पहिलेदेखि नै होटल व्यवसायमा आवद्ध रहेका केशबलाई मानिसहरु चिया कफीसँग रमाएको र चिया नै भेटघाटको माध्यम बन्न थालेको बुझे । एउटा सानो चिया पसललाई नै व्यवस्थित गरेर आधुनिक तबरबाट काम गर्न सकिन्छ भनेर अध्ययन गर्न थाले ।
काठमाडौंलगायत देश विदेशका चियाका स्वादलाई टेस्ट गर्दै गहन अध्ययन गरे । काठमाडौंका भिभिआईपि भनिएका चिया पसलदेखि फुटपाथका चिया समेतलाई अवलोकन गर्दै गए ।
करिब दुई बर्ष गहिरो अध्ययनपछि प्रोडक्ट, मार्केट र भबिष्यको बारेमा तीन भाइले फरक फरक अनुभव बटुले । अझ पछिल्लो समय युवा पुस्ता चिया कफीको स्वादमा रमाउने गरेको थाहा पाए ।

‘त्यसो भए चियाँ खाने मौलिक संस्कृतिलाई आधुनिक बनाएर चिया खुवाउने र शान्त वातावरणमा साथीभाइ बीच रमाउने थलो किन नबनाउने भन्ने प्रश्न उठ्यो’ केशबले टेबल ठोक्दै भने ‘त्यसपछि हामीले चियालाई ब्रान्डिङ गरेर नयाँ तरिकाबाट जाने निर्णय गर्याैं ।
त्यसपछि आफैं चिया पसल खोलेर बजारमा खट्किएको अभाव पूरा गर्ने गरि व्यवसाय गर्ने आँट गरे ।
राष्ट्रिय रुपमा पनि सबै चर्चाको ठाँउ, पछाडिपट्टी संसद भवन र तल्लोपट्टी पाँच तारे एभरेष्ट होटल रहेको स्थानमा ठाउँ पाए । कन्सेप्ट २०७६ तिर फुरेपनि कोरोना महामारीको कारण गत ०७९ असारबाट चिया सागर नाम दिएर चिया पारखीको नयाँ प्लेटफर्म खोले ।

६० लाख लगानीमा खुलेको चिया सागर
‘हामीले चियाँ खाने राम्रो ठाँउ र वातावरण पनि राम्रो नभएको पाएपनि चिया सागरलाई अघि बढाउने निर्णय गरेका थियौं’ केशबले मुस्कुराउँदै भने ‘यो खुलेपछि काठमाडौंका मानिसहरुलाई साच्चिकै शान्त ठाँउमा चिया पिउने र जमघट हुने अभाव नै रहेको महशुस गरेको छु।’
करिब ६० लाख आसपास लगानीमा खुलेको चिया सागरमा दैनिक सयौं ग्राहकले आएर चिया पिउने र चिया गफसँगै साथीभाइसँग रमाउने गरेका छन ।
एउटै जिल्लाका तीन जना मिलेर खुलेको यो चिया सागर चिया खाने ठाउँ मात्रै बनेको छैन ग्राहकका नयाँ योजना र यात्रा पनि तय हुने गरेका छन् । पहिले नै पर्यटन व्यवसायमा भएका कारण यो क्षेत्रमा हात हाल्ने प्रेरणा मिलेको चिया सागरका संचालक केशब शर्मा बताउछन् ।
चिया सागरको मेन्युमा भएका २३ प्रकारका चियाका स्वाद पाक्ने गरेको छ तर, निकट भविष्यमा यसलाई बढाएर ७५ थरीसम्म पुर्याउने योजना रहेको बताउछन् केशब ।
नेपालको मात्र नभई, विदेशमा पाइने चियाका प्रकार समेत भित्र्याउने र केही समयपछि हरेक महिनाजसो नयाँ स्वादका चिया मेनुमा थप्दै जाने योजना केशबको योजना छ ।

अहिले चिया सागरमा मट्का, मसला, घरको चिया, हर्बल, ग्रीन, आइस टीलगायत धेरै प्रकारका चियाँ पाइन्छ । त्यसैगरी कफी, स्मुदी, मिल्कशेक, फ्रापेसँगै बेकरी परिकार पनि पाइने गरेको छ ।
चियाँ सागरको स्लोगन नै ‘चिया कफी र गफ' दिइएको छ जहाँ ढुक्कसँग साथीभाइसँग रमाउन सकिन्छ । ग्राहक चियाँ गफमै रमाउने भएका कारण चिया सागरमा बाइफाइ, म्युजिकलगायतका कुनै पनि सेवा राखिएको छैन ।
केशबको टिमले शान्त वातवरणमा चिया खाने प्लाटफर्म बनाएपछि कतिपय ग्राहक त्यहि आएर काम पनि सकाउने र चियाको मज्जा पनि लिने गरेका छन् ।
केशब भन्छन ‘रेष्टुरेन्ट खोल्नु नेपालमा नर्मल भइसकेको छ तर, रेष्टुरेन्ट खोलेर केहि नयाँपन दिएको छ भने त्यसले अर्थ राख्छ जुन चिया सागर हो।’
चियाँ सागरमा केशबका अनुसार ६० मिलिलिटरको माटो कपमा ५० रूपैयाँमा मट्का चिया ’सिंगल’ पाइन्छ, भने मट्का चिया ’डबल’ एक सय २० मिलिलिटरको सेरामिक कपमा दिन्छ जसको मुल्य ९० रूपैयाँ तिर्नुपर्छ।
त्यसैगरी सबै भन्दा महँगो मट्का चिया ’पट’ हो जसको तीन सय ५० रूपैयाँ तोकिएको छ । पाँच सय मिलिलिटरको पटमा (चियादानी) ७ देखि ८ जनालाई पुग्ने चिया यसमा आउँछ।
यहाँ माटोको कपमा चिया खाएपछि ग्राहकले कपमा नाम वा सन्देश लेखेर चिया सागरमै सजावटका लागि राखिदिन मिल्ने व्यवस्था गरिएको छ ।
दुई सय जनासम्म ग्राहक अटाउने गरि खुल्ला स्पेसमा चिया सागर बनाइएको छ जहाँ आनन्द र स्वच्छ वातावरणको अनुभुति गर्न सकिन्छ ।

केशबका अनुसार चिया सागरमा आधुनिक र मौलिकपनलाई मिक्स गरिएको छ । झट्ट हेर्दा गाउँघरको याद दिलाउछ भने आधुनिक तवरबाट पनि यो क्याफेलाई सजाइएको छ । झन्डै एक दर्जन कर्मचारीलाई रोजगारी पनि दिएको छ ।
केशबले भने ‘हामी यो व्यवसायमा नयाँ भएपनि हामी व्यवसायीक व्याकग्राउन्ड बाटै आएको कारण चिया सागर चलाउन कुनै समस्या आएन, यो खुलेपछि हामी सन्तुष्ट नै छौं ।’
अहिले चिया सागरमा युवासँगै सबै उमेर समूहका ग्राहक आउने गरेका छन । त्यसमध्ये आउने सबै दोहोर्याएर चिया सागरमा आउने गरेको सञ्चालकहरु बताउछन् ।

काठमाडौंमा जनघनत्व बढी भएको स्थानमा नयाँ आउटलेट खोल्ने तयारी गरेका छन । ‘हामी र हाम्रो टिम विभिन्न स्थानमा अध्ययन गरिरहेका छौं’ शर्माले भने ‘गुणस्तरलाई प्राथमिकता दिएर अन्य शहरमा पनि जाने तयारी गरेका छौं ।’
