कर्जामा जबसम्म ब्याजदर बढ्दै जान्छ तबसम्म बजार सकारात्मक हुन गाह्रो छ, लगानीकर्ताले केहि समय पर्खनु उचित हुन्छः लगानीकर्ता खड्ग पन्तको विचार

Nov 19, 2022 11:04 AM Merolagani

खड्ग पन्त

बजार अहिले केहि सकारात्मक देखिएता पनि त्यति धेरै सकारात्मक भएर अघि बढ्ला जस्तो देखिदैन। बैंकहरुको सिडि रेशियो टाइट हुँदा कर्जामा फोकस गरेका छैनन्। जबसम्म बजारमा कर्जा लगानी हुँदैन तबसम्म बजार माथि जाने सम्भावना देखिदैन। लगानीकर्ताहरु लामो समयदेखि निरास भएर बसेका छन्।

बैंकहरुले कर्जाको ब्याजदर अझै बढाउन खोज्दैछन्। अहिले नविकरण गर्नुपर्ने कर्जामा बैंकहरुले २ प्रतिशतसम्म ब्याजदर बढाएर कर्जा नविकरण गर्न भनिरहेका छन्। हामी ३० औ वर्षदेखि एउटै बैंकबाट कारोबार गरिरहेको ग्राहकलाई त बैंकले त्यस्तो भन्छ भने नयाँ मान्छेलाई के भन्ला ?

बैंकले अहिले कर्जा दिन नसक्ने नै भनिरहेका छन्। साधारण मान्छेले सहज रुपमा कर्जा लिन गाह्रो छ। बैंकसँग २ करोड रुपैयाँ कर्जा माग्दा पनि पहिला आफैले निक्षेप खोजिदिन भनिरहेका छन्। बैंककै शब्दमा भन्दा पनि अहिले नविकरण गर्दा २ प्रतिशत ब्याजदर बढ्छ । कर्जा चाहिने नै हो भने निक्षेप पनि खोजिदिनुपर्छ, भनिरहेका छन्। यसले गर्दा पनि बैंकमा पैसा छैन भन्ने थाहा हुन्छ।

कर्जामा जब ब्याजदर बढ्दै जान्छ तबसम्म बजार सकारात्मक हुन गाह्रो छ। कि त बजार बढ्नको लागि अन्य माध्यमबाट थप पैसा बजारमा आउनुपर्ने हुन्छ। त्यो पैसा फेरि राष्ट्र बैंकले मान्यता दिने पैसा हुनुपर्यो । होइन भने अझै केहि महिनाको लागि बजार माथि जान गाह्रो देखिन्छ।

अहिले चुनावी माहोल छ। चुनावको खर्च पनि बढेको छ तर चुनावमा भएको खर्च उपभोग्य बस्तुमा नै खर्च हुने हो। केहि पैसा बैंकिङ्ग प्रणालीमा आउला तर अरु कही पनि चलायमान पूँजी अहिले छैन।

अहिले डिभिडेन्ड सिजन पनि छ। तर कम्पनीले दिने डिभिडेन्डले पनि धान्ने अवस्था छैन्। नबिल बैंकको शेयर हिजोको दिनमा १८ सयमा खरिद गरे अहिले बजारमूल्य ८०० को हाराहारी छ । बैंकले लाभांश २० प्रतिशत देला। फेरि डिभिडेन्ड दिएपछि मूल्य झनै झर्ला त्यसले कसरी धान्छ। प्रभु बैंकले आज मात्रै ८ प्रतिशत लाभांश दिने घोषणा गरेको जब कि उसको अहिले नै शेयरमूल्य २०० माथि छ।

अहिले १५ प्रतिशत ब्याज तिरेर कर्जा लिएर लगानी गर्नुपर्ने अवस्था छ। अहिले डिभिडेन्डमा करिब २ प्रतिशत रिटर्न पाइराखेको अवस्था छ। त्यो पनि १५ महिना कुरेर लाभांश पाइन्छ। बैंकलाई ब्याजदर महिनै पिच्छे तिर्नुपर्ने हुन्छ। यसले गर्दा लगानीकर्ताले कर्जा लिएर लगानी गर्दा धान्न गाह्रो हुन्छ।

अहिले शेयर बजारमा लगानी गर्नको लागि अझै केहि समय कुर्नुपर्ने देखिन्छ। बजारमा लगानी गर्न नहुने होइन। घट्ने बढ्ने बजारको सौन्दर्यता नै हो। तर केहि समय कुरेर लगानी गर्दा राम्रो हुन्छ।

चुनावपछि पनि दिगो सरकार बन्ने छाटकाँट देखिएको छैन। विगतमा एमाले र माओवादीको बहुमतको सरकार हुँदा त बीचमै दुर्घटना भयो भने अहिलेको यो गठबन्धनमा फरक फरक सिद्धान्त बोकेका पार्टी छन्। यो लङटर्म जाला भन्ने सोच्न गाह्रो छ।

अहिलेको बजारमा स्टक बस्ने पैसा छ भने लगानी गर्दा ठिकै छ तर एक दुई महिना कुर्दा अझ राम्रो हुन्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।