हरेक वर्ष साउनमा निक्षेप घट्ने क्रम किन बढ्छ ? चालु वर्ष त झनै धेरै घट्यो, साउनमा निक्षेप घट्नुको कारण यस्तो छ

Aug 17, 2022 06:30 AM merolagani

सुवास निरौला

आर्थिक वर्ष २०७५/७६ देखि हरेक वर्ष साउनमा निक्षेप घट्दै आएको छ। चार आर्थिक वर्षदेखि नियमित रुपमा साउनमा घट्दै आएको निक्षेप चालु बर्ष अहिले सम्मकै बढी घटेको छ।

हरेक साता वाणिज्य बैंकहरुले के कति रकम निक्षेप उठाए र के कति रकम कर्जाका रुपमा प्रवाह गरे भन्ने तथ्याङ्क नेपाल बैंकर एसोसिएसनले हरेक साता प्रकाशित गर्दै आइरहेको छ। उसले प्रकाशित गरेको विवरणमा चालु बर्ष सबैभन्दा बढी निक्षेप बाहिरिएको छ। चालु वर्ष साउनमा मात्रै वाणिज्य बैंकहरुबाट एक खर्ब २१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। असार अन्तिमसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप साउनको अन्तिम साता घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको हो।

यो बर्ष मात्रै साउनमा निक्षेप घटेको होइन, गएको चार बर्ष यता हरेक साउनमा निक्षेप घट्दै गइरहेको छ। जसरी साउनमा निक्षेप घट्छ। त्यसैगरी, साउनमा कर्जा प्रवाह भने बढ्ने गर्छ। चालु वर्ष पनि सुरुवाती दुई साता घटेको कर्जा प्रवाह अन्तिम तेस्रो र अन्तिम साता

                                         हेर्नुस् बैंकर एसोसिएसनले प्रकाशित गरेको टेबल

 

आएर बढेको एसोसिएसनले प्रकाशित गरेको विवरणमा देखिन्छ। शुक्रवारसम्म बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्।

पछिल्लो केही बर्ष साउनमा निक्षेप बाहिरिने क्रम किन बढेको हो भनेर मेरो लगानीले बैंकर एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायलाई सोधेको प्रश्नको उत्तर दिँदै उपाध्यायले भने, "यो बर्ष मात्रै साउनमा निक्षेप घटेको होइन,गएका केही बर्षदेखि साउनमा निक्षेप बाहिरिने क्रम बढ्दै गइरहेको छ। साउनमा निक्षेप बाहिरिनुमा सबैभन्दा ठुलो इफेक्ट नजिकिँदै गरेको फेस्टिभल सिजनले गर्ने गरेको छ। नेपालमा सबैभन्दा बढी इकोनमि एक्टिभिटि बढ्ने सिजन भनेको असोजदेखि मंसिरसम्म हुन्। यो महिनामा नेपालीहरूको सबैभन्दा ठुला चाड पर्ने गर्छन्। वर्षभरी नभएको व्यापार यही समयमा हुन्छ भने वर्षभरी गरेको बचत पनि सर्वसाधारण यही समयमा खर्च गर्ने गर्छन्। जसले गर्दा व्यवसायीले साउनको अन्तिम साताबाटै सिजनकोलागि सामान मगाउन सुरु गर्छन्। जसले गर्दा यो बेला अलि बढी नै पैसा बाहिरिने गर्छ। जसले गर्दा पनि हरेक साउनमा निक्षेप अलि बढी नै बाहिरिने गरेको हो।“

आयात मुखी अर्थतन्त्र भएकोले नेपालमा फेस्टिभल सिजनमा नियमित भन्दा बढी नै आयात हुने गर्छ। अर्को तर्फ आयात बढ्दा विदेशी मुद्राको संचितिमा पनि यही महिना सबैभन्दा ठुलो ट्रान्जेक्सन हुने गर्छ। रेमिटेन्स मार्फत नेपाल भित्रिने रकम यही समयमा बढ्छ भने आयातको भुक्तानी दिनु पर्दा बाहिरिने समय पनि यही समयमा बढी हुने गर्छ।

साउनमा बाहिरिने गरेको निक्षेपको कारण पछिल्लो समय वाणिज्य बैंकहरुले यो महिनामा ब्याजदर बढाउन छाडेका छन्। किनकि यो महिना जति सुकै व्याज बढाए पनि निक्षेप नआउने भएकोले गर्दा उनीहरूले साउनमा निक्षेपको व्याज नबढाउने गरेका हुन्। व्याज बढाउँदा आफूले लिने भन्दा दिने व्याज बढ्न गई लागतमा भार पर्ने भएकोले पनि उनीहरूले साउनमा व्याज नबढाउने गरेका हुन्।

हरेक बर्ष साउनमा बढ्ने गरेको तरलता चाप यस वर्ष पनि दोहोरिएको छ। दोहोरिएका कारण बैंकहरुले यस वर्ष नियमित भन्दा झनै बढी तरलता चापको सामना गरिरहेका छन्। जसका कारण समग्र व्यवसायीक क्षेत्र थप तनावमा देखिन थालेका छन्। तरलता चापका कारण बैंक वित्तीय संस्था थप नगद उपलब्ध गराउने स्थितिमा छैनन् भने व्यवसायीक क्षेत्र थप नगद अभावका कारण तनावमा परेका हुन्। भदौमा यो समस्या थप बढ्ने अनुमान गरिएको छ। भदौमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत तोकेको सिआरआर रेट बैंकहरुले तय गर्नु पर्ने हुन्छ। जसले गर्दा बैंकहरुसँग अलि अलि भएको नगद समेत राष्ट्र बैंकको ढुकुटीमा सर्ने छ। किनकि राष्ट्र बैंकले सिआरआर रेट बढाएर चार प्रतिशत पुर्‍याएको छ। जसले गर्दा भदौमा बैंकहरु कर्जा प्रवाह क्षमता अझै खुम्चिने छ। यस अघि भदौमा थोरै बढ्ने गरेको निक्षेप यस बर्ष भने सिआरआरका कारण तटस्थ रहन सक्ने अनुमान बैक हरूले गरेका छन्। असोज पछि भने बैंकहरुले थोरै तरलता सहज हुने अनुमान गरेका छन्। किनकि यति बेला बाहिरिएको पैसा बैंकमा फर्किने भएकोले त्यस बेला सहज हुने उनीहरूको अनुमान छ।      

comments powered by Disqus