सातामा करिब २७ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक बढ्यो? कुनको घट्यो?

Aug 06, 2022 07:16 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २७ अंक घटेर बन्द भएको छ। गत साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता २६.८४ अंक अर्थात १.२५ प्रतिशत घटेर २११३.५५ विन्दुमा बन्द भएको हो।

साताको ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी ४ कारोबार दिन ओरालो लागेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस साता कारोबार रकम भने बढेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ। यो गत साताको तुलनामा १०.१९ प्रतिशत बढी हो। गत साता दैनिक औषतमा ३ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको थियो। गत साताको तुलनामा यस साता दैनिक औषत शेयर संख्या ९.०९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४.४८ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ५७ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ४१ अर्ब रुपैयाँ घटेर ३० खर्ब १५ अर्बमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ।

अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ११६.५६ अंक बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २५९.४६ अंक घटेको छ।

यस साता नेप्सेमा कुल ५ स्टकको २ करोड २९ लाख ७० हजार १४६.४३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता गरिमा विकास बैंक, एनएमबि माइक्रोफाइनान्स र सगरमाथा इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो भने नेपाल फाइनान्सको हकप्रद शेयर र हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो।

यस साता सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक २२.८९ प्रतिशत बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावरको शेयरमूल्य यस साता १४.०४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत र हिमालयन बैंकको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। यता, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको शेयरमूल्य यस साता सर्वाधिक १४.६१ प्रतिशत घटेको छ। त्यस्तै, गणपति माइक्रोफाइनान्स, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता ११ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्वाबलम्बन लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, हिमालयन पावर पार्टनर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यस्तै, युनाइटेड इदी मार्दी, प्राइम कमर्सियल बैंक, शिवम् सिमेन्ट्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।