बुटवल पावरको एफपीओ धोकाधडीपूर्ण, यसरी फस्दैछन् लगानीकर्ता

Jan 30, 2018 Merolagani

- परमेश्वर अधिकारी
प्रिमियमसहित थप नयाँ साधारण सेयर निश्काशन गरेको बुटवल पावर कम्पनी लिमिटेड (BPCL) बारे लगानीकर्तामा तीब्र बहस सुरु भएको छ । कम्पनीले महंगो मूल्यमा सर्वसाधारणमा एफपीओ बिक्री गर्न थाले पछि लगानीकर्ताहरु बिभाजित भएर तर्क बितर्क गरिरहेका छन् ।

लगानीकर्तामा सही जानकारी उपलब्ध गराउन मेरोलगानी डटकम बीपीसी सम्बन्धी यो सामाग्री प्रस्तुत गर्दछ :

पहिलो तथ्य :

२०२२ सालमा स्थापित बुटवल पावर कम्पनीले अहिलेसम्म सर्बसाधारणमा सेयर नै जारी गरेको छैन । सर्बसाधारणमा सेयर नै जारी नगरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कसरी प्रिमियमसहित थप नयाँ साधारण सेयर जारी गर्न अनुमति दियो भन्ने बारेमा धेरैले शंका गरेका छन् । स्याङजा, प्युठान लगायतका बीपीसीका आयोजना प्रभावित क्षेत्रका जनताले आफुहरुलाई सेयर दिन माग गरिरहेको बेला त्यसलाई धोकाघडीपूर्ण रुपमा बन्द गरेर बीपीसीले अहिले एफपीओ बिक्री थालेको छ ।

दोस्रो तथ्य :

नीजिकरणको प्रकृया सुरु भए पछि २०५९ सालमा सरकारी स्वामित्व आफ्नो पोल्टामा पार्न चौधरी ग्रुपदेखि अन्य व्यवसायिक घरानाहरु लागि परेका थिए । त्यस दौडमा सांग्रिला ग्रुपले बाजी मार्यो । सरकारी स्वामित्वमा रहेको कम्पनी निजीकरणमा लगियो ।

बिराटनगरमा लगेर नागरिक लगानी कोषको बिक्री प्रबन्धकत्वमा सर्वसाधारणलाई १० र कर्मचारीहरुलाई २ प्रतिशत सेयर बाँडिएको भ्रम फैलाईयो । उल्लेखित सबै सेयर कम्पनी नजिकका व्यक्तिहरुले नै १ सय ६५ रुपैंयामा किनेका थिए । गोप्य रुपमा आफ्नै समूहका सिमित व्यक्तिहरुमा कम्पनीको १० प्रतिशत सेयर बितरण गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गराइएको थियो ।

त्यही सेयर चरणबद्ध रुपमा भाउ बढाउँदै सर्वसाधारणमा चारो छरे झैं छरिएको थियो । यस क्रममा झण्डै ८ सय रुपैंयासम्ममा कम्पनीको सेयर किनबेच भैसकेको छ ।

कम्पनीमा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, सांग्रिला इनर्जी, एएस नर्वे, युनाइटेड मिसन टु नेपाल र आइकेन नेपालको लगानी छ । कम्पनी नीजि भए पछि नै बहुमत सेयर धारण गरेकाहरुले सर्वसाधारणका नाममा सेयर बिक्री गरेको बहाना रचेका थिए ।

तेस्रो तथ्य :

अहिले प्रत्येक वर्ष कमाई घट्ने प्रक्षेपण कम्पनी आफैंले गरिरहेको छ । साढे ४० लाख कित्ता एफपीओ नेप्सेमा सुचिकृत भयो भने दास्रो बजारमा बीपीसीको सेयर फालाफालको अबस्था आउँछ । एकातिर कम्पनीको प्रतिसेयर आम्दानी घट्ने र अर्को तर्फ बजारमा आपुर्ति बढ्ने हुँदा अहिले ५०१ रुपैयाँमा एफपीओ किनेका लगानीकर्ता सोझै घाटामा पर्छन ।

अहिले दोस्रो बजारमै ६३० रुपैयाँ हाराहारीमा पाईरािखएको सेयरलाई एफपीओको नाममा ५०१ हालेर एक महिना कुर्नु भनेको धेरै जोखिम लिनु हो । किनभने त्यो बीचमा हुने मूल्यको घटबढ कसैले अनुमान गर्न सक्दैन । दोस्रो बजारकै हाराहारीमा एफपीओ ल्याउन दिने धितोपत्र बोर्डको निर्णय कति औैचित्यपूर्ण भन्ने प्रश्न छँदैछ ।

कम्पनीको एफपीओलाई इक्रा नेपालले रेटिंग ३ मात्र प्रदान गरेको थियो । एकाएक कम्पनीले प्रस्ताव गरेकै मूल्यमा धितोपत्र बोर्डले एफपीओ स्वीकृत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेप्सेमा सूचीकृत भएर नियमित सेयर कारोबार भैरहेको हुनाले पब्लिक कम्पनीको हैसियतमा एफपीओ स्वीकृत गरिएको बताए । तर सर्बसाधारणमा सेयर जारी गरे, नगरेको सम्म नजाँची बोर्डले एउटा कम्पनीलाई सर्बसाधारण ठग्ने लाईसेन्स दिन मिल्छ कि मिल्दैन ? यो प्रश्न धितोपत्र बोर्डलाई नै ।

चौथो तथ्य :

कम्पनीले प्युठानमा सञ्चालन गरिरहेको झिमरुक जलविद्युत आयोजना र स्याङ्जाको आँधीखोला जलविद्युत आयोजनामा स्थानीयलाई सेयर बितरण गरेको छैन । स्थानीयले सेयर माग्दै आयोजनामा अबरोध गरे भने बीपीसी उनीहरुलाई सेयर वितरण गर्न बाध्य हुन्छ । जलबिद्युत कम्पनीले आईपीओ ल्याएको तीन बर्षपछि संस्थापक र स्थानीयको सेयर साधारण जसरी दोस्रो बजारमा बेच्न पाईन्छ तर बीपीसीले स्थानीयमा वितरण गरेको सेयर के हुने भन्ने प्रश्न आउँछ । साधारण जसरी दोस्रो बजारमा बेच्न पाईने हो भने त्यसले आपुर्ति झन् बढाउँछ । त्यो बेला अहिले एफपीओ किनेका वा दोस्रो बजारबाट सेयर उठाएका लगानीकर्ता झनै फस्ने जानकारहरु बताउँछन् ।

पाँचौ तथ्य :

अहिले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम वापत प्राप्त हुने रकम कम्पनीले अर्को बर्ष बोनस सेयर दिन प्रयोग गर्ला ? जगेडा कोषमा प्रिमियम सञ्चित हुने भएकाले पूँजीकरणका लागि सदुपयोग गर्न मिल्छ । तर कम्पनीको आब्हान पत्रको बुँदा नम्बर १२ ले एफपीओबाट संकलित सेयर रकम र प्रिमियम न्यादी र काबेली जलबद्यिुत आयोजनामा सेयरको रुपमा लगानी गर्ने स्पष्ट गरेको छ । त्यसमा खर्च गरी कुनै रकम बाँकी रहेमा आँधिखोलाको क्षमता बृद्धि र कार्यालय भवन निर्माणमा खर्च गरिने भनिएको छ । यसबाट एफपीओ धारण गर्ने वा दोस्रो बजारबाट अहिले महंगो मूल्यमा सेयर किन्नेहरुलाई तात्कालिक लाभ नहुन सक्छ ।

छैटौ तथ्य :

जलबिद्युत आयोजनाहरु बैंक बित्तीय संस्था वा अरु बर्गका उत्पादनमुलक कम्पनी जस्ता हैनन् जसले एक दुई बर्षमा नै कमाई दोब्बर पारेर लगानीकर्तालाई बढाएर लाभांश दिन सकुन । जलबिद्युत आयोजना निर्माण गर्न लामो समय लाग्ने र बिजुली बेचेर कर्जा तिरेर सेयरधनीले प्रतिफल हात पार्न पनि उत्तिकै समय लाग्ने हुँदा एक दुई बर्षमा अपेक्षित प्रतिफल प्राप्त हुँदैन । अहिले बीपीसीले आयोजना निर्माणमा गर्ने लगानीको प्रतिफल कम्तिमा पाँच बर्षपछि मात्रै आउँछ ।

सातौं तथ्य :

बुटवल पावर सहित नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको हिमाल पावरसँग विद्युत प्राधिकरणले अहिलेसम्मकै महंगो दरमा बिजुली खरिद गरेको छ । ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनाको उक्त महंगो दरको पीपीए सम्झौता सन् २०२० को जुलाईदेखि सकिँदैछ । डलरमा भएको पीपीएका आधारमा अहिले प्राधिकरणले हिमाल पावरबाट ११ रुपैंया ७८ पैसा प्रतियुनिटका दरले विद्युत खरिद गरिरहेको छ । यो आम्दानी २ वर्ष पछि बुटवल पावरले पाउने छैन । त्यसै गरी खिम्ती जलविद्युत आयोजनाको ५० प्रतिशत स्वामित्व पनि सोही समयदेखि नेपाल विद्युत प्राधिकरणको हातमा आउनेछ । अहिले हिमाल पावरमा बुटवल पावरको १७ प्रतिशत स्वामित्व छ ।

उल्लेखित आम्दानी आउन छोडे पछि कम्पनीको अहिलेको कमाई कुन अवस्थामा पुग्ला ? अनि लगानीकर्ताले कति प्रतिफल पाउने भन्ने कुराको लेखाजोखा न त नियमनकारी निकायले एफपीओ स्वीकृत गर्ने बेला गरे, न त लगानीकर्ताले अहिले गरेका छन् । यसले कम्पनीको स्वार्थपुर्ति गर्ने योजना कसरी सफल भयो भन्ने प्रश्न खडा भएको हो । नियमनकारी निकाय नहुँदा कम्पनीले मेजरीटी सेयरधनीलाई मालामाल गराउन सर्वसाधारण लगानीकर्तालाई बलिको बोका बनाउने गज्जबको अवसरको सदुपयोग गरिरहेको छ ।

आठौं तथ्य :

कम्पनीको २०७३/०७४ को बित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ देखाईएको छ । यही नेटवर्थका आधारमा एफपीओको वास्तविक मूल्य निर्धारण/स्वीकृत गरिएको भए लगानीकर्तामा जोखिमको मात्रा कम हुने थियो । धितोपत्र बोर्डले तोकेकै आधारहरु हेर्दा पनि अहिलेको एफपीओको मूल्य ५०१ रुपैंया धेरै महंगो हो । 

यस अघि नेपाल लाइफ इन्स्योरेन्सले पहिलो पटक प्रस्ताव गरेको एफपीओको मूल्यमा यस्तै विवाद उत्पन्न भएको थियो । तर बोर्डले बजार मूल्यलाई नहेरी उसको एफपीओको मूल्य निर्धारण गराएको थियो । जुन निर्णय अहिलेको बजारमा पनि लगानीकर्ताको हीतमा छ । तर बुटवल पावरको हकमा लगानीकर्ताको हीत हुने किसिमको निर्णयमा बोर्डले ध्यान नदिएको देखिन्छ । जसले गर्दा फस्ने अरु कोही नभएर सर्वसाधारण लगानीकर्ता नै हुन् । बोर्डले यी २ कम्पनीमा किन फरक फरक कुरा कार्यान्वायन गरायो भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक हुन्छ ।

अरुण भ्याल्ली हाइड्रोले ३०१ रुपैंया प्रतिकित्ताको दरमा थप नयाँ सेयर निष्काशन गर्ने प्रस्ताव यस अघि र्नै गरिसकेको छ । त्यसै बेला उसको प्रस्तावित मूल्य दोस्रो बजारको सेयर मूल्यभन्दा बढी थियो । अहिले दोस्रो बजारमा उसको प्रति कित्ता सेयर मूल्य २०१ रुपैंया छ । के अब यो कम्पनीलाई पनि उसैको प्रस्ताव अनुसार नै एफपीओ निष्काशनको स्वीकृति दिने हो ?

नवौं तथ्य :

कम्पनीको आह्वानपत्र अनुसार गत आर्थिक वर्षमा ६४ करोड ९३ लाख रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको अन्त्यमा त्यो ६९ करोड ३० लाख रुपैंयामा उक्लिने प्रक्षेपण गरिएको छ । त्यस पछिका २ आर्थिक वर्षसम्म कमाई निरन्तर घट्दै जाने प्रक्षेपण कम्पनीले गरेको छ । यस बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ हुने आँकलन गरिएको छ । आर्थिक वर्ष २०७५ ७६ मा ६८ करोड ६९ लाख र आर्थिक वर्ष २०७६ ७७ मा ६७ करोड ६१ लाख रुपैंया मात्र खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण छ । एफपीओ बिक्रीपछि कम्पनीको सेयर संख्या २ करोड २१ लाख कित्ता हुनेछ भने २०७५ ०७६ सालमा कम्पनीले पूँजी बढाउने कुनै प्रक्षेपण गरेको छैन । २०७६ ०७७ मा मात्रै कम्पनीले सरदर १० प्रतिशतले पूँजी बढाउने प्रक्षेपण दिएको छ । यसरी पूँजी बढ्दा कमाई घट्दै जाँदा लगानीकर्ताले के अपेक्षा गर्ने ?

र यो पनि, 

कम्पनीले गत आर्थिक वर्षमा ७ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांस बाँडेको थियो । पूँजी बढ्दा कमाई घट्यो भने कम्पनीको लाभांस क्षमता कता जान्छ ? बिचारणीय प्रश्न ।

यसरी हेर्दा बीपीसीको एफपीओमा सर्बसाधारण लगानीकर्ता सिधै फस्ने खतरा छ । लगानीकर्ता महंगो सेयरमा फस्नबाट जोगिनुपर्छ । मेरोलगानी डटकमको यो अध्ययनमा बिस्वास नलागे आफैले अध्ययन बिश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नुृहोला ।

जलबिद्युतको सेयरमा लगानी गर्ने ? प्रतिफल खान पाँच देखि १० बर्ष कुर्नुपर्छ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।