नेपालका टेलिकम सेवाप्रदायक मध्ये निजी क्षेत्रको एनसेलको मोबाइल गुणस्तर सबैभन्दा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । यद्दपी एनसेलले पनि प्राधिकरणले तोकेको मापदण्ड पुरा गर्न सकेकाे छैन् ।
प्राधिकरणले हालै काठमाडौंका एक दर्जन बढी स्थानमा गरेको भ्वाइस सेवा ड्राइभ टेस्टमा अपरेटरहरुको कल सफल हुने दर (कल सेटअप सक्सेस रेट), फोनकल लाग्ने समय (कल सेटअप टाइम), ग्रेड अफ सर्भिस (कल ब्लक रेट) र कल ड्रप दर परीक्षण गरेको थियो ।
ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती–बौद्ध, चाबहिल, गौशाला, सिफल, हाडिगाउँ, कपन, धुम्बाराही, बर्फेदी, भंगाल, हात्तीगौंडा र बुढानिलकण्ठ क्षेत्रमा भएको भ्वाइस सेवा गुणस्तर परीक्षण तीनै सेवाप्रदायक असफल देखिएका हुन ।
स्मार्ट सबैभन्दा कमजोर
कल टेष्ट ड्राइभमा सबैभन्दा कमजोर देखिएको स्मार्ट टेलिकमको कल सफल हुने दर अर्थात कल सेटअप सक्सेस रेटमा जम्मा २६ प्रतिशत छ । प्राधिकरणले भने कल सफल दरमा ९९.९९ प्रतिशत वा सो सरह हुनुपर्ने मापदण्ड तोकेको छ ।
स्मार्टको फोनकल लाग्ने समय (कल सेटअप टाइम) पनि ११.९३ सेकेन्ड रहेको पाइएको छ । जबकि प्राधिकरणले ५ सेकेन्ड वा सोभन्दा कम समयमा कल सेटअप हुनुपर्ने व्यवस्था गरेको छ। कल ब्लक रेट अर्थात ग्रेड अफ सर्भिसमा समेत स्मार्ट निकै कमजोर देखिएको छ ।
त्यसैगरी सकारी स्वामित्वको नेपाल टेलिकम पनि गुणस्तर परिक्षणमा असफल देखिएको छ । प्रतिवेदन अनुसार टेलिकमको फोन कल सफल हुने दर (कल सेटअप सक्सेस रेट) ८८.७८ प्रतिशत छ भने फोनकल लाग्ने समय (कल सेटअप टाइम) ६.९७ सेकेन्ड छ।

खासगरी पछिल्लो समय नेपाल टेलिकमको सिस्टममा समस्या आएपछि सेवा गुणस्तर पनि खस्किदै गएको छ । सरकारी स्वामित्वको टेलिकमले पनि प्राधिकरणको ड्राइभ टेष्टमा असफल देखिएको छ ।
अन्य दुई सेवाप्रदायकको तुलनमा एनसेलको भ्वाइसकल सेवा गुणस्तरीय रहेको पाइएको छ ।
एनसेलको फोन कल सफल हुने दर (कल सेटअप सक्सेस रेट) अरु अपरेटरहरुको भन्दा बढी ९३.६९ प्रतिशत, फोनकल लाग्ने समय ५.१८ सेकेन्ड र एनसेलको ग्रेड अफ सर्भिस (कल ब्लक रेट) ६.३ प्रतिशत रहेको छ ।
जस अनुसार एनसेलले पनि प्राधिकरणले तोकेको मादण्ड अनुसार भ्वाइस सेवाको गुणस्तर भने कायम गर्न नसकेको देखिएको छ ।