एक लघुवित्त र दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Mar 17, 2023 09:04 AM Merolagani



चैत ३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्त र दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा स्वाभिमान लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन स्वाभिमान लघुवित्तको २० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात स्वाभिमान लघुवित्तको १ हजार ५० रुपैयाँ कायम भएको छ भने हिमालयन एभरेष्टको ४०८ रुपैयाँ ७६ पैसा र प्रुडेन्सियलको ४०० रुपैयाँ ६८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, स्वाभिमान लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार २६० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४२० रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले चैत ११ गते शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्त संस्था मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिनको १२ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट समूह क र ख अन्तर्गत रिक्त दुई सञ्चालक बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) ले चैत २९ गते, बुधबार बिहान ११ बजे, वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा २९ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।