४१ वर्ष पुरानो होटल छोडेर ट्राभल एप बनाउने कमल, अनलाईनबाट घुम्न सिकाउने होलिडे पसल

Sep 22, 2022 06:25 PM Merolagani

ज्याेति शाह

दशैं तिहारको मौसम नै रमाइलो । घुम्न चाहनेका लागि त झन् यो मौसमलाई उपयुक्त नै मानिन्छ । तर घुम्न कहाँ र कसरी जाने ? हामीमध्ये धेरैलाई यही‌ं दुबिधा हुन सक्छ । कहिलेकसो गन्तव्य थाहा हुँदा पनि बस्नलाई बास, खानलाई गाँस र यात्रा गर्नका लागि सवारीको टुंगो नलाग्दा धेरैले सास्ती पनि बेहोर्नुपरेको हुन्छ ।

तर अब भने यात्रुहरुकै यात्रालाई सहज र अविष्मरणीय बनाउनका लागि कमल अर्यालले होलिडे पसल लिएर आएका छन् ।

होलिडे पसल पर्यटन सहज बनाउने एक एप हो । यस एपमार्फत नेपालका कुनै पनि स्थानका होटल, रेस्टुरेण्ट तथा यात्रा गर्नका लागि सवारीसाधनको समेत बुकिङ्ग गर्न सकिन्छ ।

शेर्पा च्याट ट्राभल्स कम्पनीको होलिडे पसल डट कम नामक वेबसाईट पनि संचालनमा रहेको छ । यस वेबसाइटमार्फत पर्यटनसम्बन्धि सम्पुर्ण सुविधा पाईन्छ । यस कम्पनीले होटल, हवाई टिकट, कार, साहसी खेल तथा यात्रा र अन्य प्याकेजहरु दिने गरेको छ ।

होलिडे पसल नेपालकै पहिलो अनलाईन बुकिङ प्लेटफर्म तथा एप भएको संचालक कमल अर्यालको दाबी छ ।

 

पुस्तैनी व्यवसाय छोडेर स्टार्टअप

विगत ४१ वर्षदेखि संचालनमा रहेको राइनो लज एण्ड होटल कमलकै परिवारको हो । पोखरामा क्राउन प्लाजा तथा चितवनमा रहेको यस राइनो लज एण्ड होटललाई कमलका बुवा र भाईले सम्हाल्दै आएका छन् । सानैदेखि आफ्नो परिवारको होटल व्यवसाय सम्हाल्न सिकेका कमललाई सोही व्यवसायमा सिमित रहिरहन भने मन लागेन ।

काठमाडौं विश्वविद्यालयबाट एमबीएको अध्ययन सकेपछि उनलाई पर्यटन क्षेत्रमा नै आफ्नो फरक पहिचान बनाउने लक्ष्यले नै होलिडे पसलसम्म डोर्यायो । नेपालीहरुलाई नयाँ र सजिलो ढंगबाट नेपाल घुमाउने हुटहुटी उनमा रहिरह्यो । सोही चाहना अनुरुप उनले होलिडे पसलको स्थापना गरे ।

कसरी भयो सुरुवात ?

२०१५ बाट शेर्पा च्याट ट्राभल्स संचालन गरिरहेका कमल होलिडे पसलतर्फ मोडिन पुगे । राम्रै आम्दानी भएपनि विदेशीलाई लक्षित हुँदा उनलाई खड्कियो । "बजार समुन्द्र थियो तर म बल्छि मात्र लिएर हिँडिरहेको थिएँ । यसलाई विस्तार गर्नकालागि होलिडे पसल डट कमको सुरुवात गरेँ जुन मेरो लागि अत्यन्त कठिन निर्णय थियो ।"

भुइँंचालो, बाढि हुँदै कोभिड १९ले पर्यटन व्यवसायलाई असर गर्यो । विदेशी पर्यटक आउन बन्द हुँदा नेपालीहरुलाई लक्षित गर्दै सीईओ कमलले हाेलिडे पसल सुरु गरे । नेपालीहरुको भावना, स्वाद र चाहना बुझेर सोहि अनुसारको सेवा दिने उद्देश्यले पनि कमलमा होलिडे पसलको सोंच जन्मियो ।

'कोभिडले व्यापारलाई राम्रोसँग ट्रिट गर्नुपर्ने रहेछ । विशेषगरी, हस्पिटालिटी क्षेत्रमा यो कुरा सिक्नुपर्ने रहेछ । २ वर्षमा धेरै सबक सिकियो,' सीईओ कमल सुनाउँछन् ।

उनका लागि कोभिड अप्ठ्यारो बनेर आएपनि अन्ततः आशिर्वादका रुपमा परिणत भयो । कोरोनाको समयमा लकडाउन हुँदा नेपालीहरुको अनलाईन किनमेल गर्ने स्वभाव बढेको छ र अनलाईनमार्फत किनमेल वा बुकिङमा विश्वास पनि बढ्यो । अर्कोतर्फ विदेश घुम्न नपाउँदा नेपालीहरुको नेपाल भ्रमण गर्ने रुचि र संख्या पनि बढ्यो । 'भाग्यवश, मलाई परिस्थितिले साथ दियो,' कमल ढुक्क हुँदै भन्छन् ।

२० करोड रुपैयाँको कम्पनीकाे पर्यटन क्षेत्रमा कब्जा

होलिडे पसलको स्थापनामा आफूले राम्रै लगानी गरेको कमल सम्झन्छन् । अहिले एक्लै लगानी गरे पनि बिस्तारै विश्वासिला लगानीकर्ता जोड्ने सोंचमा उनी छन् । 'कम्पनीले राम्रो रिटर्न दिएमा मात्र लगानी बढाउन चाहने साथीभाईलाई साथमा ल्याउने विचार छ,' उनी भन्छन् ।

हाल कम्पनीको मूल्यांकन २० करोड रुपैयाँको हाराहारीमा रहेको छ । अहिले कम्पनीको खर्च बढी भएपनि बिस्तारै राम्रो आम्दानी गरिरहेको कमल सुनाउँछन् । यस कम्पनीमा २० जना कार्यरत छन् ।

होटल र बिक्रेताबाट पाएको कमिशनकै आधारमा यो कम्पनीले आयआर्जन गरिरहेको छ । अहिलेका प्रयोगकर्तालाई आफ्ना ग्राहक बनाउन सक्नुलाई नै वास्तविक कमाई भएको कमल मान्छन् ।

कसरी गर्ने बुकिङ ?

होलिडे पसल एप मोबाइलमा डाउनलोड गरेपछि यसमा ग्राहकले तीन क्लिकमा आफूले चाहेको गन्तव्यमा रोजाई अनुसार जान, घुम्न, खान र बस्न सक्नेछन् । जसमध्ये पहिलो क्लिकमा सर्च गर्ने अर्थात् खोज्ने, दोश्रो रोज्ने अथवा सेलेक्ट गर्ने र तेश्रोमा बुक गर्न सकिन्छ । बुकिङ गर्नका लागि खल्ती र आईएमई पेमार्फत भुक्तानी गर्न सकिन्छ । अब छिट्टै कनेक्ट आईपीएससँग पनि रकम भुक्तानीका लागि सम्झौता गर्न लागिएको कमल बताउँछन् ।

होलिडे पसल डट कमबाट २४ घण्टा नै निःशुल्क सेवा पाउन सकिन्छ । कम्पनीको वेबसाइटमा नेपाली तथा अंग्रेजी दुबै भाषाको प्रयोग गर्न सकिन्छ ।

यो एप अक्षर पढ्न सक्ने र मोबाइल चलाउन जान्ने जाे काेहिले प्रयोग गर्न सक्ने कमलको भनाई छ । 'नेपालीहरुकै लागि भनेर नेपाली भाषामार्फत बुक गर्न सकिने व्यवस्था पनि गरेका छौं । हरेक नेपालीले होलिडे पसलमार्फत बिदा मनाउन जान सक्छन् ,' उनी सुनाउँछन् ।

यद्यपि युवादेखि ६५ वर्षसम्मका मानिसहरुले धेरैजसो यो एप तथा वेबसाईटको प्रयोग गर्ने गरेका छन् । भ्रमण गर्न चाहने र पकेट खर्च भएकाले यो एपमार्फत बुक गर्न सकिने अर्याल बताउँछन् ।

यसैगरी, देशका विभिन्न शहरका आकर्षक र स्वादिला खाना खुवाउने रेष्टुरेण्टहरुलाई पनि कमलले यस एपमा जोड्दैछन् । केहि चर्चित सोलो ट्राभलरहरुसँग कम्पनीको सम्झौता हुन गइरहेको छ ।

होलिडे पसलमा दुई हजार १०० होटलहरु तथा एक हजार सवारी चालकहरु आवद्ध रहेका छन् । तर कोभिड १९ का कारणले ९०० होटलहरु प्रभावित हुन पुग्दा अहिले सक्रिय छैनन् ।

आन्तरिक हवाई टिकट पनि यस एपमार्फत लिन सकिन्छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि नै यस एप र वेबसाइटको विकास गरेको कमल सुनाउँछन् ।

उत्तर ढोका लाजिम्पाटमा अवस्थित होलिडे पसलबाट दैनिकजसो २५ देखि ३० जना ग्राहकहरुले बुकिङ गर्ने गरेका छन् । विशेषगरी, महिलाहरु नै उनका ग्राहक हुन्छन् ।

एपका प्रयोगकर्ताहरुले सुपथ मूल्यमा होटल, गाडी तथा अन्य सुविधा पाउन सक्ने कमलको भनाई छ। ग्राहकहरुले होलिडे पसलमा नै पुरा भुक्तानी पनि गर्न सक्छन् भने होटल र कम्पनीमा अर्ध भुक्तानीको पनि व्यवस्था रहेको छ ।

होलिडे पसलको एप एन्ड्राेइडड तथा आइओएसमा डाउनलोड गर्न सकिन्छ ।

३५ वर्षीय कमल भन्छन्,'बुकिङ गर्नैपर्छ भन्ने छैन, तपाईँले इन्सिपिरेशनका लागि मात्र पनि डाउनलोड गर्न सक्नुहुन्छ । कहाँ के पाईन्छ, कसरी जाने र के के सुविधा पाईन्छ भन्ने जानकारी पनि यस एपले दिनेछ ।'

सामाजिक संजालमा देखाइएका र सुझाइएका स्थान र खाना खाने प्रचलन बढ्दो छ । सोहि प्रचलनलाई क्याच गर्दै होलिडे पसल खोलिएको हो ।

कमलले विक्रेता अर्थात् होटल, रेष्टुरेण्ट, सवारीसाधनहरुको रोजाई अत्यन्त विचार गरेर आफैं गर्ने बताउँछन् ।

१० हजार होटल होलिडे पसलमा जोड्ने योजना

कमलका लागि प्रतिस्पर्धा कम्पनीकाे अस्तित्वसँग रहेकाे छ । "हाम्राे प्रतिस्पर्धा आफ्नै अस्तित्वसँग छ तर भविष्यमा अन्तराष्ट्रिय कम्पनीसँग होस् भन्ने चाहना छ । व्यापारमा टिक्न समस्या हुन्न, तर स्टार्टअप ड्राई हुन्छ । सर्च र इन्सिपिरेशनमा समस्या हुन्छ । स्टार्टअप गर्न गार्हो हुन्न, त्यसको अस्तित्व जोगाई राख्न कठिन हुन्छ ।"

"हाम्रो घुम्ने शैलीमा अबको १० वर्षमा परिवर्तन हुन्छ । त्यसैले ग्राहकलाई नयाँ शैली र प्रविधिमा अभ्यस्त बनाउन पाँच वर्षको समय लाग्न सक्छ । ओभरनाईट सक्सेस इज अ फाइभ इयर स्टोरी भनिन्छ, हाम्रो सात वर्षे यात्रा भइसक्यो," उनी लामाे साँस फेर्छन् ।

"हामी ट्राभल क्षेत्रका लागि ग्रोथ पोटेन्सियलका आधारमा स्टार्टअप हौं । हामी नेटवर्क बनाउन खोजिरहेका छौं । बिस्तारै प्लेटफर्म र बजार बनाउँछौ ।"

होलिडे पसलका सीईओ कमलको एकै कम्पनीमा रहिरहने विचार छैन । उनलाई आफ्नो स्वतन्त्रता प्यारो हुनुका साथै नयाँ नयाँ व्यापार व्यवसायमा संलग्न हुने ईच्छा छ ।

कमल नेपालमा भएका १० हजार होटलहरुलाई होलिडे पसलमा जोड्ने योजनामा छन् ।

 

होलिडेमा अफर

नेपाल घुम्न चाहने नेपालीहरुले होलिडे पसलमा छुट पनि पाउन सक्छन् । नेपालका प्राय होटलको सूचना पाउन सकिने भएकाले आफ्नो चाहना र बजेट अनुसारको होटलमा बस्न पाइनेछ ।

दशैंका लागि होटल तथा प्याकेजहरुको सहकार्यमा ग्राहकहरुले होलिडे पसलमार्फत बुकिङ गर्दा छुट पाउन सक्ने कमलले जानकारी दिए । होलिडे पसलले नेपालभरका लागि दुई हजार ५०० रुपैयाँदखि ३० हजार रुपैयाँसम्मको प्याकेज छुट दिने भएको हो । 'नेपाली ग्राहकलाई मनन गर्दै बनाएको एप तथा साईट भएकाले कसरी हुन्छ सस्तो र सुलभ सेवा सजिलै दिने प्रयत्न गछौंँ,' कमल सुनाउँछन् ।

नेपालका हरेक कुनाकान्तारादेखि कठिन कठिन गन्तव्यसम्म पुर्याउने काम होलिडे पसलले गर्ने कमल अर्यालले मेरोलगानीलाई बताए ।

नेपालमा नयाँ स्वाद, नयाँ ठाउँ, नयाँ एडभेन्चरका बारेमा जानकारी पाउनकालागि यस एपको प्रयोग गर्न सकिने होलिडे पसलका संचालक कमल अर्याल भन्छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।