आन्तरीक ऋण उठाउन ७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Feb 06, 2023 02:51 PM Merolagani



नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ’ञ’ विक्री गर्न लागेको हो।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले माघ २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही माघ २५ गते निष्काशन हुनेछ भने २०८४ माघ २५ गते साँवा भुक्तानी हुनेछ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।