अपर तामाकोशीको हकप्रद भर्न डिम्याट खाता खोल्नेको भिड,अनलाइन भन्दा फारम भर्ने धेरै

Sep 18, 2023 06:14 PM merolagani



अपर तामाकोशीको हकप्रद भर्न डिम्याट खाता अनिवार्य रहेको भन्दै डिम्याट खाता खोल्नेको भिड देखिएको छ। अहिलेसम्म प्रमाण पत्र मात्रै रहेका शेयरधनीहरूले एकै पटक डिम्याटको लागि आवेदन दिएपछि भिड बढेको हो।

यति बेला तामाकोशीको हकप्रद निष्कासनमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरिरहेको छ। हकप्रदका लागि डिम्याट खाता खोल्न पनि सर्वसाधारण क्यापिटलमै गइरहेका छन्। अन्य ठाउँमा खाता खोले पनि हुने अवस्थामा पनि शेयरधनी भने क्यापिटल नै पुगिरहेका छन्। क्यापिटलका अनुसार यति बेला दैनिक जसो पाँच सय भन्दा बढी मानिसले डिम्याट खाता खोल्दै हकप्रदमा आवेदन दिइरहेका छन्।

हुन त हकप्रद भर्नकै लागि डिम्याट खाता नै हुनु पर्ने भनेर अनिवार्य गरिएको छैन्। तर सर्वसाधारण शेयरधनीले भने खाता नभए शेयर नै भर्न नपाइने भन्ने बुझेर खाता खोलिरहेका छन्। डिम्याट खाता खोल्दा शेयरधनीलाई नै सजिलो हुने हो। तर हकप्रद भर्नकै लागि डिम्याट खाता अनिवार्य नरहेको क्यापिटलले जनाएको छ। “डिम्याट खाता नहुनेले शेयर भर्न पाउँदैनन् भन्ने हल्ला चलेको रहेछ। त्यस्तो होइन खाता नहुनेले पनि फारम भरेर हकप्रदमा निवेदन दिन सक्छन्। तर त्यसमा यस अघिको जस्तो प्रमाणपत्र नै प्रिन्ट गरेर दिइने छैन्। जुन दिन डिम्याट खाता खोलिन्छ त्यही दिन खातामा शेयर दाखिला गरिने छ। डिम्याट नभएकै आधारमा हकप्रद भर्न नपाइने भन्ने विषय मिथ्या हो,” सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले मेरो लगानीसँग भने।

श्रेष्ठका अनुसार क्यापिटलमा दैनिक पाँच सय भन्दा बढी मानिसहरू आइरहेका छन्। क्यापिटलमा आउने धेरै जसोले भौतिक फारम नै भरिरहेका छन्। जबकि मेरो शेयर मार्फत अनलाइन नै तामाकोशीको शेयरमा आवेदन दिन सकिन्छ। अर्कोतर्फ दोलखाका स्थानीयबासी हकप्रद भर्नकै लागि भनेर काठमाडौँ आइरहेका छन् भने काठमाडाैंमा बसोबास गर्नेहरू क्यापिटल पुग्ने गरेका छन्। जबकि दोलखाका स्थानीयलाई सजिलो होस् भनेर २८ वटा सङ्कलन केन्द्र दोलखामा मात्रै राखिएको छ। आम सर्वसाधारण शेयरधनीलाई सो विषय बुझाउन सकिएको छैन। अर्को अचम्म लाग्दो कुरा के छ भने डिम्याट खाता हुने केहीले समेत भौतिक फारम नै भरिरहेका छन्।

एकै दिन सयौँको सङ्ख्यामा डिम्याट खाता खोल्ने र भौतिक फारम भर्ने क्यापिटलमा ओइरिएपछि त्यसलाई व्यवस्थापन गर्न क्यापिटललाई हम्मे हम्मे परिरहेको बताइएको छ।

 तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। निष्कासनमा असोज ७ गतेसम्म आवेदन दिन सकिन्छ। निष्कासन बन्द हुने मिति नजिकिँदै जाँदा भिड पनि त्यही अनुसार बढ्दै गइरहेको बताइएको छ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।