ब्रोकर र लगानीकर्ताको टिएमएसमा बैंक खाता जोड्नु पर्ने माग, नेप्से भन्छ-'नियम छैन'

Jul 10, 2023 06:14 AM Merolagani

लगानीकर्ता र ब्रोकर कम्पनीहरूले शेयर कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैंक खाता जोड्नु पर्ने माग गर्दै आएको निकै समय भयो। तर अहिलेसम्म उक्त विषयले निकास पाउन सकेको छैन।

जसले गर्दा पछिल्लो समय ब्रोकर कम्पनीहरूको उधारो चुलिँदै जाँदा व्यवसाय नै चलाउन समस्या पर्दै गइरहेको बताउँछन्। उधारोमा शेयर किन्न पाउने व्यवस्थाकै कारण अहिलेसम्म बैंकलाई टिएमएसमा जोड्न सकिएको छैन। त्यसको लागि धितोपत्र बोर्ड र नेप्सेले गम्भीरतापूर्वक लिनु पर्छ। उनीहरूले पहल नगरी उक्त समस्या हट्दैन। तर धितोपत्र बोर्ड र नेप्सेले भने उक्त कार्य गर्न कुनै चासो दिएका छैनन्।

“शेयर बजार बढ्ने बित्तिकै लगानीकर्ताहरू शेयर किन्न तम्सिन्छन्। शेयर किन्न तम्सिएका लगानीकर्ताले भनेकै आधारमा उनीहरूलाई हामीले लिमिट दिन्छौ। तर शेयर बजार बढेको बेला आफ्नो क्षमता भन्दा बढी शेयर लगानीकर्ताले किनिदिन्छन्। जब सेटलमेन्ट गर्ने दिन आउँछ लगानीकर्ता फोन स्विच अफ गरेर बसिदिन्छन्। न त उनीहरूले किनेको शेयर तत्कालै बिक्री नै गर्न मिल्छ, बाध्य भएर हामीले आफै पैसा तिरेर सेटल गर्नु पर्ने हुन्छ। यस्तो अवस्था अहिले मात्रै होइन धेरै पटक आउँछ। तर त्यसको समाधान अहिलेसम्म हुन सकेको छैन,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

उनका अनुसार यसको समाधान भनेकै बैंकसँग टिएमएस जोड्नु नै हो। टिएमएसमा बैंक जोडियो भने बैंकमा जति रकम छ त्यतिकै मात्रै शेयर किन्न पाइने अवस्था हुने थियो। आफ्नो क्षमता भन्दा बढी शेयर किन्ने आट पनि लगानीकर्ताले गर्ने थिएनन्। जसले सबै समस्याको समाधान गर्छ।

तर शेयर कारोबारको लागि टिएमएस उपलब्ध गराउने नेपाल स्टक एक्सचेन्ज भने अहिले कै अवस्थामा बैंक जोड्न नसकिने बताउँछ। उसका अनुसार कारोबारको नियममै लगानीकर्तासँग २५ प्रतिशत रकम लिएर ७५ प्रतिशत थप रकमको शेयर किन्न दिनु भन्ने नियम छ। जसले गर्दा जति बैंकमा रकम छ। त्यति नै रकमको मात्रै शेयर किन्न दिँदा नियम विपरीत हुन जान्छ। जसले गर्दा टिएमएसमा अहिले नै बैंक जोड्न नसकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।

तर बजारबाट तीव्र माग बढ्दै गएमा भने आउने दिनमा नियम परिवर्तन गरेर उक्त व्यवस्था कार्यान्वयनमा लान भने कठिनाइ हुँदैन। प्राविधिक विषयमा नेप्सेले उक्त काम गर्न सक्ने भएपनि नियमको विषयमा भने धितोपत्र बोर्डले नै उक्त नियम परिवर्तन गर्न स्वीकृति दिनु पर्ने पराजुलीको भनाई छ।

तर बैंकसँग टिएमएस जोड्ने विषय धितोपत्र बोर्डको नभएर नेप्सेकै क्षेत्राधिकार भित्र पर्ने बोर्ड बताउँछ। यदि नेप्सेलाई टिएमएसमा बैंक जोड्न कानुन व्यवधान भएको भए उसले उक्त गाँठो फुकाउन बोर्डलाई अनुरोध गर्न सक्छ। उसको अनुरोधमा बजारको आवश्यकता हेरी बोर्डलाई उक्त गाँठो फुकाइदिन कुनै कठिनाइ नहुने बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन्। तर पहल भने बजार सञ्चालकले नै गर्नु पर्ने छ।

यता लामो समयदेखि लगानीकर्ताले समेत टिएमएसमा बैंक जोड्नु पर्ने माग गर्दै आइरहेका छन्। तर लगानीकर्तामा पनि दुई किसिमका तर्क आउने गरेका छन्। एकथरीले टिएमएसमा बैंक खाता जोड्दा बजार पारदर्शी हुने तर्क गर्छन् भने अर्काथरी अहिले उपभोग गर्दै आइरहेको उधारो सिस्टम हट्ने भएकोले गर्दा त्यसो गर्न नहुने तर्क गर्छन्। यिनै तर्क वितर्ककाबीच अहिलेसम्म टिएमएसमा बैंक जोडिन सकेको छैन। तर बजारका लागि टिएमएस जोड्नु नै राम्रो हुने देखिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।