निष्क्रिय कर्जा बढ्दा बैंकहरुको खुद नाफामा दबाब

Oct 25, 2022 07:39 AM Merolagani

हाल सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

विवरण अनुसार बैंकहरुको नाफा सामान्य बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यी बैंकहरुका नाफा केबल ५.९४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा यस आर्थिक वर्षको सोही अवधिसम्ममा १८ अर्ब ७५ करोड नाफा कमाएका छन्।

यस आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा बढेका कारण खुद नाफामा दबाब पुगको वित्तीय विवरणहरुमा देख्न सकिन्छ। समीक्षा अवधिमा ३ बैंक बाहेक अरु सबै बैंकहरुको यस्तो कर्जा बढेको छ। यस अवधिमा राष्ट्रि वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ।

यस अवधिमा सबैभन्दा बढी निष्क्रिय कर्जा सनराइज बैंकको रहेको छ। असोज मसान्तसम्ममा बैंकको यस्तो कर्जा २.९४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.८१ प्रतिशतविन्दु बढेको हो। निष्क्रिय कर्जा बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज २२ करोड ७० लाख रुपैयाँबाट बढेर ६९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा बैंकको खुद नाफा १६ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.५० प्रतिशत कम हो। समीक्षा अवधिमा सबैभन्दा बढी नाफा घटेको बैंक नै सनराइज बैंक रहेको छ।

सबैभन्दा कम निष्क्रिय कर्जा भने एभरेष्ट बैंकको रहेको छ। असोज मसान्तसम्ममा बैंकको यस्तो कर्जा ०.३३ प्रतिशत रहेको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२० प्रतिशतविन्दु बढी हो। समीक्षा अवधिमा बैंकको खुद नाफा ४८.९५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ०.७० प्रतिशतविन्दु घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २.२७ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.५७ प्रतिशतमा सीमित भएको छ। बैंकको खुद नाफा समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा सबैभन्दा बढी इम्पेरमेन्ट चार्ज नबिल बैंकको रहेको छ। बैंकको यस्तो चार्ज ९९ करोड ३४ लाख रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा १.२ प्रतिशतविन्दु बढेर २.३३ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा भने ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ।

सबैभन्दा बढी नाफा बढाउन सफल कुमारी बैंक (८५.०७ प्रतिशत) को निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ०.४६ प्रतिशतविन्दु बढेका छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज ७० करोड रुपैयाँ रिभर्स भएको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।