हाल कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेपछि हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
हालको पूँजी पर्याप्त नभएको र जोखिम मापनको आधारमा कम्पनीको पूँजी बढाउनु पर्ने आवश्यक रहेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीको भनाई छ ।
'ग्लोवल वार्मिङ र क्लाइमेट चेञ्जले गर्दा जोखिमको मात्रा बढीरहेको छ । जोखिम मापनको आधारमा कम्पनीको पूँजी बढाउनु आवश्यक छ,' पुनर्बीमा कम्पनीका सिइओ रायमाझीले भने, 'नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी न्युनतम २५ अर्ब रुपैयाँ हुनु पर्छ भने मेरो व्यक्तिगत धारण छ ।'
'कम्पनीको चुक्ता पूँजी तत्काल २५ अर्ब रुपैयाँ पुर्याउनु पर्छ । त्यो कम्पनीले वितरण गर्ने लाभांशले मात्रै संम्भव छैन्,' उनले भने, हकप्रद शेयर जारी गरेरे पूँजी पुर्याउनु पर्ने हुन्छ ।'
रिको पूँजी बढाउन अर्थमन्त्रालय, बीमा प्राधिकरण र शेयर होल्डरहरुको अनुमति पछि मात्रै निर्णय हुने उनले मेरो लगानीलाई जानकारी गराए ।
हाल कम्पनीमा ४४.०३९ प्रतिशत नेपाल सरकारको, ३९.९६१ प्रतिशत बीमा तथा अन्य कम्पनीहरुको र १६ प्रतिशत सर्वसाधारण शेयरधनीहरु (कर्मचारीहरु सहित) को शेयर स्वामित्व रहेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकमा हकप्रद निष्काशन गरेर पूँजी जुटाउने सम्बन्धी छलफल भएकाे एक सञ्चालकले मेरोलगानीलाई जानकारी गराए । हकप्रद निष्काशन गरेर पूँजी बढाउने निर्णय छिटै हुने उनको भनाई छ ।
कम्पनीको वित्तीय अवस्था कस्तो?
नेपाल पुनर्बीमा कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख रुपैयाँ गरी ६७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १०.४५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५७ करोड ५३ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३ करोड ४७ लाख रुपैयाँ गरी ६१ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० अर्ब ७६ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८९ प्रतिशत बढी हो ।
यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ५० लाख ४७ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४६ करोड ३० लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले यस अवधिमा ७ अर्ब २२ करोड १२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीले १२ अर्ब ४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।