यसकारण बढ्ने भयो शेयर बजार

Sep 21, 2023 06:17 AM Merolagani

निरन्तर ओरालो लागेको शेयर बजार पुनः उकालो लाग्न सुरु गरेको छ । सोमबार झिनो ४.२६ अंकले बढेको बजार मंगलबार १६.२४ अंकले उकालो लाग्यो ।

सोमबार भन्दा मंगलबार करिव ४ गुणाले नेप्से बढ्नुलाई लगानीकर्ताले बजार बढ्ने ‘संकेत’ को रुपमा लिएका छन् । निरन्तर ओरालो लाग्दै गएको बजार सोमबार थामिनु र मंगलबार दाहोरो अंकले बृद्धि हुनुलाई सकारात्मक संकेत लिइएको एक लगानीकर्ताले बताए ।

नेपाल राष्ट्र बैंकले १२ करोडको सिमा हटाउने तयारी गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत, सांसद हरि ढकाल तथा लगानीकर्ताहरुले समेतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई १२ करोडको ‘क्याप’ हटाउन दबाब दिएका छन् । गभर्नरले पनि उक्त क्यापमा लचिलो हुने संकेत देखाएका छन् ।

यसैगरी, बैंकमा लगानीयोग्य रकम प्रयाप्त मात्रमा छ । बैंक तथा वित्तीय संस्थासँग अहिले पनि करिव ४ खर्ब २८ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । त्यसरी थुप्रिएको रकम बैंकले बिभिन्न क्षेत्रमा लगानी गर्दै जादाँ शेयर बजारमा पनि आउने भएकाले बजार बढ्ने नै देखिन्छ ।

साथै, अहिले शेयर बजार न्यूनतम बिन्दुमा आएको छ । ३२०० नजिक पुगेको नेप्से १९८५‍.४३ अंकमा आइपुगेको छ ।

नेप्से न्यूनतम बिन्दुमा आइपुगेको मौकामा शेयर खरिद गर्दा फाइदा हुने देखिएपछि नयाँ लगानीकर्ता प्रवेश गर्न थालेकाले पनि शेयर बजार बढ्न थालेको लगानीकर्ताहरुको भनाइ छ ।

अर्कोतर्फ यति बेला धमाधम बैंक तथा वित्तीय संस्थाले लाभांश दिन थालेका छन् । उक्त लाभांश हात पार्न पनि लगानीकर्ताहरु शेयर किन्न थालेका छन् ।

बैंकहरुले शेयर धितो कर्जामा लोन दिन थालेकाले पनि शेयर बजार बढ्न पुगेको लगानीकर्ताहरुको भनाइ छ । दसैं तिहार अघि नै बैंकहरुले ऋण दिन थालेकाले पनि शेयर बजार केही बढ्ने आंकलन गरिएको हो ।

यस वर्षकै ठूला चाडपर्वहरु दसैं, तिहार र छठ संघारमा नै आइपुगेका छन् । दसैं, तिहार, छठलगायतका पर्वमा अर्थतन्त्र चलायमान हुने अर्थविद् केशव आचार्यले बताउँछन् । ‘एउटा परिवारले एक वर्षमा जति खर्च गर्ने हो, मोटामोटी ४० प्रतिशत दसैं, तिहार र छठमा खर्च गर्छ,’ उनले भने, ‘औसतमा एक जना मानिसले १५ असोज अन्तिमदेखि कात्तिक अन्तिमसम्मको यो एक महिनाको बीचमा वर्षभरीमा खर्च गर्ने रकमको ४० प्रतिशत खर्च गर्छ ।’

यसपालीको दसैं सुरु भइसकेको छ । दसैंको मुखमा ‘अटो शो’ भएको छ । त्यसमा सयौं कार तथा हजारौं मोटरसाइकलहरु ‘बुक’ भएका छन् ।

यता, बजारमा मानिसहरुले सुनका गरगहना धमाधम किनिरहेका छन् । त्यस्तै खसी, च्याङग्रा, बोका, सुगुर, रागा, कुँखुरा, हाँस, लौकासमेतको यतिबेला प्रशस्त माग हुन थालेको छ ।

अहिले पनि धेरै मानिसहरुले आफ्नो घर भएको शहरमा काम गरिरहेका छैनन् । बाहिरका मानिसहरु काठमाडौंमा काम गरिरहेका छन् । काठमाडौं बाहेक पनि नेपालगन्ज, बुटबल, भैरहबा, पोखरा, नारायणगढ, हेटौडा, बिराटनगर, बीरगन्ज, जनकपुरतिर पनि काम गरिरहेका छन्् ।

दसैंको बेलामा स्कूल पनि तिहारसम्म बिदा हुन्छ । त्यसैले त्यतिबेलासम्म शहरमा जागिर खाने मानिसहरु श्रीमति, छोरा छोरी लिएर आफ्नो मूल घर वा बुबा आमा बसेको ठाउँमा जान्छन् । यसरी जाते आतेमा पनि निकै खर्च हुन्छ ।

कतिपय मलेशिया, कतार, साउदी अरेबियामा बसेका मानिसहरु दसैंमा नेपाल आउछन् । हवाइ जहाजबाट जाने आउने गर्नमा नै उनीहरुले ५० देखि १ लाख खर्च गर्छन् ।

यतिबेला धेरै खर्च हुने गर्छ । खसी बोका छुट्टाउने, कुखुँराको भाले, हाँस त्यो सबै जोडेर वर्षभरीमा हुने कुल खर्चको ४० प्रतिशत खर्च यतिबेला नै हुन्छ ।

यतिबेला मुद्रा प्रचलनको बेग एकदम तिब्र हुन्छ । अरुबेला खल्तीमा भएको पैसा केही दिन बस्छ तर यो बेलामा पेश्की आयो, पैसा आयो भने इन्द्रचोक, असन गइहाल्ने गर्छ । अथबा खसी बजार जाने गर्छ । व्यापारीले पनि त्यो पैसा लगेर अरु के के सामान चाहिने हो त्यो मगाउने काम गर्छन् ।

पैसा धेरै बेर रहदैन् । दसैंदेखि तिहारसम्ममा अरु बेलामा भन्दा पैसा बढी चाहिन्छ । एउटाको हातबाट अर्कोको हातमा र अर्कोको हातबाट पनि अर्कोमा पैसा तिब्र बेगमा चलिरहेको हुन्छ । यसले अर्थतन्त्र चलायमान बनाउँछ ।

यसरी चलायमान भएको पैसा शेयर बजारमा आउने भएकाले पनि शेयर बजार बढ्नुको बिकल्प नभएको शेयर विश्लेषकको भनाइ छ ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।