सोमबारको कारोबारमा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेपनि यस दिन सामुहिक लगानी कोष (म्युचुअल फण्ड) ले शेयर सप्लाई दिएनन्। उनीहरूले शेयर सप्लाई नदिए पनि खुद्रे लगानीकर्ताले अत्यधिक सप्लाई बढाउँदा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको माथिल्लो मूल्यबाट कारोबार सुरु भएको थियो। नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि तल्लो मूल्य ९६.१४ पैसा तोकेको थियो भने माथिल्लो मूल्य २८८.४२ तोकेको थियो। तर कम्पनीको कारोबार भने प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको थियो। सुरुवातमा त्यही मूल्यमा कारोबार भएपनि सोही मूल्यमा कम्पनीको शेयर टिकी रहन सकेन। अन्त्यमा ९.९९ प्रतिशतले घटेर २५९ रुपैयाँ ६० पैसामा बन्द भयो। एकै दिनमा कम्पनीले प्रति कित्ता २८ रुपैयाँ ८० पैसा गुमायो।
सोमबार कम्पनीका ३१ हजार तीन सय ७९ कित्ता शेयर कारोबार भए। तीन हजार एक सय ४५ कारोबारमा ८२ लाख ८४ हजार रुपैयाँ बराबरका शेयर किनबेच भएका हुन्। साधरणतया कम्पनीको पहिलो कारोबार दिन शेयरको मूल्य बढ्ने प्रवृत्ति हुने गर्छ। तर पछिल्लो समय शेयर बजार घट्दो क्रममा रहेका कारण सोमबार आईपीओ पाएका लगानीकर्ताले धैर्यता गुमाए। प्रति कित्ता एक सय रुपैयाँका दरले शेयर किनेका लगानीकर्ताले छोटो समयमै शत प्रतिशत मुनाफा पाएपछि उनीहरूले शेयर बिक्री चाप बढाए। जसका कारण कम्पनीको शेयर मूल्य लगातार खस्किन पुग्यो।
यसअघि प्राथमिक शेयरको सुरुवाती कारोबार दिन के कस्तो अवस्था रहन्छ भन्दै लगानीकर्ताले शेयर राख्ने वा बेच्ने निर्णय गर्ने गर्थे। म्युचुअल फण्डले दिने शेयर सप्लाइले पनि के कति दिन शेयर राख्ने भन्ने निर्णय लगानीकर्ताले गर्ने गर्थे। तर यस पटक भने म्युचुअल फण्डले शेयर बेच्न पाएनन्। जसले गर्दा आम लगानीकर्तालाई पनि शेयर राख्ने वा बेच्ने भन्ने दुबिधा पर्यो। जसले गर्दा धेरै जसोले सोमबार शेयर राख्ने भन्दा छोटो समयको मुनाफा लिने निर्णय गरे। जसका कारण कम्पनीको शेयर मूल्य खस्किन पुग्यो।
यसअघि म्युचुअल फण्डले नै सुरुवाती दिनमा शेयर सप्लाई दिएर मूल्य घटेको आरोप खेप्दै आएका कोषहरू सोमबारको कारोबारबाट भने चोखिएका छन्। सामूहिक लगानी कोषको सप्लाई भन्दा पनि सर्वसाधारण लगानीकर्ताले नै शेयर सप्लाई रोक्नु पर्ने अवस्था सोमबारको कारोबारले सिर्जना गरेको छ। यसैगरी सर्वसाधारण लगानीकर्ताले पहिलो दिन नै शेयर सप्लाई बढाउँदै लैजाने हो भने आउने दिनमा कम्पनीको मूल्यमा थप प्रेसर पर्ने छ।
खासगरी १० कित्ता शेयर पाउने लगानीकर्ताले नै शेयरको मूल्य निर्धारण गर्न सक्ने अर्को अवस्था सोमबारको कारोबारमा देखिएको छ। किनकि सोमबार जति पनि कारोबार भएका छन् । ती सबै १० कित्ताको मात्रै कारोबार भएका छन्। छिटफुट रुपमा अडलट कारोबार देखिए पनि सबै जसो कारोबार १० कित्ता मात्रै रहेको नेप्सेको फ्लोर सिटमा देखिन्छ।