अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार

Aug 22, 2016 Merolagani

- तिलक कोइराला
अरुण भ्याली हाईड्रोपावर र अपी पावर लिमिटेड मुख्य प्रबद्र्धक रहेको अरुण काबेली  पावर लिमिटेडमा विना प्रतिस्पर्धा पारिबारिक कम्पनीहरुलाई ठेक्का दिएर दुई अर्ब भन्दा बढी रुपैयाँ भ्रष्टाचार गरिएको तथ्य खुलेको छ । २५ मेगावाटको आयोजना निर्माणमा अध्यक्ष गुरुप्रसाद न्यौपानेले आफ्नो बिशुद्ध पारिबारिक कम्पनीहरुलाई बिना प्रतिस्पर्धा ठेक्का मिलाएर ठूलो रकम भ्रष्टाचार गरेको देखिएको हो ।

के हो अरुण काबेली ? 

पाँचथर र ताव्लेजुड. जिल्लाको सिमा भएर बग्ने काबेली नदीमा निर्माणाधिन २५ मेगावाटको आयोजनालाई काबेली बी १ भनिएको छ ।

 

४ अर्ब लागत लाग्ने पुर्व अनुमान गरिएको आयोजना निर्माणमा नेपाल ईन्भेष्टमेन्ट बैंकको अगुवाईमा ८ वटा बैंकहरु र जलबिद्यूत उत्पादन तथा बिकास कम्पनीले साढे दुई अर्ब ऋण लगानी गरेका छन् भने बाँकी डेढ अर्ब कम्पनीको पूँजी र शेयरधनीहरुको लगानी रहेको छ । आयोजनामा अरुण भ्यालीको २५ करोड ३ लाख र अपी पावरको ३ करोड लगानी रहेको देखाईएको छ । आयोजनाले २०७३ असोजमा बिद्युत उत्पादन थाल्ने लक्ष्य लिएको छ ।

कसरी भयो भ्रष्ट्राचार ?

अरुण भ्याली हाईड्रोपावरमा गुरुप्रसाद न्यौपाने परिवारको जम्माजम्मी ६ प्रतिशत मात्र शेयर रहे पनि सम्पुर्ण संचालक समितिको बहुमतमा आफ्ना १३ दिने नातागोता राखेर पारिबारिक कम्पनी बनाईएको छ । कम्पनी माथि न्यौपाने परिवारको प्रभुत्व रहेको छ । अरुण भ्यालीकै बहुमत शेयर रहेको अरुण काबेलीमा गुरुप्रसाद न्यौपाने नै कार्यकारी अध्यक्ष छन् । अरुण कावेलीमा ५१ प्रतिशत स्वामित्व अरुण भ्याली कम्पनीको र १ प्रतिशत न्यौपाने परिवारको छ भने अरु जिल्लाबासी, सर्वसाधारण लगायतको हुनेछ । 

[उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको पारिबारिक कम्पनी भएको पुष्टि]

अरुण काबेली आयोजनाको सिभिल ठेक्का न्यौपानेको आफ्नै पारिवारिक प्राईभेट कम्पनी पलान्चोक भगवती कन्ट्रक्शन प्राईभेट लिमिटेडलाई बिना प्रतिस्पर्धा मिलाएर एक अर्ब १५ करोड रुपैयाँमा एकलौटी गरिएको छ ।

त्यस्तै हाईड्रोमेकानिकलको ठेक्का अर्को पारिबारिक कम्पनी अपी हाईड्रो मेकानिकल प्राईभेट लिमिटेडलाई दिईएको छ ।

यी दुबै प्राईभेट कम्पनीहरुको संचालकहरु गुरुप्रसाद न्यौपानेका श्रीमति, बुहारी र अन्य निकटस्थ नातेदारहरु छन् । दुबै कम्पनीको आर्थिक कारोबारमा गुरुप्रसाद न्यौपानेको सिधा नियन्त्रण रहेको छ भने बैंकबाट रकम निकाशामा पनि उनकै हस्ताक्षर चल्ने गरेको सुत्रको भनाई छ । सिभिल ठेक्कामा फिदिम पन्चकन्या निर्माण सेवालाई साझेदार बनाईए पनि त्यो देखाउनका लागि मात्रै भएको बताईन्छ ।

[अपी पावरले दुई सय प्रतिशत हकप्रद बिकाउन लगानीकर्तालाई ५ प्रतिशत प्रतिफलको ल्यायो प्रस्ताव]

सिभिल ठेक्का र हाईड्रो मेकानिकलमा दुई अर्ब भन्दा बढीको काम रहेको बुझिएको छ । यसमा न्यौपानेहरुको अर्को पारिबारिक कम्पनी मकालु डेभ्लपर्स लिमिटेड समेत जोडिएको छ, जुन कम्पनीमा गुरु न्यौपानेकी श्रीमति सुमित्रादेबी न्यौपाने, बुहारी पुजा न्यौपाने, भान्जी सिर्जना दंगाल, साला सुजन तिमिल्सिनाको शेयर रहेको देखिन्छ । मकालु डेभ्लपर्सले अरुण काबेलीबाट पाँच करोड रुपैयाँ लेनदेन गरेको आर्थिक बर्ष २०७१,०७२ को लेखापरीक्षणबाट स्पष्ट देखिन्छ । आफ्नै श्रीमति रहेको ठेकेदार कम्पनीसँग यसरी आर्थिक कारोबार गर्नुपर्ने कारण किन ?

 मकालु डेभ्लपर्सका शेयरधनीहरु हेर्नुहोस् ।

कुरा प्रष्टै छ, अरु कम्पनीलाई देखाएर पारिबारिक कम्पनीेले हालीमुहाली गरेको छ र त्यसबाट आएको पैसाले न्यौपाने परिबारको निजी सम्पति जोडिएको छ ।

[अपी पावरको दुई सय प्रतिशत हकप्रद के होला ?]

परियोजनाको बिस्तृत डिजाईन गर्ने क्रममा पनि भारतको डिजाईन गु्रप प्रोजेक्ट कन्सल्ट्यान्टलाई देखाएर न्यौपानकै अर्को पारिबारिक कम्पनी साउथ एशिया ईन्जिनियरिड. प्रा. लि ले रकम हात पारेको बुझिएको छ । 

ऋण दिने बैंकहरु किन बोल्दैनन् ?

नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा आयोजनामा आठ वटा बैंकहरुले लगानी गर्दा गरिएको सम्झौता पत्रमा आयोजना निर्माणमा संचालकको स्वार्थ बाझिने काम हुनु नहुने कुरा उल्लेख भएको बताईन्छ । बैंकहरुले ऋण लगानी गर्दा यसलाई निकै गंभीरतासाथ हेरिन्छ तर अरुण काबेलीमा संचालक समितिका अध्यक्षकै पारिबारिक कम्पनीले बिना प्रतिस्पर्धा ठेक्का लिएर काम गर्दा कर्जा प्रबाह गर्ने बैंकहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसबारेमा नेपाल ईन्भेष्टमेन्ट बैंकका अधिकारीहरुसँग बुझ्ने प्रयास गर्दा उनीहरु सम्पर्कमै आउन चाहेनन् ।

आयोजनामा शेयरधनी र सर्वसाधारणले गर्ने लगानीको सुरक्षा र सदुपयोग सर्बाधिक चासोको बिषय हो, त्यसमाथि बैंकहरुले गर्ने लगानी त सोझै सर्बसाधारण निक्षेपकर्ताको रकम भएकाले मामिला निैक गंभीर मानिएको छ । अरुण काबेलीलाई कर्जा प्रबाह गर्ने समयमा नेपाल ईन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका एक पूर्व कर्मचारीले आयोजनामा परिचालन भएको कर्जाको शर्त र रकमबारे केही बताउन नमिल्ने दावी गरे । -(प्रमाणः टेलिफोन रेकर्ड)

आयोजना  प्रबद्र्धक कम्पनीको अध्यक्षको पारिबारिक कम्पनीलाई आयोजना निर्माणको ठेक्का दिँदा आर्थिक कारोबारहरुमा पारदर्शिता, स्वच्छता र जवाफदेहिता कति कायम भयो ? ऋण लगानी गर्ने बैंकहरुले जवाफ दिनुपर्दैन ? कि ऋण लगानी गर्दा नै बैंकका अधिकारीहरुको मिलेमतो भयो ? गंभीर प्रश्नहरु खडा भएका छन् ।

[योजनाबद्ध रुपमा मूल्य बढाईएको अपीको शेयर किनेर हकप्रदको हल्लामा नफस्नुहोस् , यस्तो छ वास्तविकता]

बैंकहरुले एनबीएसएम एण्ड एशोसियट्स लाई आर्थिक कल्सल्ट्यान्ट र सिल्ट कल्सल्ट्यान्स प्राईभेट लिमिटेडलाई प्राबिधिक कन्सल्ट्यान्स नियुक्त गरेर आयोजना निमार्ण र खर्च नियन्त्रणमा भुमिका खेलेको देखाएका छन् तर जानाजानी न्यौपाने परिवारले गरेको बदमासीलाई आँखा चिम्लिएको छ ।

हुन त अपी पावरको आयोजना निर्माणमा पनि यसैगरी न्यौपानेको पारिबारिक कम्पनीहरुले रजाइँ गरेका थिए र प्राईम बैंकको नेतृत्वमा गरिएको सहबित्तीयकरण कर्जाको सम्झौताहरुलाई धोती लाउन गुरु प्रसाद न्यौपाने सफल भएका थिए । त्यही मोडललाई अरुण काबेलीमा पनि लागु गरेर उदाहरण प्रस्तुत गरिएको छ ।

के भन्छन् गुरु न्यौपाने ?

अरुण काबेलीमा भएको बदमासीबारे प्रतिक्रिया माग्दा गुरुप्रसाद न्यौपाने आफुलाई केही थाहा नभएको भन्दै बोल्न चाहेनन् । पलान्चोक भगवति, मकालु डेभ्लपर्स र अपी हाईड्रो मेकानिकलका संचालकहरु को हुन् भनी सोधिएको प्रश्नमा उनले त्यो पनि आफुलाई थाहा नहुने भन्दै पंछिए । यसबारेमा गुरुकी श्रीमति सुमित्रादेबी न्यौपानेले पनि आफु कुनै पनि कम्पनीको संचालक नरहेको र अपी पावरसँग कारोबार गरिएको थाहा नभएको दावी गरिन् -(प्रमाणः टेलिफोन कुराकानी रेकडहर्रु)

अघिल्लो साता अरुण हाईड्रो र अपी पावरको शेयरमा लगानी गर्नेहरु धेरै जोखिममा रहेको समाचार प्रकाशित भएपछि उनले बक्तब्य जारी गर्दै आफ्ना कम्पनीहरुमाा पारिबारिक कब्जा रहेको स्वीकार गरेका थिए । अरुण हाईड्रो र अपीमा न्यौपानेका १३ दिने पारिबारिक सदस्यहरुले संचालक समिति कब्जा गरेको समाचारमा उल्लेख भएकोबारे उनको बक्तब्यमा भनिएको थियो - गुरु प्रसाद न्यौपानेको छोरा भतिजा र नाताका व्यक्तिहरु कम्पनीको संचालक हुन नपाउने भन्ने छैन । संचालक भएका व्यक्तिहरुको लगनशिलता, योग्यता र अनुभव कम्पनीको विकासमा सहायक हुन्छन बाधक हैन । 

न्यौपानेले बक्तब्यमा अगाडि भनेका थिए -कम्पनी संचालन गर्ने आफ्ना मोडेलहरु हुन्छन यसमा मन नमिल्ने व्यक्तिहरु रहेको कम्पनीले विकास गर्न सक्तैन भन्ने मेरो अनुभव हो ।

सर्वसाधारणको लगानीको सुरक्षाबारे न्यौपानेको थप यस्तो भनाई छ - परिवारबाट छुट्टि भिन्न भै आफ्नो स्वतन्त्र पेसा गरिरहेका छोरा, भतिजा, भाइ मिलेर संयुक्त जमानी बसेर बैंकबाट कर्जा लिएर व्यवसाय गर्नु कुनै प्रकारको कानुनी अपराध होइन । यसबाट त लगानी अझ बढी सुरक्षित भएको छ । लगानीको सुरक्षा निर्माण भएको परियोजनाले गर्ने हो, न्यौपाने समूहले होइन ।

यसबाट पनि प्रष्ट हुन्छ कि न्यौपानेहरुको पारिवारिक कम्पनीहरुमा गरिएको सर्बसाधारणको लगानीमा सर्बसाधारणको नियन्त्रण छैन, न्यौपाने समुहले नियन्त्रण गरेको छ । त्यहाँ जम्मा भएको रकमको परिचालन पनि न्यौपाने परिवारकै तजबिजीमा भएको छ र दुरुपयोगको जोखिम अझै बढी छ ।

धितोपत्र बोर्डलाई पनि किन्ने प्रयास ?

अपी हाईड्रोले प्रस्ताव गरेको दुई सय प्रतिशत हकप्रद र अरुणभ्यालीले प्रस्ताव गरेको ३१ लाख कित्ता थप नयाँ शेयर निश्काशनलाई धितोपत्र बोर्डबाट स्वीकृत गराउन ठूलो आर्थिक चलखेल सुरु भएको छ । गुरुप्रसाद न्यौपानेले नेपाली काँग्रेसका दुई पूर्व मन्त्री निकट छु भन्ने नुवाकोटका एक कांग्रेस कार्यकर्ता परिचालन गरी धितोपत्र बोर्डका अध्यक्षलाई प्रभावित पार्ने प्रयास जारी राखेका छन् । यसका लागि उनले ५० लाख रुपैयाँसम्म खर्च गर्ने योजना बनाएको अपी पावर सम्बद्ध एक कर्मचारीले बताए । तर नेपालको धितोपत्र बजारमा ऐतिहासिक सुधारको प्रारम्भ गरेर लाखौ लगानीकर्ताको आशा र भरोसाको केन्द्र बनेको धितोपत्र बोर्ड र त्यसका पदाधिकारीहरु यस्ता हरकतप्रति सचेत रहेको थाहा भएको छ ।

धितोपत्र बोर्डका एक अधिकारीले भने- अपीको हकप्रद छिटो स्वीकृत गरिदिन तीब्र दबाब दिईएको छ । बिभिन्न शक्तिकेन्द्रहरुबाट फोनहरु आईरहेका छन् तर हामी गहन छानविनमा छौ । लगानीकर्ताको पैसा जोखिममा पर्ने अबस्था भएमा कुनै हालतमा त्यस्तो प्रस्ताव स्वीकृत हुँदैन ।

बाहिर बाहिरै किन बेचिदैछ अपीको संस्थापक शेयर ?

अपीका संस्थापक शेयरधनीले दुई सय प्रतिशत हकप्रद वापतको रकम जम्मा गर्न नसक्ने भएपछि नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणाली भन्दा बाहिरबाटै अपीको संस्थापक शेयर बिक्री तीब्र भएको छ । न्यौपानेका नातेदार र अपीको संस्थापक शेयरधनीले तीन सय सात रुपैयाँदेखि पाँचसय रुपैयाँ प्रति कित्ताको दरले बाहिरै संस्थापक शेयर बिक्री गरिरहेको खुल्न आएको छ ।

अपीका एक संस्थापक शेयरधनीले भने - ४७५ रुपैयाँमा अस्ति मात्रै ९००० कित्ता संस्थापक शेयर एकजनालाई बेचिएको छ । दुईसय प्रतिशत हकप्रद आउने लोभ देखाएर संस्थापकहरुले आफ्नो शेयर सर्वसाधारणलाई भिडाईरहेका छन् । -(प्रमाणः टेलिफोन कुराकानी रेकर्ड )

अपी पावरमा लगानी गरेका राष्ट्र बैंकका एक बहालवाला कर्मचारीले पनि ठूलो परिमाणमा संस्थापक शेयर बेचिरहेको बताईन्छ । अपीका संस्थापकहरु जत्तिमा पाए पनि संस्थापक शेयर बेचेर निस्कने होडमा रहेको बुझ्न सकिन्छ । उता, अरुणभ्यालीको संस्थापक शेयर धारण गरेका शेयरधनीहरुले भने पहिले एक बराबर एक हकप्रद निकाल्ने क्रममा नै शेयर मूल्य माथि पुर्याएर बेचिसकेका थिए भने बचेखुचेकाले यसपालि एफपीओ ल्याउने बहानामा मूल्य माथि चढाएर बेच्ने प्रयास गरेका बुझिएको छ ।

अरुण भ्यालीले पहिले एक बराबर एक हकप्रद निश्काशन गर्दा हकप्रद हाल्ने पैसा नभएपछि यसै गरी बाहिर बाहिरै शेयर बेचिएको थियो । त्यसरी शेयर बेच्ने क्रममा कम्पनी संचालकले सम्झौता पालना नगरेपछि अदालतमा मुद्धा परी अरुण भ्यालीको ६ लाख कित्ता शेयर रोक्का अबस्था छ । शेयर खरिदकर्ता भनिएकाबाट लिएको एक करोड ७५ लाख रुपैयाँ पनि फिर्ता नगर्ने र शेयर दिन पनि नसक्ने अबस्थामा पुगेका ती संचालकले शेयर वापतको लगानी आफ्नो नरहेको जिकिर गरेपछि मामिला अरु गंभीर भएको बुझिन्छ ।

अलग्गै नियमन निकाय नहुँदाको फाईदा

जलबिद्युत क्षेत्र हेर्ने अलग्गै नियमनकारी निकाय नहुँदा जलबिद्युत आयोजनाहरुमा बेथिति बढ्दो छ । सर्बसाधारणमा शेयर निश्काशन गर्ने जलबिद्युत कम्पनीहरुको संख्या बढ्दै गएको अबस्थामा बिमाहरुलाई हेर्ने बिमा समिति, बैंकहरुलाई हेर्ने राष्ट्र बैंक भए जस्तै जलबिद्युत क्षेत्र हेर्ने अलग्गै नियमनकारी निकाय छैन । यही कमजोरीमा टेकेर गुरुप्रसाद न्यौपाने जस्ता ब्यक्तिहरुले मनलाग्दी गर्र्ने छुट पाईरहेका छन् । नेपाल धितोपत्र बोर्ड सर्बोच्च नियमनकारी निकाय भए पनि सबै कम्पनीहरुलाई उसले गहन रुपमा नियमन गर्नसक्ने कर्मचारी र अन्य संरचनागत क्षमता छैन ।

जलबिद्यिुत आयोजनाहरु बनाउने नाममा कागजी शेयर प्रमाण पत्र बेच्दै देश बिदेशमा ब्यापक रुपमा सर्बसधारणबाट रकम उठाईदै गरेको अबस्थामा कसले रकम उठाउँन पाउने, कसले नपाउने भन्ने निधो गर्ने, आयोजना निर्माणको रकम स्रोत के हुने, संस्थापकहरु को को हुने जस्ता कुराहरु अन्योलमा छन् । कतिपयले ईमानदारितासाथ राम्रै काम गरिरहे पनि एक दुई जना बदमासहरुको कारण समग्र जलबिद्युत क्षेत्रमा लगानीप्रति सर्वसाधारणमा बितृष्णा आएमा त्यो दुभाग्र्यपूर्ण हुने छ । आयोजनास्थलसम्म पुगेर अनुगमन गर्ने निकाय नहुँदा आयोजना लागत बढाएर मोज लुट्नेहरु बढेका छन् भने संस्थापकहरुले कम रकम लगानी गरे पनि बढी शेयर हात पारेर दोहोरो फाईदा लिएका छन् ।

जलबिद्युत क्षेत्रमा गरिएको लगानी अनिबार्य प्रकृतिको दीर्घकालीन लगानी भएकाले यसबाट तत्काल प्रतिफल हासिल नहुने पक्का छ । लगानीकर्ताले लाभांश पाउन कम्तिमा तीन बर्ष कुर्नुपर्ने भए पनि आयोजना प्रबद्र्धकहरु मालामाल बन्दै आयोजना निर्माण पुरा नहुँदै महंगोमा शेयर बेचेर निस्कने र सर्वसाधारण लगानीकर्ता फस्ने खतरा  देखिएको छ ।

देशको आबश्यकता जलबिद्युत उत्पादन हो र यस क्षेत्रमा ब्यापक रुपमा दीर्घकालीन लगानी गर्नुपर्ने आबश्यकता छ । जनतालाई उत्साहित पारी धेरै भन्दा धेरै लगानी यस क्षेत्रमा ल्याउन र उनीहरुको लगानी तथा हित सुरक्षा गर्न अलग्गै नियमनकारी निकाय टडकारो आबश्यकता बनेको छ । 

बिदेश घुमेर लगानीकर्ताको पैसामा मोज ?

सर्वसाधारण लगानीकर्ताको पैसामा न्यौपाने परिवारले कसरी मस्ती मारिरहेको छ भन्ने कुरा अध्ययन भ्रमण भन्दै हालै न्यौपाने परिवारका सदस्यहरुले युरोप भ्रमण गरेबाट प्रस्ट हुन्छ । महेन्द्र न्यौपाने, पूजा न्यौपानेसहितका अपी र अरुण हाईड्रोका पदाधिकारीहरुले आफ्नो भ्रमणलाई अध्ययन भ्रमण भनेर गए पनि बिशुद्ध रुपमा ब्यक्तिगत र पारिबारिक भ्रमण सावित भएको छ ।

अरुण, अपी र अरुण काबेलीको नाममा उनीहरुले कति रुपैयाँ सिध्याए ? लेखाजोखा हुन बाँकी नै छ । यसरी आफ्नो पैसामा न्यौपाने परिवारले मोजमस्ती गरेको टुलुटुल हेरेर बस्न लगानीकर्ताहरु बाध्य छन् । लगानीकर्ताहरुले चर्को आवाज उठाए उनीहरुले ब्यक्तिगत खर्चमा गरिएको भ्रमण भन्दै ढाकछोप गर्ने संभावना पनि बढेको छ । 

एनबी समूह र न्यौपाने समूहको तुलना कति जायज ?

मेरोलगानी डटकमले यसअघि प्रबाह गरेको समाचारमा नेशनल हाईड्रो र नेपाल बंगलादेश बैंकलाई धरासायी बनाउने लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठको एनबी ग्रुपसँग गुरुप्रसाद न्यौपाने परिवारको प्रसंग जोडिएको थियो । गहिरिएर अध्ययन गर्ने हो भने यी दुई समूहबीच धेरै समानता पाईन्छ । एनबी समूहले आफ्नो बर्चस्व रहने गरी दुई, दुई वटा बाणिज्य बैंक, एउटा फाईनान्स, एउटा बिमा, दुई दुई वटा जलबिद्युत कम्पनी, ईट्टा कारखाना, हाउजिड. कम्पनी, ब्यापार कम्पनी, ईन्भेष्टमेन्ट कम्पनीलगायतका थुप्रै कम्पनीहरु स्थापना गरेको थियो । एनबी समूह कुनै समय देशको सबैभन्दा ठूलो ब्यवसायिक घराना कहलिएको थियो । जताततै त्यही समूहको मात्रै चर्चा हुन्थ्यो ।  त्यो समूह आज कस्तो अबस्था छ र कम्पनीहरुको हालत के भयो भन्ने उदाहरण नेशनल हाईड्रो नै काफी छ ।

[उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको पारिबारिक कम्पनी भएको पुष्टि]

अहिले गुरु न्यौपाने पनि एउटा बाणिज्य बैंकको संस्थापक अध्यक्ष, कयौं जलबिद्युत कम्पनी, ईन्भेष्टमेन्ट कम्पनी, ठेक्कापट्टा गर्ने कम्पनी, ब्यापारिक कम्पनी, हाउजिड.सहित १२ भन्दा बढी कम्पनीमा एकछत्र परिवारबाद चलाईरहेका छन् । आफ्ना नातागोता र कर्मचारीहरुका आफन्त, आसेपासेहरुलाई महत्वपूर्ण जिम्मेवारीमा राखेर कम्पनीलाई सर्बसाधारण लगानीकर्ताको नियन्त्रण बाहिर पार्दा भित्र के भईरहेको छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । तर थाम्नै नसक्ने भएपछि जब सत्य बाहिर आउँछ तब सुरु हुन्छ रुवाबासी । कम्पनी भित्र जसरी एनबी समूहले एउटा कम्पनीको पैसा र आम्दानी अर्को कम्पनीमा लगेर यताको उता पार्दथ्यो, आज त्यही हाल न्यौपाने परिवार हावी कम्पनीहरुमा देख्न सकिन्छ । यो क्रममा अलिकति पनि अबरोध सिर्जना भयो भने ब्यहोर्न पर्ने त बिपत्ति नै हो ।

त्यसमाथि हिजोको एलसी काण्ड, चिठ्ठा काण्डलगायतका पृष्ठभुमि अध्ययन गर्ने हो भने त अबस्था कहालीलाग्दो पक्कै हुनेछ ।

मेरोलगानी डटकमको स्पष्टिकरण

यो समाचार गहन अध्ययन, प्रमाण संकलन र सर्वसाधारण  लगानीकर्ताको हितलाई सर्वोपरी ध्यानमा राखी तयार पारिएको हो । केही निहित स्वार्थ भएका ब्यक्तिहरुको कारण लाखौं सर्बसाधारणको अर्बौ रकम जोखिममा नपरोस भन्ने पबित्र उद्धेश्यले पहिलेदेखि नै सावधानी अपनाउन आब्हान गरिएको छ । समाचार सामाग्रीमा उल्लेख गरेका कुराहरुको बारेमा यकिन हुन परेमा सम्बन्धित कम्पनीका शेयरधनीहरुले स्वतन्त्र छानविन आयोग गठन गरी तथ्य पत्ता लगाएर आफ्नो हित सुरक्षा भए, नभएको जाँच गर्न गर्नसक्ने नै छन् । कुनै कम्पनीको शेयर किन्नु, र नकिन्नु भन्दैनौ तर सावधान चाँही गराउँछौ, त्यो हाम्रो कर्तब्य नै हो, कतिसम्म जोखिम लिने भन्ने कुरा लगानीकर्ता स्वयंको हो । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।