शेयर धितो कर्जाको माग बढ्दै, बैंकहरुको कर्जा दिने कोटा नै सकिदै, मसान्तले रोकियो लगानी

Jan 08, 2024 06:05 PM Merolagani



रबिन पौडेल
शेयर बजार सकारात्मक भएसँगै शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जा लगातार बढीरहेको छ। बैंकहरुमा पनि शेयर धितो कर्जाको माग बढ्दो नै छ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा केहि लचक नीति लिएपछि बैंकहरुमा कर्जाको माग झनै बढेको बैंकरहरु बताउछन्। नयाँ कर्जा लिने ग्राहक पनि बढीरहेका छन् भने पहिलेदेखि नै कर्जा लिइरहेका ग्राहकले पनि कर्जा थपिरहेका छन्।

अहिले बैंकहरुले शेयर बजारमा लगानी बढाउदा कोटा सकिदै गएको बताउन थालेका हुन्। राष्ट्र बैंकले वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर धितोमा मार्जिन कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ। कतिपय बैंकको यो सीमा सकिन थालेको छ।

शेयर धितो कर्जामा सबैभन्दा धेरै लगानी गर्ने नबिल बैंकबाट कर्जा लिइरहेका सुन्दर रायमाझी कोटा सकिएको भन्दै बैंकले कर्जा थप्न नमानेको बताउछन्। मार्जिन कर्जा थप्न खोज्दा राष्ट्र बैंकले तोकेको कोटा सकिएकोले अहिले मार्जिन कर्जा बढाउन नसकिने जनाएको उनले बताए। "मार्जिन कर्जा थप्न खोज्दा कोटा सकिएको भन्दै बैंकले थप्न मानेन," उनले भने।

कात्तिक मशामन्तसम्ममा नबिल बैंकले कुल १० अर्ब ९४ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेको थियो। गत असोज मसान्तसम्ममा बैंकको कुल प्राथमिक पूँजी ४१ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यस आधारमा बैंकले कुल १६ अर्ब ५९ करोड रुपैया मार्जिन कर्जा लगानी गर्न सक्छ। जसमा बैंकले झण्डै ११ अर्ब कर्जा कात्तिकसम्ममा नै लगानी गरिसकेकोले साढे ५ अर्ब मात्रै कर्जा लगानी गर्न सक्ने क्षमता थियो।

मंसिरमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि मार्जिन कर्जा लिने झनै बढेकोले बैंकको मार्जिन कर्जाको सीमा सकिएको हो।

  • डेढ खर्ब कर्जा दिन सक्ने

कात्तिक मसान्तसम्मको तथ्याँक अनुसार वाणिज्य बैंकहरुले डेढ खर्ब रुपैयाँ कर्जा दिनसक्ने क्षमता देखिएको छ।

"मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिकको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्नेछन् । यस प्रयोजनको लागि प्राथमिक पुँजी भन्नाले ठीक अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनु पर्दछ । तोकिएको सीमाभन्दा बढी प्रवाह भएको कर्जा बराबरको रकम इजाजतपत्र प्राप्त संस्थाले प्राथमिक पुँजीकोषबाट घटाउनु पर्नेछ," राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ।

यस व्यवस्था अनुसार बैंकहरुले १ खर्ब ४० अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गर्न सक्छन्।

असोज मसान्तसम्ममा बैंकहरुको कुल प्राथमिक पूँजी ५ खर्ब ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ। यस आधारमा बैंकहरुले २ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ मार्जिन कर्जा दिन सक्छन्। कात्तिकसम्ममा बैंकहरुले कुल ६३ अर्ब ६० करोड रुपैयाँ मात्र मार्जिन कर्जा लगानी गरेका छन्।

  • इन्भेष्टमेन्ट र ग्लोबलको सबैभन्दा बढी कर्जा दिनसक्ने क्षमता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै शेयर धितो कर्जा दिनसक्ने देखिएको छ।

इन्भेष्टमेन्ट बैंकको प्राथमिक पूँजी अनुसार १७ अर्ब ९६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ। जसमा कात्तिकसम्ममा बैंकले २ अर्ब ४० करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेकोले अझै १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता बैंकसँग छ।

यसैगरी ग्लोबल आइएमई बैंकको प्राथमिक पूँजी अनुसार १८ अर्ब ८४ करोड रुपैयाँ मार्जिन कर्जा दिन सक्ने क्षमता छ। कात्तिकसम्ममा बैंकले ६ अर्ब २९ करोड कर्जा दिइसकेकोले अब १२ अर्ब ५४ करोड रुपैयाँ कर्जा दिनसक्ने क्षमता छ।

यस्तै कृषि विकास बैंकले १० अर्ब कर्जा दिनसक्ने क्षमता छ भने एनएमबी बैंकले ८ अर्ब, कुमारी बैंकले ९ अर्ब, हिमालयन बैंकले ८ अर्ब कर्जा दिनसक्ने क्षमता छ।

  • मासान्तले रोकियो कर्जा

पुस मसान्त नजिकिएकोले पनि बैंकहरुले मार्जिन कर्जा रोकेका छन्। मसान्तमा बैंकहरु कर्जा लगानीभन्दा बढी असुलीमा केन्द्रित हुने भएकोले पनि कर्जा लगानी रोकेका हुन।

सिद्धार्थ बैंकमा मार्जिन कर्जा लिन गएका ग्राहकलाई पुस मसान्तपछि मात्रै कर्जा दिने भन्दै बैंकले फर्काएको छ। पुस मसान्तसम्मको लागि कर्जा लगानी रोकेको भन्दै बैंकले मसान्तपछि मात्रै कर्जा दिने भन्दै उनलाई फर्काएको हो।

सिद्धार्थ बैंकमात्र होइन,अहिले सबैजसो बैंकले कर्जा रोकेका छन्। बैंकहरुको खराब कर्जा पनि बढीरहेको अवस्थामा बैंकहरु अहिले कर्जा लगानीभन्दा कर्जा असुलीमा बढी केन्द्रित भएका छन्। सबैजसो बैंकले अहिले नयाँ कर्जा लगानी रोकेका छन्। पुस मसान्तपछि मात्रै कर्जा विस्तार गर्ने उनीहरुको योजना छ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त भए पनि बैंकहरुलाई अहिले खराब कर्जा घटाएर नाफा बढाउनु पर्ने दबाव छ। यसले गर्दा पनि उनीहरु असुलीमा केन्द्रित भएका हुन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।