के हो मेरो किसान ?
मेरो किसान कृषक र उपभोक्तालाई जोड्ने पुल बनेको छ । सिधैं किसानको बारीबाट ताजा तरकारी र फलफूल उपभोक्ताको दैलोसम्म पुर्याउने काम गर्दछ मेरो किसानले । मेरो किसान मार्फत अविनाशले कृषक र उपभोक्ताबीचका बिचौलियाहरुको कमिशनको खेललाई केहि हदसम्म चिर्न सफल भएका छन् । संस्थापक अविनाश भन्छन्, 'मेरो किसान एपमार्फत तरकारी तथा फलफूल किन्न तथा बेच्न सकिन्छ । तरकारी र फलफूल मात्र नभएर लोकल गुन्द्रुक, मह, बेसार लगायत पनि यस अनलाईन एपले बिक्री गर्ने गरेको छ ।'
कात्यानी चोकमा रहेको मेरो किसानको वेयरहाउसमा २५ जना कर्मचारी कार्यरत छन् । यस कम्पनीको आधुनिक फार्म लोलांग र टोखामा रहेको छ । यसबाहेक धादिंग, टिस्टुंग पालुंग , भक्तपुर र सांखुका किसानहरुले उब्जाएको तरकारी र फलफूल मेरो किसानले ल्याउने गरेको छ ।देशभरका १५० जना कृषकहरुसँग जोडिएर मेरो किसानले तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । किसानहरुले मेराे किसानबाट तरकारी बेच्दा २० देखि २५ प्रतिशतसम्म धेरै पैसा पाउने गरेकाेमा अविनाश खुशी छन् ।

अविनाश भन्छन्, 'अर्डर गर्नकालागि फेसबुक, व्हाट्सएप, भाइबर, ईन्स्टाग्राम, वेबसाइट तथा एपमा मेसेज अथवा कल गर्न सकिन्छ । अनलाइन सपिङ दराजबाट पनि मेरो किसानका तरकारी तथा फलफूल किन्न पाइन्छ । एपबाट अर्डर गर्नेलाई हामी ५ प्रतिशत डिस्काउण्ट तथा क्यासब्याक अफर दिन्छौं । मेरो किसानको एप आईओएस र एन्ड्रोइड फोनमा डाउनलोड गर्न सकिने अविनाशले जानकारी दिए ।
हाल मेरो किसानको सेवा काठमाडौं उपत्यकाभित्र मात्र सिमित रहेको छ । यद्यपी अब पोखरामा पनि मेरो किसानले आफ्नो सेवा विस्तार गर्दैछ । काठमाडौं उपत्यका भित्र आफ्नो उत्पादन डेलिभरी गर्न मेरो किसानले ५० रुपैयाँ मात्र लिने गरेको अविनाशको भनाई छ । यद्यपी १,५०० रुपैयाँदेखि माथि तरकारी तथा फलफूल मगाउनेकालागि डेलिभरी निशुल्क गरिएको समेत उनले बताए ।
अविनाश देशभित्र मात्र नभएर विदेशसम्म पनि आफ्नो सेवा पुर्याउन चाहन्छन् । मेरो किशानले विश्वका केहि राष्ट्रमा नेपालका शुद्ध गुन्द्रुक, घ्यु, बेसार लगायतका अन्य तरकारी निर्यात गर्ने तयारीमा रहेको बताउँछन् ।

शेयरको आम्दानीले जन्माएको मेरो किसान
६ वर्षसम्म शेयर बजारबाट कमाएको रकम नै मेरो किसानमा अविनाशले लगानी गरेका हुन् । मेरो किसान कुल ७० लाख रुपैयाँको लगानीबाट सुरु भएको हो ।
अविनाशले एप बनाउनकालागि नै लाखौं खर्च गरेका छन् । त्यसबाहेक जग्गा भाडामा लिदाँ, सवारीसाधन किन्दा र कार्यालय बनाउँदा अविनाशले सो रकम लगानी गर्नुपर्यो । तर छोटो समयमा नै यस कम्पनीले पूँजी चार करोड रुपैयाँ पुर्याएको छ ।
'शेयर बजारको ज्ञानले कमाएको पैसा यता लगानी गरेँ । दुबैतिर व्यवस्थापन गरिरहेको छु, उनी सुनाउँछन् । शेयर बजार धेरै विकसित भइसकेको छ । म अफिसमै बसेर शेयर कारोबार गर्न सक्छु । म फुल टाइम ट्रडेर हुन नसकेपनि लगानीकर्ता भएको छु, शेयर बजार र मेरो किशानले एक अर्कालाई सपोर्ट गरिरहेको अवस्था छ,'अविनाश थप्छन् ।
अविनाशको परिवारकालागि पहिलो पटक कृषिमा छोराले लगानी गर्दैछ भन्ने थाहा पाउँदा पचाउन गार्हो भएको थियो ।' इकोनोमिक्समा मास्टर्स गरेको छोराले खेतीपाती नै गर्ने भएपछि घरमा नै आएर खेती गर् भन्नुभयो, अविनाश हाँस्छन् । तर बिस्तारै मेरो सपनामा विश्वास गर्नुभयो', उनी भन्छन् ।

मासिक १५ लाखको तरकारी र फलफूल बिक्री
हालसम्म ३० हजार जनाले मेरो किसानको एप डाउनलोड गरेका छन् भने मेरो किसानको फेसबुक पेज नै एक लाख भन्दा बढिले लाइक गरेका छन् । यसरी, एक लाख भन्दा बढिले मेरो किसानमार्फत तरकारी र फलफूल खरिद गरिसकेको अविनाशको दाबी छ ।
यस कम्पनीले मासिक १५ लाख रुपैयाँ बराबरको तरकारी तथा फलफूल बेच्ने गरेको छ । खर्च कटाएर पनि महिनामा चार लाख रुपैयाँ कमाउने अविनाशले मेरोलगानीलाई बताए । 'ईकमर्स व्यापार आफैमा खर्चिलो छ । लंग रन र दिगोपनमा ध्यान दिएका छौं ।' तर व्यापार बढाउन लैजाने उनले सुनाए ।
यसैगरी, १०० भन्दा बढि रेष्टुरेन्ट, होटलदेखि लिएर मेरो किसानका तरकारी होस्टल र अस्पतालका क्यान्टिनसम्म पनि पुग्ने गरेको छ ।
'केहि समयअघि मेरो किसानले आफ्नै स्टोरहरु खोलेपनि हाल भने यी आउटलेट संचालनमा छैनन् । अनलाइन व्यापारमा नै केन्द्रित होउ भनेर बन्द गरेका हौं । तर अब काठमाडौं उपत्यकामा छिट्टै एउटा आउलेट खोल्दैछौं,' अविनाश सुनाउँछन् ।

कोभिडले दिएको अवसर
कोभिड महामारीको केही अघि मात्रै मेरो किसान एप लञ्च भएको थियो । तर, अचनाक सुरु भएको महामारीले झपक्कै देशलाई छोप्यो । केही समयता अविनाश अन्यौलमा परे । सबै व्यापार व्यवसाय ठप्प, देश नै लकडाउनमा यो सबैका लागि चिन्ताको कुरा थियो । तर, अविनाशले यसलाई अवसरको रुपमा देखे । कोभिडले घरमा थुनिएको व्यवसायलाई अनलाइनमार्फत घरमै डेलिभरी गर्न सकियो भने राम्रो हुन्छ भन्ने सोंचेर उनले जोखिमकै बीचमा थप लगानी कम्पनीमा खन्याए । एप्लिकेसन लञ्च गरेकै दिनमा ११० अर्डर आएपछि अविनाशको खुशीको सिमा रहेन । उनी हौसिए । ‘त्यसपछि ब्यापारले चमत्कार ग¥यो,’ अविनाश भन्छन्, ‘घर घरमा थुनिएका मानिसलाई हामीले सुरक्षा साबधानीसहित तरकारको डेलिभरी दियौं, २ हजारको तरकारी पु¥याउँदा २ हजार नै टिप्स पाउने अवस्था समेत बन्यो ।’ उनका अनुसार एक दिन मै २ लाख रुपैयाँसम्मको ब्यापार त्यो बेला भएको थियो । 'जुन समयमा सर्वसाधारणलाई हाम्रो खाँचो थियो, हामीले आफ्नो स्वास्थ्य जोखिम राखेर काम गर्यौँ । किसानको तरकारी नबिक्ने समयमा तरकारी पनि किन्यौं र बेच्यौं।' कम्पनीकासाथै सबैकोलागि सहज भएको उनी सम्झिन्छन् ।
बजारमा नयाँ कृषि सम्बन्धित ईकमर्स कम्पनीहरु आउँदा नेपालको समग्र कृषि क्षेत्रमा टेवा पुग्ने अविनाशको धारणा छ । 'म गर्व गर्छु । हामीलाई देखेर धेरै कम्पनी आउनुभयो । जति धेरै कम्पनी आउनुहुन्छ त्यति धेरै किसानलाई राहत हुन्छ र बिचौलियाको अन्त्य हुन्छ । हामी वास्तवमा नै ग्राउण्डमै गएर काम गर्न सकौं भन्ने सोंचेर सुरु गरेका हौं र काम गरिरहेका छौं ।'
देशभरका बढि भन्दा बढि किसानलाई मेरो किसानमा जोड्ने र उहाँका उत्पादनहरु खरिद गर्ने र ल्याएर ग्रडिंग तथा प्रोशेषिंग गरेर विभिन्न होलसेल तथा ग्राहकहरुलाई वितरण गर्ने अविनाशले लक्ष्य लिएका छन् । त्यसैगरी, तरकारी मात्र नभएर फ्रोजन मिट तर्फ पनि व्यापार विस्तार गर्ने उनको योजना रहेको सुनाए ।
यसकासाथै किसानहरुलाई सहज होस् भन्नकालागि बैंकहरुसँग पनि मेरो किसानले सम्झौता गर्न गइरहेको छ ।
मेरो किसानका संस्थापक अविनाशको भावी योजना कम्पनीको आईपीओ निष्कासन गर्ने रहेको छ । मेरो किसान कम्पनीले आउँदो पाँच वर्ष भित्र एग्रो ईकमर्सको प्रतिष्ठित पब्लिक कम्पनी बनाएर सूचीकृत गर्ने सोंच छ । कम्पनीको १० करोड चुक्ता पूँजी पुर्याएर सर्वसाधारणकालागि आईपीओ जारी गर्ने योजना बनाएको छ । आईपी निष्कासन बारे अविनाश थप खुलाउँछन्, 'पब्लिक कम्पनी बनाएर, नेप्सेमा सूचीकृत बनाएपछि, १० प्रतिशत किसानहरुलाई र सर्वसाधारण्मा २० प्रतिशत शेयर जारी गर्ने उद्देश्य मेरो रहेको छ । मेरो किसान प्रत्येक किसानको होस् ।'