नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन गर्नु अघि कस्तो छ ? हेरौं

Jun 09, 2023 11:29 AM Merolagani

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (जेठ २६ गते) देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन पश्चात सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार ३०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता शेयर छुटाएको थियो । कर्मचारीलाई कुल शेयर मध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुति कर्तामा लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड आईआरएन बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई २०७९ असोज ३० गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० असोज २५ गतेसम्म कायम हुनेछ ।

कस्तो कम्पनी हो?

नेपाल रिपब्लिक मिडिया लिमिटेड, २०६५ साउन २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७८ असार ७ गते देखि पब्लिक कम्पनीमा परिणत भएर कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय र कारोबार गर्ने मुख्य स्थान दुबै काठमाडौं महानगरपालिका वडा नं. ११, जेडिए कम्पलेक्स, सुन्धारा, काठमाडौंमा रहेको छ ।

कम्पनीले २०६६ बैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरु प्रकाशन गर्न शुरु गरेको थियो । कम्पनीले छापा पत्रकारीतासँगै डिजिटल पत्रकारीतालाई पनि उत्तिकै महत्व दिएको जनाएको छ ।

कम्पनीले आफ्नो क्षेत्रिय छापाखाना सहितको कार्यालय स्थापना गरी बिराटनगर, नेपालगञ्ज, बुटवल र पोखराबाट समेत आफ्ना प्रकाशनहरु प्रकाशन गरी स्थानिय संस्करण सहितको नेपालकै सबै भन्दा ठूलो आफ्नै प्रेस नेटवर्क भएको मिडिया हाउसको रुपमा स्थापित गरिसकेको दाबी गरेको छ ।

कम्पनीको खुद वर्तमान मूल्य १० करोड ५१ लाख ९९ हजार २९८ रुपैयाँ रहेको छ । कम्पनीको साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.३२ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ । 

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड २२ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ४३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ९६ करोड ७५ रुपैयाँ पुर्याउन शेयर निष्काशन गर्नु परेको जनाएको छ ।

कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको ४३ करोड ५३ लाख रुपैयाँ मध्ये २ करोड रुपैयाँ अत्याधुनिक प्रविधियुक्त मिडिया बह निर्माण गर्न, २ करोड ५० लाख रुपैयाँ पत्रकारको क्षमता तथा खोजमूलक पत्रकारिताको श्रोत साधनको वृद्धि र कम्पनीको पुनर्सरचना गर्न, ४ करोड रुपैयाा छपाई केन्द्र स्थान्तरण गर्न तथा आवश्यक संरचना निणर्ण गर्न खर्च हुने जनाएको छ ।

यस्तै १ करोड ८० लाख रुपैयाँ सभा सम्मेलन गर्ने वा सहजीकरण सेवा प्रदान गर्न सम्पत्ति खरिद गर्न, ७० लाख रुपैयाँ हालको सम्पत्तिको स्तरवृद्धि गर्न, ३० करोड ८६ लाख ४५ हजार ३०१ रुपैयाँ कर्जा भुक्तानी गर्न र १ करोड ६६ लाख ५४ हजार ६९९ रुपैयाँ कार्यशील पूँजीमा उपयोग हुने कम्पनीले जनाएको छ ।

दुई वर्षसम्म पनि साढे ३१ करोड बढी नोक्सानीमा हुने

आर्थिक वर्ष २०८१/८२ सम्ममा पनि कम्पनी ३१ करोड ६४ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहने प्रक्षेपण रहेको छ ।

चालु आर्थिक वर्ष अर्थात २०७९/८० को अन्त्यसम्ममा पनि कम्पनी ४६ करोड ३५ लाख ५८ हजार रुपैयाँ नोक्सानीमा प्रक्षेपण रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी ५१ करोड ८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ७६ पैसा पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०८१/८२ सम्ममा पनि कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा पुग्ने अनुमान रहेको छ ।

पूँजी संचरना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस्तै चुक्ता पूँजी ५३ करोड २२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले सर्वसाधारणहरु (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कर्मचारी तथा सामुहिक लगानी कोष सहित) को लागि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ९६ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५५.००७८ प्रतिशत र सर्वसाधारणको ४४.९९२२ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ५ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ४ जना मात्रै सञ्चालक समितिमा रहेका छन् । सर्वसाधारणलाई शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि प्रबन्धपत्र अनुसार सञ्चालक चयन हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा विनोदराज ज्ञवाली रहेका छन् । यस्तै कम्पनीका अन्य सञ्चालकहरुमा शोभा ज्ञवाली, अन्जन कुमार दाहाल, रोमनाथ घिमिरे रहेका छन् । घिमिरे स्वतन्त्र सञ्चालक हुन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ ।

कम्पनीले कोभिड १९ महामारी पछिको समयमा पूर्णरुपमा संचालन हुन नसकेका कार्यहरुलाई पूर्णरुपमा संचालन गर्ने, स्वतन्त्र तथा निष्पक्ष पत्रकारितालाई प्रवर्दन गरी जनमानसमा सत्यतथ्य जानकारी तथा सूचना पर्‍याउनका आफ्नो अमूर्त सम्पत्ति तथा पत्रकारहरुको क्षमता अभिवृद्धिमा थप लगानी गर्दै लैजाने योजना बनाएको छ ।

कम्पनीले छपाई कार्यलाई थप स्थानिय तहमा बिस्तार गर्न कम्पनीले सार्वजनिक निष्काशन समाप्त पश्चात केही छपाई केन्द्र थप गरी बिस्तार गर्ने, छपाई कार्यलाई थप आधुनिकरण गर्दै प्रविधि मैत्री बनाउदै लैजाने र सोको लागि आवश्यक श्रोत तथा साधन सार्वजनिक निष्काशनबाट संकलित रकमबाट व्यवस्था गर्ने पनि जनाएको छ ।

कम्पनीले आफ्नै जग्गामा पत्रकारिता सम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने आधुनिक बहुद्देश्यीय भवन निर्माण गर्ने र उक्त भवनमा अन्य संस्थाका पत्रकारले समेत कार्य गर्न तथा उपयोग गर्न सक्नेगरी व्यवस्था गरिने जनाएको छ ।

अंग्रजी पाठकका बिचमा निकै लोकप्रिय रहेको रिपब्लिका अंग्रेजी दैनिक २०८० जेष्ठदेखि प्रकाशन गर्ने रणनीति बनाएको छ । जसका लागी कम्पनीले आवश्यक जनशक्ति पहिचान लगायतका काम सुरु गरिसकेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।