नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Nov 26, 2023 11:40 AM Merolagani

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज (मंसिर १० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले कुल निष्काशनको २ प्रतिशत अर्थात २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल १ लाख १४ हजार १२५ आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुनेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इन्फोमेरिक्सले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई २०७९ पुस ६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० पुस ५ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड, नेपालको कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको किसान, अन्न सङ्कलक, मिलर, व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदाम सम्बन्धी आवश्यकताहरु पूर्ति गर्नका लागि स्थापना भएको कम्पनी हो। उद्योग विभागमा यस कम्पनीले सञ्चालन र निर्माण गरिरहेको मुख्य तथा शाखा उद्योगहरु सेवा उद्योगको रुपमा दर्ता भएको छ।

कम्पनीले २०७४ जेठ २९ गते प्रा.लि.को रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। २०७५ भदौ ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृती पत्र अनुसार प्रा.लि. बाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ९, सिनामङ्गलमा रहेको छ। कम्पनीको मुख्य शाखा सुनसरी जिल्ला, गढी गाँउपालिका वडा नं.२ मा रहेको छ। साथै शाखा युनिट –१ कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं.४, वीरपुरमा र शाखा युनिट–२ पर्सा जिल्ला, पर्सागढी नगरपालिका वडा नं. १ बिरुवागुठीमा रहेको छ। कम्पनीले सम्बन्धित निकायमा आवश्यकता अनुसार स्वीकृती लिई अन्य ठाउँमा समेत शाखा कार्यालय खोल्न सक्नेछ।

कम्पनीले लामो समयसम्म भण्डारण गरिएको खाद्यान्नको गुणस्तर कायम राख्न प्रदेश नम्बर १, मा रहेको मुख्य शाखा सुनसरी जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको वैज्ञानिक प्रविधिको साइलो जडान गरी २०७९ पुस ३० गतेदेखि सञ्चालनमा ल्याएको छ। कम्पनीले लुम्बिनी प्रदेश, शाखा नं. १ कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको परियोजना २०८० कात्तिक १५ गते निमार्ण सम्पन गर्ने लक्ष्य लिएको थियो। कम्पनीले २०८० भदौ १५ गतेदेखि मधेश प्रदेश, शाखा नं. २ पर्सा जिल्लामा २५ हजार मेट्रिक टन क्षमताको परियोजना निमार्ण सम्पन गरी हाल मेशिनरी तथा उपकरणहरुको परिक्षण गरिरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आईपीओ निष्काशन गर्नुको मुख्य उद्देश्य सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्नु र प्रवन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले आईपीओ निष्काशन गरी संकलित रकममध्ये ८ करोड ३० लाख ८४ हजार ५०० रुपैयाँ ठेकदार भुक्तानी तथा अन्य निर्माणमा खर्च गर्नेछ भने १ करोड ५० लाख रुपैयाँ मेसिनरी जडान, ५१ लाख २० हजार रुपैयाँ मेसिनरी ढुवानी खर्चको बिल भुक्तानी गर्न र ४८ लाख रुपैयाँ बिजुल, ल्याब तथा धर्म काटाको बाँकी काम गर्न प्रयोग गर्नेछ। त्यसैगरी, कम्पनीले ३० लाख रुपैयाँ पर्सा र कपिलवस्तुमा किल्नर तथा चिलर छोप्ने ट्रस सेड निर्माण गर्न, १ करोड २० लाख रुपैयाँ बल्कर ढुवानी ट्रक खरिद गर्न, २१ लाख रुपैयाँ एयर कम्प्रेसर लगायत खरिद गर्न र १ करोड २३ लाख ९५ हजार ५०० रुपैयाँ अन्य जडान तथा टेस्टीन गर्न प्रयोग गर्नेछ।

चालु आर्थिक वर्षसम्म नोक्सानीमा

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नो जगेडा कोष तथा सञ्चित नाफा ४ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ९६ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५२ पैसा रहने अनुमान छ।

कम्पनीले आगामी आर्थिक वर्षमा ६ करोड ९२ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण रहेको छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ७० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार स्वतन्त्र सहित ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ५ जना, स्वतन्त्र सञ्चालक १ जना र महिला सञ्चालक १ जना रहने व्यवस्था रहेको छ।

हाल यस कम्पनीमा संस्थापक समूहका शेयरधनीहरुबाट ४ जना सञ्चालक रहेका छन्। प्राथमिक सार्वजनिक निष्काशन पश्चात् आगामी वार्षिक साधारण सभाबाट नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको सदस्य तथा १ जना महिला सदस्य निर्वाचित गरिनेछ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आनन्द अग्रवाल बगडिया रहेको छ भने अन्य सञ्चालकहरुमा दिप प्रकाश पाण्डे, सतिश चन्द श्रेष्ठ र तेन्जिङ छुफेल लामा रहेका छन्।

भावी योजना तथा रणनीति

आगामी ५ बर्ष भित्रमा संभाव्य परियोजना क्षेत्रहरु देशको विभिन्न ठाँउहरु पहिचान गर्ने साथै कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्रप्तीमा लागि व्यवसायिकरुपमा कृषिजन्य उत्पादनहरु सुरक्षित तबरबाट भण्डारण गर्न वेयरहाउजिङ्गमा लगानी गर्ने कम्पनीको योजना रहेको छ।

त्यसैगरी, कृषि व्यवसायसँग सम्बन्धित सबै दायराहरूमा कारोबार गर्ने देशको एक अग्रणी भण्डारण कम्पनीको रूपमा स्थापना गर्नु, कृषकहरूलाई आफ्नो उत्पादनहरुबाट उचित लाभ दिलाउन उत्पादनहरू ठीकसँग भण्डारण गर्ने र लिलाम व्यवस्थापन मार्फत बजार व्यवस्थापन गर्ने, अन्न उपजहरु उचित मुल्यमा नबेच्दा सम्म किसानलाई आवश्यक पर्ने पुँजी वेयरहाउस रिसिप्ट फाइनान्सिङ्ग मार्फत निर्माण गर्न सहयोग गर्ने अग्रणी संस्था बन्ने, वेयरहाउजिङ्ग कम्पनीका सबै सरोकारवालाहरूलाई अत्याधुनिक सेवाहरू प्रदान गर्ने कम्पनीले योजना बनाएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थाको बाँकी ऋण प्रक्षेपित समय अवधि भित्र भक्तानी गर्ने रणनिति लिएको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८६ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ८६ रुपैयाँ ८६ पैसादेखि २६० रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।