कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र २ प्रतिशतले हुन आउने १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको १ लाख ९५ हजार ३०० कित्ता शेयर सहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले निष्काशन गरेको आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ।
कति कित्ता आवेदन दिन?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल ८५ हजार ९३० आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ता मात्र आवेदन दिए पनि पुग्ने देखिन्छ।
औषत जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गनेए क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।
इक्रा नेपालले कम्पनीलाई २०७९ फागुन १ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० फागुन १ गतेसम्म बहाल रहनेछ।
कस्तो कम्पनी हो?
चिरख्वा हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ पुस २७ गते दर्ता भई २०७६ असार २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडको रुपमा परिणत भई चिरख्वा हाइड्रोपावर लिमिटेडको रुपमा दर्ता अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो।
कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ घट्टेकुलोमा रहेको छ भने आयोजना स्थल (जलविद्युत केन्द्र) भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १, २ र ३ मा रहेको छ ।
कम्पनीको भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १ स्थित ४.७ मेगावाटको चिरख्वा खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७३ असार १२ गते सम्झौता भएको थियो। उक्त सम्झौताको समयावधी व्यापारिक उत्पादन शुरु हुने मितिले ३५ वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि मध्ये जुन कम छ सो समयसम्म कायम रहनेछ ।
सो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको कार्य प्रगति ९८% सम्पन्न भइसकेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ।
प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरीद बापत वर्षा याममा प्रति किलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र सुख्खा याममा प्रति किलोवाट घण्टा ८ रुपैयाँ ४० पैसा विद्युत खरीद दरले हुन आउने रकम कम्पनी अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउने छ। साथै व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागु हुने गरि प्रत्येक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले पाँच पटकसम्म मूल्यबृद्धि दिई विद्युत उर्जा खरीद दर कायम गरिएको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको १० प्रतिशत आयोजना प्रभावित क्षेत्र षडानन्द नगरपालिकाका १ देखि ६ नं. वडा का स्थायी रुपमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि तथा तत्पश्चात् सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशत अर्थात ८ लाख कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरी कम्पनीको पूँजी पु¥याउनु आईपीओ निष्काशन गर्नुको मुख्य उद्देश्य रहेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
निष्काशनबाट आएको रकम आयोजनाको उर्जा बृद्धि तथा कर्जा भुक्तानीका लागि प्रयोग गरिनेछ।
कम्पनीले आईपीओ निष्काशन गरी संकलित रकममध्ये ७ करोड २० लाख रुपैयाँ ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ भने ४ करोड ८० लाख रुपैयाँ आयोजना निर्माण गर्दा कायम सिभिल कन्सट्रक्सन, ट्रान्समिसन, लाईन, कनेक्सन हब, हाइड्रोमेकानिकर, इलेक्ट्रो मेकानिकल, प्रशासन दायित्वहरु भुक्तानी गर्न प्रयोग गरिनेछ।
चालु आर्थिक वर्षमा २ करोड ७१ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७१ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा पुग्ने अनुमान गरिएको छ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८२ लाख ९५ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ७ पैसा हुने प्रक्षेपण रहेको छ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको सञ्चित मुनाफा १४ हजार २६७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १ पैसा रहेको छ।
पूँजी संरचना कस्तो?
हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ४० करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ।
आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ७० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको १० प्रतिशत, सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा कम्पनीमा ११ जना सञ्चालक रहने व्यवस्था रहेको छ। सोमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ७ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र सञ्चालक समितिको सिफरिसमा साधारण सभाबाट मनोनित स्वतन्त्र सञ्चालक २ जना रहने व्यवस्था रहेको छ।
हाल सर्वसाधारणका लागि शेयर निष्काशन नभएसम्म संस्थापकहरुबाट नै सञ्चालक समितिमा प्रतिनिधित्व गरिएको छ। सर्वसाधारणमा शेयर निष्काशनपछिको साधारण सभाबाट २ जना सञ्चालकहरु सर्वसाधारणको तर्फबाट निर्वाचित गरिनेछ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गेल्जे लामा रहेका छन्। कम्पनीको प्रबन्ध सञ्चालक दीपक राई रहेका छन् भने अन्य सञ्चालकमा केदार कार्की, डम्बर बहादुर कार्की, आङ दोर्जी लामा, वीर बहादुर राई, गणेशमान सिंह कार्की रहेका छन्। त्यस्तै, कम्पनीको स्वतन्त्र सञ्चालकमा महाड श्रेष्ठ र प्रचेत कुमार श्रेष्ठ रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको मूख्य भावी योजना अन्तर्गत हिउँदमा कम पानीको बहावबाट उत्पादन क्षमतामा हुन सक्ने कमिलाई ध्यानमा राखी चिरख्वा खोलाको पानी आयोजनाको हेडवर्कमा खसाली उत्पादन क्षमतालाई शत् प्रतिशतसम्म जलविद्युत आयोजनाको उत्पादन वृद्धि गर्ने रहेको छ। सो कार्यका लागि सर्वसाधारणका लागि शेयर बाँडफाँड भएको मितिले १ आर्थिक वर्ष भित्र सम्पन्न हुने कार्य योजना कम्पनीले बनाएको छ।
त्यस्तै, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेका जलस्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने, व्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीको अन्य भावी योजना रहेका छन्।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्से ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।