भोजपुरमा सुदन किराँती विजयी, शेरधन राई पराजित

Nov 25, 2022 05:27 AM Merolagani



भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन्।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन्। उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सो क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए। तीन हजार एक सय ६८ मत बदर भएको थियो। भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेद्वारले निर्वाचनमा भाग लिएका थिए।

भोजपुरमा प्रदेशसभा (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भएका छन्। उनले १६ हजार एक सय १० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याएका छन्।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिएका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।