बलियो पूँजी आधार निमार्ण गरेको इन्भेष्टमेन्ट बैंकको उत्साहजनक प्रगति

Aug 14, 2018 Merolagani

पूँजी आधार निरन्तर बलियो बनाउँदै लगेको नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB) ले गत आर्थिक बर्षको चौथो त्रैमासको उत्साहजनक प्रगति विवरण प्रस्तुत गरेको छ । १५ प्रतिशत बढीले चूक्ता पूँजी बढाएको बैंकले २६ प्रतिशत नाफा बढाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ कायम गरेको छ ।

 

चुक्ता पूँँजी १० अर्ब ६४ करोड, जगेडा कोष १४ अर्ब ८५ करोड

चुक्ता पूँजी, जगेडाकोष, निक्षेप तथा कर्जा परिचालनमा निजी क्षेत्रका बैंकहरुमध्ये अब्बल रहँदै आएको बैंकले लगानीकर्तालाई उत्साह जगाउने वित्तीय विवरण प्रस्तुत गरेको छ ।

चुक्ता पूँँजी १० अर्ब ६४ करोड पुर्याएको बैंकको जगेडा कोषको आकार नै १४ अर्ब ८५ करोड नाघेको छ । बैंकको चूक्ता पूँजी १५.२१ प्रतिशतले बढ्दा जगेडाकोषको आकार पनि झण्डै १४ प्रतिशतले वृद्धि भएको छ ।

खुद नाफा ३ अर्ब ९६ करोड, वितरण योग्य नाफा  ३ अर्ब ५७ करोड

एनएफआरएस प्रणाली अनुसारको बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो बर्ष भन्दा २६.०५ प्रतिशतले बढी हो । राष्ट्र बैंकको निर्देशन अनुसार नियामकिय व्यवस्था अन्तर्गतको रकम छुट्याउँदा बैंकको वितरण योग्य नाफा नै ३ अर्ब ५७ करोड रहेको छ । नियामकिय व्यवस्था अन्तर्गत बैंकले ३८ करोड ४९ लाख राखेको छ ।

खुद ब्याज आम्दानी ५ अर्ब ८७ करोड

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ५ अर्ब ८७ करोड आर्जन गरेको छ । यसअवधिमा बैंकले १३ अर्ब ६० करोड ब्याज आम्दानी गरेको छ भने ७ अर्ब ७२ करोड ब्याज खर्च गरेको छ ।

प्रतिसेयर आम्दानी बार्षिक ३७ रुपैयाँ २३ पैसा

एस डेभलपमेन्ट बैंकलाई आफुमा विलय गराएको बैंकले चुक्ता पूँजी बढेसँगै प्रतिसेयर आम्दानी ह्रास हुन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ । निजी क्षेत्रको सबैभन्दा धेरै चुक्ता पूँजी रहेर पनि बैंकले प्रतिसेयर आम्दानी बार्षिक ३७ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

निक्षेप एक खर्ब ४० अर्ब,कर्जा एक खर्ब २० अर्ब

एक खर्ब ४० अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब २० अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको निक्षेप साढे एघार प्रतिशतले बढ्दा कर्जा परिचालन १५ प्रतिशतले बढाएको छ ।

निक्षेप लागत ६.३१, आधार ब्याजदर ९.०२ प्रतिशत

बैंकको खराब कर्जा अघिल्लो बर्षको तुलनामा केही बढेर एक प्रतिशत नाघेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७५.०१ प्रतिशत छ भने खराब कर्जा १.०३, निक्षेप लागत ६.३१, आधार ब्याजदर ९.०२, र मूल्य आम्दानी अनुपात १८.४७ प्रतिशत रहेको छ ।

पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सक्नु, जगेडा कोषको आकार थप मजबुत बनाउँदै लग्नु, निक्षेप संकलन र कर्जा विस्तार सन्तुलनमा रहनु तथा अझै थप कर्जा विस्तार गर्न बैंक सहज अवस्थामा रहेकाले बैंकको प्रगतिले लगानीकर्तालाई उत्साहित बनाउन सक्छ ।

comments powered by Disqus