पहिलो पल्ट दर्ता भयो विशेष अदालतमा शेयर सम्बन्धी मुद्दा, भित्री कारोबार गरेको आरोप

Dec 03, 2023 01:19 PM merolagani



विशेष अदालत काठमाडाै‌ंमा पहिलो पटक शेयर सम्बन्धी मुद्दा दर्ता भएको छ। भित्री कारोबार गरेको आरोप सहित उक्त मुद्दा दर्ता भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो मुद्दा दर्ता गरेको छ।

शेयर बजारमा कसुर गरेको भन्दै दर्ता भएको यो मुद्दा नै पहिलो बन्न पुगेको छ। यस अघि शेयर सम्बन्धी मुद्दा विभागले दर्ता गरेको थिएन।

तत्कालीन रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी सञ्चालक कुवेरमणि नेपालविरुद्ध मुद्दा दायर गरिएको छ । आफू अध्यक्ष रहेकै समयमा रिडी पावर कम्पनीको शेयर कारोबार गरेको र त्यसमा सहजीकरणको भूमिका निर्वाह गरेको आरोप नेपाललाई लगाइएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन ०६४ विपरीत भएको भन्दै मुद्दा दर्ता गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहँदाकै बखत ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको सम्बन्धमा तहकिकात गर्दा निजले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको भन्ने समेतको ब्यहोरा उल्लेख भएको देखिन्छ,’ विभागको जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बद्ध कसुर (इन्साइडर ड्रेडिङ) बाट प्रतिवादी गुरुप्रसाद न्यौपानेले अर्का प्रतिवादी कुवेरमणि नेपाल सहजीकरण र मिलेमतोमा १ करोड १९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति, धारणा एवं नि:सर्गसमेत गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको तथ्य प्रमाणित हुन आएकाले न्यौपानेलाई उल्लेखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा एक बमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजायको माग गरिएको छ ।’

मुद्दा दर्ता भएसँगै न्यौपाने र नेपाल स्वतः निलम्बनमा परेका छन् । ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकामा थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,’ सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ मा उल्लेख छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।