अभियान लघुवित्तको आईपीओमा करिब १७ गुणा बढी शेयर माग

Aug 05, 2022 03:56 PM Merolagani



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब १७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जना आवेदकबाट १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ६६ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको १६.७९ गुणा बढी हुन आउँछ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने सर्वसाधारणको लागि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर निश्काशन गरिएको छ।

माग भन्दा बढी आवेदन परिसकेकोले लघुवित्तको आइपीओमा साउन २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । इन्चुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।