शेयर किन्न जान्ने तर बिक्री गर्न नजान्दाकाे परिणाम अहिले घाटाको पोर्टफोलियो बोकेर चिन्तित हुनु परेकाे छः देब गुरागाँईकाे विचार

Mar 28, 2023 12:25 PM merolagani

देब गुरागाँई

जोखिमका वारेमा कुनै विश्वबिद्यालयमा पढेर वा कुनै पुस्तक रटेर वा कुनै गुरु थापेर वा कुनै बिद्धानले भनेर जोखिमलाई शुन्य बनाउन सकिन्छ भन्नु मुर्खता हो ।

ध्रुवसत्य कुरा के हो भने पहिलो कुरा त जोखिम जेमा पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ । जीवन जीउनुमा पनि जोखिम छ । जीवनमा जुन बेला जे पनि हुनसक्छ । ब्यापार, ब्यवसायमा त जोखिम हुने नै भैहाल्यो । सेयरमा लगानी गर्नु झन धेरै जोखिम छ । यसको मतवल जोखिम धेरै छ भनेर लगानी गर्नु हुदैन भन्ने पनि होईन ।

सेयर बजारमा प्रवेश गर्नु पुर्व जोखिमलाई एकदमै बुझेर वा भनौ जोखिम हुनै नदिने बिद्या जानेर प्रबेश गर्छु भन्नु भयो भने तपाँई जीवनभर सेयर बजारमा प्रवेश गर्नु हुदैन । किनकी बुझ्नु वा जान्नु भनेको सिकाई हो, सिकाई जिवन पर्यन्त चलिरहने प्रकृया हो जुन समयसँगै तपाँईको कृयाकलाप तथा ब्यवहारबाट प्राप्त हुँदै जान्छ। 

अर्को कुरा जाखिमलाई न्युननिकरण गर्ने कुरा तपाँईको बसमा हुन सक्छ । जोखिम बहन गर्न सक्ने क्षमता बृद्धि गर्नु तपाँईले जोखिमलाई न्युनिकरण गर्नु भएको हो, शुन्य बनाउनु भएको हैन । जोखिम बहन गर्न सक्ने क्षमता उमेरसँगै विकास हुँदै पनि जान्छ भने केही हदसम्म पढेर र धेरै हदसम्म परेर वा भनौं कारोवार गर्दै जाँदा त्यसबाटको सिकाई प्राप्त हुँदै जान्छ जुन तपाँईको अनुभवसँगै ब्यवहारमा परिवर्तन हुन्छ र त्यसले जोखिम बहन क्षमता बृद्धि गर्दै लान्छ ।

जोखिम ब्यवस्थापन वारे लेखिएको धरै बिद्धानका धेरै पुस्तक पाइन्छन्, धेरै सिद्धान्त प्रतिपादित गरिएका पनि छन् । धेरै तौर, तरिका सिकाइएका पनि हुन्छन् तर तिनै प्रतिपादक जोखिममुक्त हुन सकेका छैनन् । किनकी जुन कुरा उमेर, अनुभव, कारोवार, ब्यवहार र समयसँगै प्राप्त हुन्छ त्यो कुराको सवैभन्दा राम्रो पुस्तक अरु केही नभएर तपाँई स्वयं आफै हो ।

कारोवार, ब्यवहार, अनुभव संगाल्दै गर्दा राम्रो गर्न सक्ने केही (तौर तरिका) टिप्स् भने नभएका हैनन् । तिनले तपाँईलाई जोखिममुक्त तुल्याउने छैनन् केवल तपाँईलाई जीउन सजिलो मात्र बनाइदिने हो ।

मानिस पैसा कमाउन रात, दिन दौडधुप गरिरहेको हुन्छ । उसले के बिर्सिरहेको हुन्छ भने मानिसमा भन्दा धेरै गुणा बढी क्षमता पैसाले पैसा कमाउनेमा हुन्छ, जुन सेयरमा गरिएको लगानी पनि एक हो ।

सेयर भनेको कारोवार गर्ने भएर नै सेयर कारोवार भनिएको हो र कारोवार भन्नाले किन्ने र बेच्ने दुवै कृयाकलापमा संलग्न भएको बुझिन्छ । किनेर नबेची राख्नु कारोवार भन्दा बढी लगानी हो । लगानीसँग आवधिक मुनाफा जोडिएको हुन्छ । यदि मुनाफा पनि प्राप्त हुदैन र बेचिदैन भने त्यो सेयर न लगानी न त कारोवार नै हो ।

सेयरमा लगानी गर्ने हरेक ब्यक्तिका आ–आफ्नै तौर तरिका हुन्छन् । जसले जे जानेको वा सुनेको हुन्छ उसको कारोवार ब्यवहार सोही मुताविक भईरहेको हुन्छ । सेयर किन्ने बढी र बेच्ने कम हुन्छन् । बिभिन्न कम्पनीका प्राथमिक निश्काशन मार्फत जारी भएका सवै सेयर संख्या दाश्रो बजारमा कारोवारमा नदेखिनुले त्यो कुरा प्रष्टिन्छ ।

सेयरमा लगानी गर्ने भन्ने कुराले लगानीकर्ताको मनोविज्ञानमा के कुराको छाप परेको छ भने सेयर त किन्ने हो बेचिहाल्ने हैन । पैसाको निकै खाँचो परेमात्र बेच्ने हो भन्ने छ । यहाँ एक किसिमको यस्तो मनोवैज्ञानिको प्रभाव छ कि लगानी गर्ने भनेको पैसा हाल्ने हो, पैसा झिक्ने होईन । तर वास्तबमा लगानी भनेको पैसा हाल्ने (किन्ने) मात्र होईन पैसा निकाल्ने (बेच्ने) पनि हो ।

बजारमा उत्कृष्ट लगानी गर्ने र पैसा कमाउन सिकाउने बिज्ञको कमी छैनन् । उनीहरु भनिरहेका हुन्छन् कि बिभिन्न धितोपत्रमा पैसा बाँडेर लगाउ, लागत कम गर, अनुशासित बन, धैर्य होउ, पोर्टफोलियो बिबिधिकरण गर आदि । तर, यो भनेजस्तो सजिलो गर्न भने छैन ।

सवै भन्दा गाह्रो त यहाँ किनेको सेयर बेच्नमै छ । शेयर नाफामै छ तैपनि बेचेपछि अझै बढ्ने पो हो कि भन्ने लोभ हावी हुन्छ । अहिले बेची हाल्यो भने नाफा कम भइहाल्छ कि भन्ने लोभले मनमा हुटहुटी भइरहन्छ । घाटामा छ भने पनि घाटा खाएरै त के बेच्नु बरु होस् पछि बढेपछि बेचौला भनेर बेच्न सकिहरेको हुदैन ।

 

नाफामा छ भने पनि वास्तावमा कति नाफा भए पछि बेच्ने त ? नाफा बुक गर्ने कि, लगानी मात्र उठाउने ? बेचेको पैसा केमा पुनः लगानी गर्ने ? आखिर त्यही सेयर किन्ने हो भने किन पो बेच्नु पर्याे ? यही छदैछ नि जस्ता कुराले धेरै लगानीकर्ताले सेयर बेच्न नसको देखिन्छ र अहिले घाटाको पोर्टफोलियो बोकेर चिन्तित भईरहको देखिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।