आकर्षक लाभांश घोषणा पछि बढ्नुकाे साटाे उल्टै घट्यो वाणिज्य बैंकको शेयर मूल्य

Sep 19, 2023 06:38 AM MeroLagani

गत साता ४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेसनले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

अहिलेसम्म माछापुच्छ्रेसहित ५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा पछिको शेयर मूल्य भने झन झन गिर्दो अवस्थामा रहेको छ। एभरेष्ट बैंकले १०% बोनस र १०.५३% गरी कुल २०.५३% लाभांश घोषणा गरेको थियो । बैंकले गत बुधबार कारोबार समयपछि लाभांश घोषणा गरेको हो । बिहीबार सार्वजनिक बिदापछि एकैचोटी आइतबार मात्रै शेयर कारोबार भयो । बुधबार बजार बन्द हुने बेला एभरेष्ट बैंकको शेयर मूल्य ६ सय २६ रुपैयाँ ७० पैसा रहेकोमा आइतबार ६.४८ प्रतिशतले घटेर ५८६.१० रुपैयाँमा बजार बन्द भयो भने सोमबार पनि थोरै अंकले घटेर ५८३ रुपैयाँमा बजार बन्द भयो । लाभांश घोषणापछि मात्रै एभरेष्ट बैंकको शेयर मूल्य ४३ रुपैयाँ ७० पैसाले घटिसकेको छ ।

एनआइसी एसिया बैंकले आइतबार २९% बोनस शेयर र १.५२% नगद गरी ३०.५२% लाभांश घोषणा गर्यो । बैंकले पुँजी कोष पुर्याउन नसक्दा राष्ट्र बैंकले गएको दुई वर्ष लाभांश बाँड्न रोक लगायो । यस आधारमा बैंकले ३ वर्षको नाफाबाट ३० दशमलब ५२ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईसी एसिया बैंकले आकर्षक लाभांश बाँडेको जस्तो देखिए पनि लगानीकर्ता भने यो बैंकको शेयरमा खासै आकर्षित भएको देखिएन । बैंकको शेयर गत बुधबार कारोबार हुँदा ८ सय १९ रुपैयाँमा भएको थियो । बैंकको आइतबार कारोबार हुँदा इन्ट्रा डेमा ८ सय ५२ रुपैयाँसम्ममा कारोबार भए पनि अन्तिममा ५ रुपैयाँले घटेर ८ सय १५ रुपैयाँमा कारोबार भयो भने सोमबार पनि ८ रुपैयाँ १० पैसाले घटेर ८ सय ५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भयो । ३०.५२ प्रतिशतले लाभांश घोषणा गर्दा पनि बैंकको शेयर दुई दिनमा १३ रुपैयाँ १० पैसाले घटेको छ । पछिल्लो समय लगानीकर्ताले बोनस शेयर भन्दा पनि नगद लाभांशलाई नै रुचाएको देखिएको छ । मन्दीका कारण नगदको अभाव रहेका कारण धेरै लगानीकर्ताले नगद नै रुचाएको यसले देखाएको छ । पछिल्लो समय केही लगानीकर्ताले सामाजिक सञ्जालहरुमा बोनस शेयर भनेको वास्तविक लाभांश नभएको भन्दै क्याम्पेन नै चलाइरहेका छन्, त्यसको असरस्वरुप पनि बोनस घोषणा गरे पनि कम्पनीको शेयर मूल्य घटेको ती लगानीकर्ताको विश्लेषण रहेको छ ।

सानिमा बैंकले ९% बोनस र ५.७% नगद गरी १४.७ % लाभांश घोषणा गरेको छ । गत वर्ष पनि सानिमा बैंकले १० प्रतिशत बोनस र शून्य दशमलब ९८ प्रतिशत नगद लाभांश गरेर १०.९८ प्रतिशत लाभांश प्रदान गरेको थियो । कम्पनीले हरेक वर्ष स्थिर रुपमा १० देखि १५ प्रतिशतको हाराहारीमा लाभांश बाँड्दै आएको छ । सानिमा बैंकको पनि लाभांश घोषणापछि शेयर मूल्य १३ रुपैयाँ ९० पैसाले घटेको छ । गत बुधबार ३ सय १ रुपैयाँ ९० पैसामा कारोबार भएकोमा आइतबार १२ रुपैयाँ ४० पैसा र सोमबार १ रुपैयाँ ५० पैसाले घटेर कारोबार बन्द हुने बेला २ सय ८८ रुपैयाँ मात्रै शेयर मूल्य पुगेको थियो ।

सिटिजन्स बैंकले गत वर्ष जस्तै ५ दशमलब ७९ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको छ । गत बुधबार १ सय ९१ रुपैयाँ ४० पैसामा कारोबार भएकोमा आइतबार लाभांश घोषणापछि १० रुपैयाँ ५० पैसा घटेर १ सय ८० रुपैयाँ ९० पैसामा कारोबार भयो भने सोमबार भने बैंकको शेयर मूल्य १ रुपैयाँ १० पैसाले बढेर १८२ रुपैयाँमा कारोबार भयो । यो बैंकको शेयर लाभांश घोषणापछि ९ रुपैयाँ ४० पैसाले घटेको छ ।

यसअघि माछापुच्छ्रे बैंकले १३.३% बोनस र ०.७% नगद गरी १४% लाभांश घोषणा गरेको थियो । लाभांश घोषणा गरेको दिन २ सय ७५ रुपैयाँ ९० पैसा रहेको बैंकको शेयर मूल्य पछिल्लो समय लगातार घटिरहेको छ । लाभांश घोषणा पछि लगातार घटेर २५९ रुपैयाँ २० पैसासम्म घटेको कम्पनीको शेयर त्यसपछिका दिनमा भने केही बढेको थियो । सोमबार बजार बन्द हुने बेलामा कम्पनीको शेयरको अन्तिम कारोबार २ सय ६६ रुपैयाँमा भयो । लाभांश घोषणा गरेको दिनदेखि गणना गर्दा बैंकको शेयर मूल्य ९ रुपैयाँ ९० पैसाले घटिसकेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन लेन्डिङ गर्दा ५० लाख रुपैयाँसम्मको ऋण १ सय प्रतिशत गरेपछि त्यसले लगातार बजारलाई प्रभावित बनाउँदै लगेको थियो । असोज महिनाको लागि केही बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याज दरमा वृद्धि गरेपछि भने झनै मार्केटमा गिरावट आयो । यसको असरस्वरुप लाभांश घोषणा गरेको वाणिज्य बैंकहरुको शेयर मूल्य पनि घट्न गएको एक लगानीकर्ताले बताए । अर्थमन्त्री प्रकाशशरण महतले व्याजदर घट्ने प्रक्षेपणसहित स्थानीयस्तरमा जाने रकमको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो त्यसले बैंकको निक्षेपको व्याज दर घट्ने विश्वास सबैले गरेका थिए । अर्थमन्त्रीको प्रक्षेपण विपरित बैंकहरुले निक्षेपको व्याज दर बढाउँदै गर्दा त्यसले बजारमा नकारात्मक असर पुर्याएको ती लगानीकर्ताको दाबी छ ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।