मार्जिन ट्रेडिङ्ग दिन सक्ने दलाल व्यवसायी चिन्नुहोस् - श्रृङखला ३

May 28, 2018 Merolagani

बजारमा मार्जिन ट्रेडिङ्गको चर्चा बढ्दै गर्दा कुन कुन सेयर दलाल यसको मापदण्ड भित्र पर्छन् भन्ने चासो अाम लगानीकर्तामा छ । नेपाल धितोपत्र बोर्डले अघिल्लो साता मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि पारित गर्दै यसको मापदण्ड तोकेको छ । हेरौं, कुन कुन सेयर दलालबाट पाइन सक्छ सेवा ?

कार्यविधिले कम्तीमा ५ करोड रुपैयाँ नेटवर्थ रहेको सेयर दलाल व्यवसायीले मात्र मार्जिन ट्रेडिङ्ग सेवा दिन सक्ने व्यवस्था गरेको छ । त्यस्ता व्यवसायीले आफ्नो नेटवर्थको २ गुणा बढीसम्म मार्जिन कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । सेयर दलालले प्रवाह गर्ने कुल मार्जिन कर्जाको १० प्रतिशतसम्म रकम एक जना लगानीकर्ता वा उसको एकाघर परिवारले सदुपयोग गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७३/७४ को तथ्याङ्कलाई हेर्दा जम्मा २० वटा सेयर दलालले मात्र मार्जिन ट्रेडिङ्ग सेवा दिन सक्छन् । कुल ५० सेयर दलाल मध्ये २० दलालको मात्र नेटवर्थ ५ करोड रुपैयाँभन्दा माथि छ ।

बाँकी ३० वटा सेयर दलालहरु नेटवर्थका कारण नै मार्जिन ट्रेडिङ्ग सेवा दिन नपाउने अवस्थामा रहेको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षमा मापदण्ड अनुसारको नेटवर्थ नभएका सेयर दलालहरुले आकार बिस्तार गरेर सेवा दिन सक्छन् ।

तथ्याङ्क अनुसार दीपशिखा धितोपत्र कारोबार कम्पनीको नेटवर्थ ११ करोड ३१ लाख रुपैयाँ छ । त्यसैगरी एबीसी सेक्युरिटिजको ११ करोड २७ लाख, नासा सेक्युरिटिजको १० करोड ५८ लाख, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजको १० करोड ३५ लाख रुपैयाँको नेटवर्थ छ ।

नेटवर्थ ५ करोड रुपैयाँ नजिक रहेका ६ दलाल व्यवसायीसँग ४ करोड ६४ लाख रुपैयाँभन्दा बढी नेटवर्थ छ । ७ वटा दलाल कम्पनीको नेटवर्थ ४ करोड ५ लाख रुपैयाँदेखि ४ करोड ४५ लाख रुपैयाँको बिचमा छ । उल्लेखित दलाल व्यवसायीको नेटवर्थ चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड रुपैयाँ पुग्नसक्ने देखिन्छ ।

४ करोड रुपैयाँभन्दा तल नेटवर्थ रहेका सेयर दलाल कम्पनीको संख्या १७ छ । जसमा ओपल सेक्युरिटिजको नेटवर्थ सबैभन्दा थोरै अर्थात् साढे २६ लाख रुपैयाँ छ ।

उल्लेखित सूचीको शीर्ष २० मा रहेका ५ करोड बढीको नेटवर्थ रहेका सेयर दलाल कम्पनीहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन कर्जा प्रवाह गर्न सक्छन् । यसरी कर्जा दिँदा एक व्यक्तिलाई दिने कर्जा तथा एउटा कम्पनीको सेयरमा लगानीगर्ने कर्जाको अधिकतम आकार नेटवर्थको २ गुणा रकमको १० प्रतिशत हुनेछ ।

- तथ्याङ्क स्रोत - नेपाल धितोपत्र बोर्ड

...[मार्जिन ट्रेडिङ आम लगानीकर्ताको पहुँचमा पुग्ला कि नपुग्ला ? - श्रृङखला २]...

...[ब्राेकर मार्फत प्रवाह हुने मार्जिन कारोबारमा अन्यौलता किन ? - श्रृङखला १]... 

comments powered by Disqus