भाइरल बनेको यात्रीको फाेटाेबारे कम्पनीकाे स्पस्टीकरण,"त्याे फाेटाे परीक्षणकालकाे हाे"

May 22, 2023 07:02 PM Merolagani



नेपाली उत्पादन यात्री मोटरसाइकलको एउटा फोटो यतिबेला सामाजिक संजालभरी छताछुल्ल छ । भाइरल बनेको उक्त फोटो पोष्ट गर्दै नेपाली उत्पादनबारे मजाक उडाउनेदेखि अनेक टिप्पणी भइरहेको छ ।

चर्चित बनेको उक्त तस्बिरमा यात्री मोटरसाइकल चलाइरहँदा च्यासिस भाँचिएको देखाइएको छ । तर यात्री कम्पनीले भने उक्त तस्बिर हालको नभएर परीक्षणकालको रहेको स्पष्ट पारेको छ ।

सोमबार कम्पनीले फेसबुकमार्फत परिवेश नै नबुझी सामाजिक सञ्जालमा माेटरसाइकल भाँचिएको फोटो भाइरल बनेको बताएको छ । यसैगरी, कम्पनीले उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्ने गरेको समेत खुलाएको छ । आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल बनेको कम्पनीको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले हाल भाइरल भइरहेको फोटो परीक्षण बाइकको रहेको बताउँदै आफ्नो उत्पादनहरूमा कुनै समस्या नभएको बताए।

सामाजिक संजालमा यात्री मोटरसाइकलको गुणस्तर तथा विश्वसनियताबारे प्रश्न उठाएका छन्। यद्धपी कम्पनीले भने साे भ्रम रहेकाे र कम्पनी उपभोक्ता र यात्रीको सुरक्षाप्रति सचेत र सतर्क रहेकाे बताएकाे छ ।

यात्रीका तर्फबाट उक्त पाेष्टमा लेखिएकाे छ,"परिस्थितिको सन्दर्भ बिना नै इन्टरनेटमा तैरिरहेका चेसिसका केही तस्बिरहरू छन्। पुनरावृत्ति र नयाँ डिजाइनको एक भागको रूपमा, हामी यात्रीमा लगातार नयाँ भागहरू र प्रणालीहरूको परीक्षण गर्छौं।आन्तरिक परीक्षण कार्यक्रमको एक भागको रूपमा, हाम्रो परीक्षण इन्जिनियरले प्रमाणीकरण उद्देश्यको लागि नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेको थियो जुन त्यति राम्रोसँग समाप्त भएन। "




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।