालु आर्थिक वर्षको असार मसान्तसम्म मर्जरमा जान निर्देशन समेत दिएको छ।

‘मर्जरमा जान सहमत भएर कम्पनीको शेयर कारोबार रोक्का भइसकेपछि पुनः कारोबार खुल्न दुवैले एकिकृत कारोबार गरेको हुनुपर्छ। अनि मात्र कम्पनीको शेयर कारोबार फुकुवा हुन्छ,’ उनले भने। एक कम्पनीसँग मर्जर टुटेमा दोस्रो कम्पनी खोजेर मर्जर गर्नुपर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘पहिलोसँग मर्जर टुटेमा दोस्रो कम्पनीसँग मर्जर गरेर एकिकृत कारोबार गरेपछि मात्र शेयर कारोबार फुकुवा हुन्छ। मर्जर भाँडिएकै कारणले मात्र अब कारोबार फुकुवा हुँदैन,’ उनले भने।

अहिले नेप्सेमा नबिल बैंक र नेपाल बंगलादेश बैंक, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक, वोमी लघुवित्त र सुर्योदय लघुवित्त, घोडाघोडी लघुवित्त र युनिक नेपाल लघुवित्त मर्जरका कारण शेयर कारोबार रोक्का अवस्थामा छ। यी संस्थाहरुमध्ये वोमी लघुवित्त र सूर्योदय लघुवित्त एवम् घोडाघाडी लघुवित्त र युनिक नेपाल लघुवित्तको मर्जर सफल भइसके पनि कारोबार भने शेयर कारोबार भने भइसकेको छैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।