१२ विकास बैंकको नाफा करिब ३३ प्रतिशत घट्यो, कुन विकास बैंकले कमायो सर्वाधिक नाफा?

Oct 31, 2022 11:03 AM Merolagani

कात्तिक १४ गते, सोमबारसम्ममा १२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

प्रकाशित वित्तीय विवरण अनुसार यी १२ बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७१ प्रतिशत घटेको छ। १२ बैंकहरुमध्ये ५ विकास बैंकको खुद नाफा बढेको छ भने ५ विकास बैंकको घटेको छ। बाँकी २ विकास बैंकहरु भने नोक्सानीमा रहेका छन्।

१२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १२ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी रहेको छ। सो अवधिसम्ममा बैंकले ३० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

वृद्धिदरका आधारमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१.९२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा कामना सेवा विकास बैंकको नाफा सबैभन्दा बढी घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको नाफा ७६.३५ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ग्रीन डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको नाफा ऋणात्मक रहेको छ। अर्थात यी दुई बैंक नोक्सानीमा रहेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको नाफा सो अवधिमा १ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने नारायणी डेभलपमेन्ट बैंकको नाफा १ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६६ लाख रुपैयाँ ऋणात्मक रहेको सिन्धु विकास बैंकको नाफा भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ लाख रुपैयाँ धनात्मक भएको छ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।