डिजाइनर "माेजा" बनाउने साेनाम, २० हजारकाे लगानीबाट वार्षिक ५० लाखकाे काराेबार

Jan 26, 2023 07:36 PM Merolagani

ज्याेति शाह

काठमाडौंको फुटपाथमा "१०० रुपैयाँमा तीन जोर ! १०० रुपैयाँ तीन जोर मोजा!" भनेको हामीले सुनिरहेकै हो । निम्न वर्गिय नेपालीहरुले यस्तै मोजाले नै दिन चलाइरहेकै छन् । तर केहिले भने हजारौं पर्ने ब्राण्डेड मोजा पनि लगाउने गरेका छन् ।

सामान्यतया, मानिसहरुले मोजामा खासै ध्यान दिँदैनन् । मोजालाई अन्य पहिरनभन्दा कम प्राथमिकतामा पनि राखिन्छ । तर पनि मोजाका गुणस्तर र डिजाइनमा युवाहरुको चासो पछिल्लो समय बढिरहेको छ । फेसनको लहरले मोजा बजारलाई पनि समातेको छ । थरिथरि डिजाइनका रंगीबिरंगी मोजा लगाउनु पछिल्लो ट्रेण्ड नै बनिसकेको छ । यहिँ माग र पछिल्लो ट्रेण्डलाई अवसर बनाएर सोनम शेर्पाले "मोजा -अल अबाउट सक्स" संचालन गरिरहेका छन् ।

इन्स्टाग्राममा १२ हजार भन्दा धेरै फलोअर्स रहेको "मोजा_सक्स" युवा पुस्तामाझ लोकप्रिय रहेको छ । २६ वर्षका सोनमले विगत चार वर्षयता नेपाली बजारमा आफ्नो ब्राण्डको मोजा बेचिरहेका छन् । झट्ट सुन्दा "मोजा बेच्ने ?" भनेर नाक खुम्चाएका उनका साथी र आफन्तहरु अहिले उनको काम र सफलता हेरेर ताली बजाउने गर्छन् ।

"हामीले अनलाईन सपिङ भन्नासाथ लुगा, जुत्ता र व्यागहरु मात्र देख्छौं । नयाँ केहि बजारमा गराैं भनेर साेंचेका थियाैं । मोजाको अनलाईन व्यापार कसैले गरेकाे रहेनछ ," साेनाम सम्झिन्छन् । "त्यसमाथि सादा मोजा भन्दा पनि डिजाईनर मोजा दिन पाएँ ? कसैको मनपर्ने डिजाईन र प्याटर्नलाई उतारेर मोजा  बनाऔं न त भन्ने लागेर सुरु गर्यों," कम्पनी सुरू गर्नुकाे कारण उनी खुलाउँछन्।

कम्पनीकाे नाम "माेजा" भने सोनमकी श्रीमतिले नामाकरण गरेकी थिइन् । "नेपालीपन पनि झल्किने, र क्याची होस् भनेर, "मोजा" र टाइटल "अल अबाउट सक्स" थप्यौं । " मोजाकैलागि मोजा नै नाम रोजेको सोनमले बताए ।

२० हजार रूपैयाँले सुरू भएकाे माेजा

सोनमले "मोजा" २०१९ को जून महिनामा २० हजार रुपैयाँले मात्र सुरु गरेका थिए । "सुरुमा ट्राइ मात्र गरेको, मान्छेले कतिको रुचाउँछन् भनेर मात्र सुरु गरेका थियौं । सेताे र कालाे माेजा लाउँदा वाक्क परेका युथहरूले केहि नयाँ पाउनुभयाे हाेला र मनपराउनुभयाे," उनी मस्काउँछन् ।

सुरू गर्दा नेपालबाट नै उत्पादन थालेका थिए साेनमले,"हामीले नेपालमा उत्पादन गर्न खोज्यौं तर त्यसबाट सोंचेजस्तो नतिजा पाएनौं मोजा बनेन । हामीले यहाँ डिजाईन गर्छौँ र पठाउँछौ अनि फेरि ल्याउँछौं ।" चीन, ताइवान र भारतबाट तयार भएर आउँछ सोनम र उनको समुहले बनाएको मोजा ।

"मोजा भन्नासाथ हामीले सेतो वा कालो मात्र सोंच्छौ । तर मान्छेहरु मोजा हेर्दा खुशी हुन् भनेर बनायौं । सबैलाई मन नपर्ला तर केहिलाई खानेकुराको, कार्टुनको वा एनिमिको प्रिन्ट भएको डिजाइन मनपर्छ । त्यहिँ अनुसार निकालेको हो ", उनी भन्छन् ।

"मोजा"ले सबै उमेर समुहलाई हुने मोजा बिक्री गर्ने गर्छन् । बच्चाहरुलाई मनपर्ने डिज्नी कयारेक्टरको कार्टुन देखि सादा लगाउन चाहनेकालागि थ्री डि प्याटर्न चेक डिजाइन भएको लगायत अन्य मोजा पनि यहाँबाट खरिद गर्न सकिन्छ ।

 "मोजा"ले शुद्ध कटनको मोजा र कटन मिसिएको मोजा उपलब्ध गराएको छ । "डिजाइन राख्दा प्योर कटन राख्न मिल्दैन, कटन मिक्स राख्छौं । कटनमा इम्ब्रोयड गरेको मोजाहरु छ ।" गुणस्तरमा अत्यन्त ध्यान दिएको सोनम दाबी गर्छन् ।

करिब १०० डिजाइनका मोजा पाइने संचालक सोनामले जानकारी दिए । "हाम्रोबाट मूख्य गरी खानाको थिम र गाँजाको डिजाइन भएको मोजा मगाउने गर्नुहुन्छ । " त्यस्तै तेश्रो लिंगी समाजकोलागि बनाइएको विशेष मोजाको पनि माग धेरै हुने गरेको उनले मेरोलगानीलाई बताए । अर्को फलफूलको, रंगीबिरंगी तथा अन्य सुपर हिरो क्यारेक्टर र थ्रिडि प्याटर्न भएको मोजा पनि धेरै बन्ने गरेको छ ।

१०० रुपैयाँदेखि २,००० रुपैयाँसम्मका मोजा

यस ब्राण्डको मोजा १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म्को मोजा पाइन्छ । प्याकेजमा १,२०० मा ३ बक्स सेट र ४ वटाको १,५०० रुपैयाँ । त्यसैगरी, उपहारकालागि पनि आकर्षक प्याकेजिंग गरेर मोजाले मोजा पठाइने गरेको छ । "माेजा"बाट ग्राहकले एक जाेर माेजा पनि मगाउन मिल्ने साेनमले बताए ।

"मोजा"का ग्राहकहरु विशेषगरी, १८ देखि २४ वर्षसम्मको रहेको सोनम खुलाउँछन् । यद्यपी ४० वर्षसम्मका व्यक्तिले पनि सोनमकाबाट मोजा किन्ने गरेका छन् । उनी भन्छन्, "एक विद्यार्थीदेखि बैंकर, डक्टर र अन्य कर्पोरेट अफिसबाट पनि अर्डर आउने गरेको छ ।"

नेपालका सबै ठाउँहरुमा "मोजा"बाट मोजा मगाउन सकिने सोनम बताउँछन् । सामाजिक संजाल इन्स्टाग्राम मोजा सक्समा गएर मेसेज गरेर मोजाको अर्डर गर्न सकिन्छ । यसबाहेक भाइबर र व्हाट्सएपबाट पनि मोजाको अर्डर गर्न मिल्ने सोनम सुनाउँछन् ।

माग भएपनि एक दुई जोर मोजामा कस्टमाइज गर्दा समस्या हुने भएकाले हाललाई ग्नाहककाे राेजाइ अनुसार कस्टमाइज नगरेको सोनम सुनाउँछन् । "अब बिस्तारै भविष्यमा मिल्यो भने अर्डर लिन्छौं होला", उनी आशावादी सुनिन्छन् ।

मोजाको सानाे पसल काठमाडौंको छाँया सेन्टरमा छ । यसअघि पोखरामा पनि मोजाको आफ्नो स्टोर रहेको थियो तर हाल भने बन्द रहेको छ । "ग्राहकहरुलाई सजिलो होस् भनेर हामीले पोखरामा पनि खोलेका हौं । तर अहिले केहि समयलाई बन्द छ । अब छ्ट्टिै फेरि खोल्छौं होला ।" चितवनमा पनि माेजाकाे माेजा किन्न पाइन्छ ।

नेपालको काठमाडौं, ललितपुर र भक्तपुरकासाथै पोखरा, चितवन र बुटवल उनीहरुले मोजा डेलिभर गर्ने मूख्य शहरहरु हुन् । उनले थपे, "देशबाहिरबाट पनि अर्डर आइरहेको छ तर पेमेन्ट गर्न गार्हो भएकोले अहिले अर्डर लिइरहेका छैनौं । तर वेबसाइट बनेपछि पेमेन्ट गर्न र लिन सजिलो भयो भने हामी बाहिरबाट पनि अर्डर लिन्छौं ।" 

मोजाको शुल्क सहित डेलिभरी शुल्क पनि ग्राहकले नै तिर्नुपर्ने हुन्छ । २ हजार रूपैयाँभन्दा माथिकाे माेजा अर्डर गर्दा डेलिभरी शुल्क नलिने साेनमले सुनाए । यसकासाथै हाेलिडे प्याकेजमा पनि केहि छुट दिने गरिएकाे छ ।

वार्षिक रुपमा ५० लाख रुपैयाँसम्मको कारोबार 

"मोजा बेचेर कस्तो नाफा कमाउनुहुन्छ? " भन्ने प्रश्नको जवाफ सोनम यसरी दिन्छन्, "सानो नाफाबाट नै काम गर्ने भनेर नै हामीले सुरु गरेका हौं । अन्त मोजा सस्तो पाइएला तर हाम्रो जस्तो क्वालिटिको र डिजाइनको कस्टमाइज मोजा पाइँदैन । रिसर्च गरेर कस्तो मान्छेलाई कस्तो मोजा चाहिन्छ भनेर नै हामीले बनाएर बेचिरहेका छौं । अब नाफा धेरै नआउला तर नाफा थोरै भएपनि धेरै भएपनि कमाई नै हो ।"

जाडो मौसममा दैनिक ४० अर्डर डेलिभर हुने गरेको सोनाम सुनाउँछन् । अन्य समयमा पनि २० देखि ३० अर्डर आउने गरेको छ । मोजामा हाल ६ जना कार्यरत छन् ।

मोजाले वार्षिक रुपमा ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको सोनमले खुलाए । नेपालमा चलेका विदेशी ब्राण्डहरुको मोजाको कपी बनाउने चलन छ । नेपालमा आउनुपर्ने क्वालिटि आएको छैन । तर पछि राम्रो टेक्नोलोजी ल्याएर , राम्रो म्यानपावर जम्मा गर्न सकियो भने नेपालमा नै उत्पादन गर्न सकिन्थ्यो । त्यसरी मोजामा नै फोकस गरेर जाने मेरो सोंच छ ।

इन्स्टाग्रामले चलाएकाे व्यापार बन्याे ब्राण्ड

साेनामले पछिल्लाे समयका युवालाइ बुझेर सामाजिक संजालमार्फत माेजा फैलाएका थिए । एस कलेजमा पढ्ने उनका भाइबहिनीहरूमार्फत पहिलाे पटक माेजामा व्यक्तिगत रूपमा प्रचार सुरू गरेका थिए रे साेनमले । साेनमकाे कम्पनी माेजाकाे विज्ञापन सेलिब्रेटिहरूले पनि गरिदिँदा माेजा छाेटाे समयमा नै चर्चित भएकाे थियाे । यसरी इन्स्टाग्रामबाट सुरू भएकाे "माेजा" एक ब्राण्ड बन्न सफल भयाे ।

सिन्धुपाल्चोक भोटेकोशी ३का सोनाम शेर्पा व्यापारिक पृष्ठभूमिमा जन्मेका हुन् । जसकारण उनलाई सानैदेखि व्यापारमा नै रुची जाग्यो । बुवा रियल स्टेट व्यापारी भएकाले नै अध्ययनलाई बिट मार्दै उनले आयात निर्यातको कामको अनुभव संगाले । बिस्तारै आफ्नै केहि नयाँ काम गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई मोजाको संस्थापक बनायो । मोजाबाहेक उनले बुवाको व्यापारमा पनि सहयोग गर्ने गरेका छन् । व्यवसाय बाहेक समाजसेवाकालागि पनि समय छुट्याउने गरेका छन् ।

पछिल्लो समय नेपालमा नयाँ व्यवसायीहरुलाई अत्यन्त कठिन समय रहेकोमा सोनाम दुख पोख्छन्, "स्टार्ट अप र साना व्यवसायीहरुलाई नेपालमा गार्हो छ । तर सानो लगानीबाट पनि हुने रहेछ नि !" "सानो व्यापार गरे पनि हुने रहेछ भनेर कतिले सुरू गरिरहनुभएको छ । पहिला सबजना हाँसे, तर चल्यो । हुँदो रहेछ त," काम गर्न लजाउन नहुनेमा उनी जोड दिन्छन् ।

"म ग्राहकहरुलाई हरेक पटक नयाँ के दिन सकिन्छ भनेर तयारी गर्छु र गरिरहन्छु। "माेजा" नेपाली ब्राण्ड भनेर चिनाउन चाहन्छु । देशको सबै ठाउँमा सस्तोमा नै सबैले हाम्राे माेजा लगाउन सकोस् भन्ने मेरो चाहना छ ," उनी याेजना सुनाउँछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।