दशैं तिहार टुर प्याकेजमा दुबई, थाइल्यान्ड घुम्न जाने बढे,हवाइ टिकट महंगीले यूराेप टुरकाे अफर भएन

Oct 02, 2022 10:41 AM MeroLagani



कोभिड संक्रमणमा कमी आएर विस्तारै विदेशका भ्रमण गन्तव्य खुल्दै गएपछि नेपालीहरुको विदेश यात्रा बाक्लिन थालेको छ । ट्राभल एजेन्सीहरुले दशै तिहारको लामो बिदालाई लक्षित गरेर विभिन्न टुर प्याकेजहरु सार्वजनिक गरेका छन् ।

कोभिड संक्रमणका कारण विगत दुई वर्षदेखि ठप्प रहेको पर्यटन व्यवसाय विस्तारै लयमा फर्केको छ । कोभिड अगाडिका वर्षहरुमा चाडबाडको बिदामा परिवारसँगै विदेश घुम्न जाने ट्रेन्ड बढ्दै गएको थियो । कोभिडले ठप्प पारेको पर्यटन व्यवसाय लयमा फर्केसँगै नेपालमा घुम्न आउने र नेपालबाट विदेश घुम्न जाने पर्यटकहरुको संख्या विस्तारै बढ्न थालेको छ ।

कोभिड संक्रमण कम भएपछि नेपाल भित्रिने भन्दा नेपालबाट बाहिर जाने पर्यटकहरुको संख्या भने बढ्दै गएको नेपाल टुर एन्ड ट्राभल एजेन्टस एसोसिएसन (नाट्टा)का अध्यक्ष रमेश थापाले बताए । राष्ट्र बैंकले डलर सञ्चिति कम भएको बताइरहेको भए पनि अहिले नेपालीहरुको विदेश भ्रमण गर्ने

हुटहुटीले दशैं तिहार बिदामा धेरै नेपालीहरु विदेशका धेरै गन्तव्यहरुमा भेटिने निश्चित देखिएको छ । सरकारले पर्यटक भिसामा गएर वैदेशिक रोजगारीमा बस्ने जस्ता प्रवृत्तिलाई रोक्न बैंकमा ४ लाख रुपैयाँ बैंक ब्यालेन्स हुनुपर्ने, भारतबाहेकका देशको भ्रमण गर्नुपूर्व दुई देशको भ्रमण गरिसकेको हुनुपर्ने लगायतका प्रावधानहरु ल्याएर लागू गर्न खोजे पनि पर्यटनकर्मीहरुको तीव्र विरोध पछि यो नीति अहिले रोकिएको अवस्था छ ।

अहिले दशैं तिहारलाई लक्षित गरेर ट्राभल एजेन्सीहरुले विभिन्न ट्राभल प्याकेजहरु सार्वजनिक गरेका छन् । ट्राभल एजेन्सीहरुका अनुसार कोरोना पछि कोभिड अगाडि जस्तै सबै हवाई उडानहरु अझै पनि नखुलेको र हवाई इन्धनको उच्च मूल्यवृद्धिका कारण हवाई भाँडा यसपटक अत्यधिक वृद्धि भएको छ । अचाक्ली हवाई भाँडा वृद्धि भएका कारण यसपटक ट्राभल एजेन्सीहरुले एसियाली देशहरु मात्रै अफर गरेका छन् । हवाई टिकटमा अत्यधिक मूल्य वृद्धि र कमजोर एयर कनेक्टिभिटीका कारण एसियाली महादेश भन्दा बाहिरका देशहरुको भ्रमण प्याकेज ल्याइएको छैन। कोभिड अगाडि नेपाली ट्राभल एजेन्सीहरुले मध्य पूर्वी एसियाका विभिन्न देशहरुसँगै युरोप, अमेरिकासम्मको टुर प्याकेज सार्वजनिक गर्दथे ।

यस वर्ष नेपाली ट्राभल एजेन्सीहरुले दुबई, थाइल्याण्ड, मलेसिया, अजरबैजान मलेसिया, सिंगापुर, माल्दिभ्स, भारत, भियतनाम, अजरबैजान र कम्बोडियाका विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन् । सम्बन्धित देशको आन्तरिक कारणले चीन, श्रीलंका, कोरिया र जापानको प्याकेज भने यसपटक सार्वजनिक भएको छैन । सम्भवत अक्टोबरपछि जापान खुल्ने आशा गरिएको छ ।

कोभिड अगाडि न्यूनतम ५० हजार रुपैयाँसम्ममा उपलब्ध हुने चार रात पाँच दिनको थाइल्यान्ड टुर प्याकेज अहिले ९२ हजार रुपैयाँको हाराहारीमा पुगेको छ । हवाई भाडामा वृद्धि हुँदा सम्पूर्ण टुर प्याकेज नै महंगो हुन पुगेको आउटबाउन्ड ट्राभल व्यवसायीहरु बताउँछन् ।

कोभिड संक्रमण कम हुँदै गएपछि एक्कासी आयात वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति कमजोर भएको भन्दै सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र मोटरको आयातमा प्रतिबन्ध लगाएको अवस्था छ भने राष्ट्र बैंकले ४० भन्दा बढी हार्मोनिक कोडका वस्तुहरु आयात गर्दा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने प्रावधानलाई यथावत नै छ । विदेश भ्रमणमा जाने यात्रुहरुलाई १५ सय डलर दिनुपर्ने राष्ट्र बैंकको नीति भएपनि २ सय डलर मात्रै नगद दिएर बाँकी रकम भने डलर कार्ड दिने गरेको छ । यस्ता तमाम समस्याका बाबजुद पनि यसपटक विदेश भ्रमणमा जाने यात्रुहरुको संख्यामा वृद्धि देखिएको उनले बताए । सन् २०२० मा कोरोना महामारीका कारण हवाई उडान ठप्प भएपछि नेपालीहरुले विगत दुई वर्षदेखि विदेश भ्रमणमा जान पाएका थिएनन ।

सन एन्ड फन होलिडेजका सञ्चालक रुपक कोइरालाले यस वर्ष सबैभन्दा बढी दुबईको लागि बुकिङ आएको बताए । ‘त्यसपछि थाइल्यान्ड, सिंगापुर, मलेसिया जाने नेपालीहरु बढी देखिन्छ ।’–उनले भने ।

दुबई प्याकेजमा नेपाली पर्यटकहरूले फेरारी वर्ल्डसहित अवुधाबी ग्राण्ड मस्क घुम्न सकिने प्याकेजमा उल्लेख छ । बुर्ज खालिफा, वाइल्ड वादी वाटर पार्क, बक्वाभेन्चर र लस्ट च्याम्वर, डल्फीन सो, दुवाइ एक्युरियम, अन्डरवाटर जु, दुबई मल, बलिउड थिम पार्क लगायतका स्थानहरू घुम्ने प्याकेजमा सुविधा रहेको छ ।

सन एन्ड फन होलिडेजले थाइल्यान्ड, मलेसिया र सिंगापुर गरी तीन देशको ९ रात १० दिने टुर प्याकेजको १ लाख ७० हजारमा बिक्री गरिरहेको छ । ग्राहकले हरेक टुर प्याकेजमा तिरेको उक्त शुल्कले तीनतारे होटलमा एकोमोडेसन, बीबी प्लान(बेड एण्ड ब्रेकफास्ट), भिसा शुल्क, एयर फेयर र अन्य टुर शुल्क समावेश छ । प्याकेजमा हरेक दिनको डिनर र लन्च भने समावेश नगरिने उनले बताए ।

अहिले पूर्वी एसियाली देशहरुमा घुम्न जाने नेपालीहरुको संख्या बढी देखिएको छ । ती देशहरुमा फ्लाइट कनेक्टिभिटी पनि मिल्ने हुनाले पनि यी देशहरुमा बढी फ्लो देखिएको सन एन्ड फन्ड होलिडेजका कोइरालाले बताए । ‘तुलनात्मक रुपमा अन्य देशको तुलनामा यी देशहरुको टिकट दर सस्तो पर्छ । नेपालीहरुको प्राथमिकतामा प्रायः समुद्री तटका गन्तव्यहरु पर्ने गरेका छन् ।’–उनले भने ।

पछिल्लो समय राष्ट्र बैंकले डलर सतहीमा कडाई लगायतका समस्याका बाबजुद पनि विदेश घुम्न जाने पर्यटकहरु बढेको देखिएको छ । उनको ट्राभल एजेन्सीबाट मात्रै झन्डै अढाई सय व्यक्तिले विभिन्न देशको ट्राभल प्याकेज बुक गरेको उनले जानकारी दिए ।

राष्ट्र बैंकले २ सय डलर मात्रै नगद दिएर बाँकी रकमको लागि ट्राभल कार्ड बनाउनु पर्दा पर्यटकलाई नचाहिने सास्ती मात्रै थपिएको उनले बताए । ट्राभल कार्ड बनाउन बैंकलाई अतिरिक्त १५ सय शुल्क तिनुपर्ने एवम् कार्डको प्रयोग केही महंगो पर्ने हुँदा धेरैजसो ग्राहकलले ट्राभल कार्ड प्रयोग गर्न नचाहेको उनको अनुभव छ ।

अहिले उपलब्ध टुर प्याकेज मध्ये सबैभन्दा महंगो प्याकेज माल्दिभ्सको टुर प्याकेज रहेको छ । माल्दिभ्सको चार दिनको प्याकेज न्यूनतम पनि २ लाख रुपैयाँको छ । माल्दिभ्स टापुहरुको देश धेरै महंगा रिसोर्टहरु भएको ठाउँ हो । त्यही भएर पनि माल्दिभ्स जाने प्याकेज महंगो छ ।

सस्तो टुर प्याकेजमा भने दुबई, थाइल्यान्डका टुर प्याकेजहरु नै हुन् । दुबई, थाइल्यान्डका प्याकेजहरु अहिले ९२ हजार रुपैयाँको हाराहारीमा उपलब्ध रहेका छन् । यो भनेको दैनिक डिनर लन्चबाहेकको मूल्य हो । कोभिड संक्रमण पछि विस्तारै पर्यटन खुल्ला हुँदै गए पनि हवाई टिकट भने अत्यन्तै महंगो भएकाले सबैको पहुँचमा विदेश भ्रमण पुगेको देखिंदैन । टिकट दर असाध्यै महंगो भएको हुनाले विदेश जान इच्छुकहरुले भने अझै टिकट दर घट्ने पखाईमा नै बसेको देखिन्छ ।
‘मेरो एजेन्सीबाट अढाई सय जतिले बुक गरेकोमा सबैभन्दा बढी दुबई जाने छन् । झन्डै ५० प्रतिशत जति दुबई जाने छन् । २० प्रतिशत जति माल्दिभ्स बाँकी थाइल्यान्ड, सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया रहेका छन् ।’–उनले भने ।

उच्च टिकट दरका कारण यसपटक युरोप टुरको व्यवस्थापन गर्न नसकिएको उनले बताए । कोभिड अगाडिका वर्षहरुमा दशै तिहारको समयमा ३–४ वटा युरोप टुरको गु्रप एरेन्ज गरेको उनको अनुभव छ । त्यस्तै जापान, कोरिया जाने गु्रप पनि हुन्थ्यो । ‘जापान भर्खरै खोेलेको छ । एक दुई महिनामा विस्तारै विदेश जाने फ्लो बढेर जाने आशा गरेको छु । ’–उनले भने ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।