कर्जा असुलीमा समस्या आउदा बैंकहरुको खराब कर्जा बढ्दै, यी बैंकलाई पर्न सक्छ आगामी दिनमा समस्या

Mar 16, 2023 06:04 AM Merolagani

रबिन पौडेल
बैंकहरुलाई कर्जा उठाउन गाह्रो हुँदा आगामी त्रैमासमा बैंकहरुको खराब कर्जा अझै बढ्ने देखिएको छ। तरलता अभाव र महँगो ब्याजदरले गर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा झनै बढ्ने देखिएको छ।

अहिले बैंकहरुको कर्जा असुलीमा कमी आएको छ। महँगिएको ब्याजदर, अर्थतन्त्रमा आएको मन्दी र कोभिडपछिको असरले गर्दा ऋणीले कर्जा तिर्न सकेका छैनन्। यसले गर्दा बैंकहरुको डिफल्ट रेट बढ्दै गएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले केहि समय अघि नै बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्ने आ‌ंकलन गरिएको बताएको थियो। महासंघका अध्यक्ष शेखर गाेल्छाले पत्रकार सम्मेलनमा नै महासंघले गरेको अध्ययनले अवस्था नसुध्रिए बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्नसक्ने देखाएको बताएका थिए।

यसैअनुसार अहिले बैंकहरुमा खराब कर्जाको अनुपात निरन्तर बढ्दै गएको छ। गत एक वर्षमा नै बैंकहरुको खराब कर्जा दोब्बर भएको छ। अहिले पनि डिफल्ट रेट बढिरहेको बैंकरहरु बताउछन्।

"ब्याजदर बढ्दा बैंकहरुको कर्जा असुली कम हुनु स्वभाविक नै हो," एक बैंकरले भने "अहिलेको अर्थतन्त्रकै अवस्थाले गर्दा बैंकहरुको कर्जा असुली घटेको छ। अझै केहि समय खराब कर्जा बढ्न सक्ने देखिएको छ।"

उनका अनुसार अहिले बैंक विरुद्धका अन्दोलनलगायतका उच्छृङ्खल गतिविधिले पनि कतिपयले बैंकको कर्जा तिर्न छोडेका छन्। यसले गर्दा बैंकहरुको निष्कृय कर्जा बढ्ने आंकलन गरिएको हो।

"आगामी त्रैमासमा दोस्रो त्रैमासको भन्दा पनि धेरै खराब कर्जा देखिन सक्छ," ती बैंकरले भने "कोभिडमा कर्जा तिर्नको लागि दिइएको थप समय सकिए पनि ऋणीले अझै कर्जा तिर्न सकेका छैनन्।"

राष्ट्र बैंकले कोभिडको समयमा कर्जा तिर्न नसक्ने अवस्था रहेका ऋणीहरुको कर्जा तिर्ने अवधि थप गरेको थियो। अहिले त्यो अवधि सकिएको छ। राष्ट्र बैंकले थप गरिदिएको समय सकिए पनि अझै कतिपय व्यवसायीले कर्जा तिर्न नसक्ने बताइरहेका छन्। अहिले कतिपय व्यवसायीले कर्जा तिर्न बन्द गरेका छन्। यसले गर्दा पनि खराब कर्जा बढेको देखिन्छ।

अर्कोतर्फ बैंकहरुले नयाँ कर्जा सिर्जना नगरेको कारण पनि बजारमा नगद प्रवाह घटेको छ। बैंकहरुले नयाँ कर्जा सिर्जना नगर्दा यसले बजारमा नगद प्रवाह घट्ने र त्यसले गर्दा ऋणीको कर्जा तिर्न सक्ने क्ष्मतामा पनि कमी आउने जानकारहरु बताउछन्। यसले गर्दा बैंकहरुको खराब कर्जामा बृद्धि हुने उनीहरुको भनाई छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.१ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा १.७८ प्रतिशत पुगेको थियो भने दोस्रो त्रैमासमा २.३३ प्रतिशत पुगेको छ। सरकारी स्वामित्वको कृषि विकास बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगिसकेको छ। बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेका बैंकलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही समेत गर्ने गर्छ।

बैंकहरुले निक्षेपमा ब्याजदर बढाउँदा त्यसले कर्जाको ब्याजदर बढाएको छ। बजारमा तरलता अभाव छ भने केन्द्रीय बैंकले चालु पूँजी कर्जालगायतमा कडाइ गर्ने नीति लिँदा व्यवसायीको कर्जा तिर्न सक्ने क्षमता स्वाट्टै घटेको छ। जसले गर्दा पछिल्लो समय बैंकहरुको कर्जा असुली खासै राम्रो नदेखिएको हो। यता व्यवसायीका कतिपय सङ्गठनहरूले खुलेआम राष्ट्र बैंकले सहुलियत नदिए कर्जा तिर्न नसक्ने बताइरहेका छन्। जसले गर्दा पहिलो त्रैमासमै बैंकहरुको कर्जा असुली खासै राम्रो भएन।

बैंकहरुले कर्जा असुलीको लागि धितो राखिएका सम्पत्तिहरु लिलामीमा ल्याउदा पनि त्यस्ता सम्पत्ति बिक्न सकेको छैन। जसले गर्दा बैंकहरु आफैले धितोका सम्पत्ति सकारीरहेका छन्। यसरी सकारेका सम्पत्ति बैंकहरुले बिक्री गर्न बारम्बार बिज्ञापन गरीरहेको भए पनि अहिले त्यस्ता सम्पत्ति बिक्री हुन सकेको छैन। यसले गर्दा उनीहरुको गैरबैंकिङ्ग सम्पत्ति पनि बढ्दै गएको छ।

  • आधा दर्जन बैंकको खराब कर्जा ३ प्रतिशत माथि, कुषि विकास बैंकलाई राष्ट्र बैंकको कारवाहीमा पर्ने डर

पुस मशान्तसम्मको तथ्याँक हेर्दा आधा दर्जन बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगिसकेको छ।

सरकारी लगानी रहेको कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.५२ प्रतिशत पुगिसकेको छ। ५ प्रतिशतभन्दा धेरै खराब कर्जा भएका बैंकलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्ने छ। बैंकले आगामी दिनमा खराब कर्जा नियन्त्रण गर्न नसके केन्द्रिय बैंकको कारवाहीमा पर्ने निश्चित छ।

दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सनराइज बैंक र कुमारी बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ।

वाणिज्य बैंकहरुमध्ये ५ बैंकको खराब कर्जा भने १ प्रतिशतभन्दा कम छ। एसविआई बैंकको खराब कर्जा सबैभन्दा कम ०.४७ प्रतिशत छ भने एभरेष्ट बैंकको ०.५५ प्रतिशत, एनआइसी एशिया बैंकको ०.६१ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.७२ प्रतिशत र सानिमा बैंकको ०.७७ प्रतिशत रहेको छ।

 

नाेटः (हाल हिमालयन बैक र सिभिल बैंककाे एकिकृत काराेबार सुरू भइसकेकाे भए पनि पुस मशान्तसम्म यी बैंकरूले एकिकृत काराेबार सुरू नगरेकाले छुट्टाछुट्टै राखिएकाे हाे।)  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।