मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Mar 30, 2023 06:24 AM Merolagani



मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ। कम्पनीले २०७८ असोज १४ गतेदेखि व्यवसायीक उत्पादन सुरु गरिसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।