शिवम सिमेन्टले फेरि जित्यो घोराहीलाई, सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण यसकारण बढ्दै

Mar 18, 2024 06:18 AM Merolagani

सिमेन्ट कम्पनीहरुमा लगानीकर्ताको आकर्षण निरन्तर बढ्दै गएको छ। बुक बिल्डिङ्मार्फत आइपीओ जारी गरेको सर्बोत्तम सिमेन्टको आईपीओ सूचीकृत हुने समय नजिकिदै गर्दा लगानीकर्ताको आकर्षण सिमेन्टमा झनै बढेको छ।

कारोबार रकमको आधारमा पनि हाल सूचीकृत रहेका तीन सिमेन्ट कम्पनी शिर्ष स्थानमा पर्दै आएका छन्। यसले सूचीकृत सिमेन्ट कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी रहेको देखाउछ।

पछिल्लो समय शिवम् सिमेन्ट र घोराही सिमेन्टको शेयरमूल्यमा प्रतिस्पर्धा नै चलेको छ भने सोनापुर मिनिरल्सले पनि यी दुई कम्पनीलाई पच्छाइरहेको छ।

 

  • घोराहीलाई शिवमले जित्यो

विगत केहि महिनादेखि नै शिवम सिमेन्टलाई शेयरमूल्यमा पछि पार्दै आएको घोराही अहिले भने शिवम् सिमेन्टभन्दा पछाडि देखिएको छ। आइतबार शिवम् सिमेन्टको शेयरमूल्य प्रतिकित्ता ५७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने घोराही सिमेन्टको प्रतिकित्ता ५७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आपूर्ति बढी भएको कारण लगानीकर्ताले शिवम् सिमेन्टभन्दा घोराही र सोनापुर मिनिरल्समा धेरै लगानी गर्दै आएका थिए। तर पछिल्लो समय भने शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण बढेको छ। यसले गर्दा शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै भइरहेको छ।

सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्टको शेयरमूल्य पनि सबैभन्दा उच्च भएको छ।

  • दोस्रो बजारमा करोबार खुल्दा उच्च बिक्री चाप देखिएको सोनापुर र घोराहीमा किन लगानीकर्ताको आकर्षण

घोराही सिमेन्ट र सोनापुर मिनिरल्सको शेयर नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुल्ने वित्तीकै उच्च बिक्री चाप देखिएको थियो। कारोबार खुल्ने वित्तीकै दुबै कम्पनीको शेयरमूल्य निकै घटेको थियो। तर अहिले तीनै कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन्।

घोराही सिमेन्ट आईपीओ जारी गरेदेखि नै निकै चर्चामा रहेको छ। आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत हुने वित्तीकै घटेको कम्पनीको शेयरमूल्य अहिले लगातार बढ्दै गएको छ। प्रिमियममा शेयर निष्कासन गरेको कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबार खुलेको दिन नै नकारात्मक सर्किट लागेर घटेको थियो। पहिलो कारोबार ५६५ रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य ५८१ रुपैयाँसम्म पुगेको भए पनि अन्तिममा ५०९ रुपैयाँमा कारोबार बन्द भएको थियो। सो पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६३ रुपैयाँसम्म झरेको थियो। तर अहिले भने कम्पनीको शेयरमूल्य लगातार बढ्दो क्रममा छ।

यस्तै सोनापुर मिनिरल्को पनि पहिलो कारोबार ३५० रुपैयाँमा खुलेको भए पनि सुरुवातमै बिक्री चाप बढ्दा कम्पनीको शेयरमूल्य २३० रुपैयाँसम्म झरेको थियो। सो पश्चात कम्पनीको शेयरमूल्य लगातार बढ्दो क्रममा छ।

  • सिमेन्ट कम्पनीको मूल्य बढ्नुको मुख्य कारण

सिमेन्ट कम्पनीहरुको शेयरमूल्य बढ्नुमा नयाँ निर्माणको सिजन सुरु हुनु, नयाँ सिमेट कम्पनी बजारमा भित्रिनु र सिमेन्ट निर्यातको बाटो खुल्दै जानु मुख्य कारण हुन्।

अहिले बुकबिल्डिङ्मार्फत आईपीओ जारी गरेको सर्बोत्तम सिमेन्टको शेयरमूल्य सूचीकृत हुन लागेसँगै सिमेन्ट कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा छ।

यसअनुसार कम्पनीको पहिलो शेयर कारोबारको लागि यसको ३ गुणासम्म कारोबार रेञ्ज पाउछ। कम्पनीको सर्वसाधारणमा जारी गरेको शेयरको आपूर्ति कम भएको कारण पनि कम्पनीको शेयरमूल्य सो रेञ्जभन्दा पनि माथि जाने आँकलन लगानीकर्ताको छ। सर्बोतम सिमेन्टको शेयरमूल्य बढ्दा त्यसले उक्त क्षेत्रका अन्य कम्पनीहरुलाई समेत तान्न सक्ने आँकलन लगानीकर्ताको छ। जसले गर्दा अन्य सिमेन्ट कम्पनीहरुमा लगानीकर्ताको आकर्षण धेरै छ।

अहिले निर्माणकाे सिजन सुरु भएको छ। धेरै निर्माणका कामहरु धमाधम सुरु भइसकेका छन्। बैंकहरुले पनि अहिले ९ प्रतिशत ब्याजदरमा नै घरकर्जा अफर गर्न थालेका छन्। यसले गर्दा निर्माण क्षेत्रलाई अझै चलायमान बनाउने आँकलन गरिएको छ। निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट कम्पनीहरुको ब्यापार बढ्ने छ भने उनीहरुको आम्दानी पनि बढ्ने छ। यसले गर्दा अहिले आगामी त्रैमासमा सिमेन्ट कम्पनीहरुको वित्तीय विवरण समेत सकारात्मक आउने आँकलन छ।

पछिल्लो समय भारतमा सिमेन्ट निर्यात पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नै करिब २ अर्बको सिमेन्ट भारत निर्यात भएको छ। गत वर्षदेखि नै सुरु भएको सिमेन्ट निर्यात अहिले बढ्दै गएको छ। यसले गर्दा सिमेन्ट कम्पनीहरुको बजार विस्तार हुँदै गएको छ। जसले गर्दा उनीहरुको ब्यापार थप बढ्ने छ। सोहि कारण लगानीकर्ताहरुले सिमेन्ट कम्पनीमा लगानी बढाएका छन्।

  • शिवमकाे चुक्ता पूँजी सबैभन्दा धेरै

शिवम् सिमेन्ट कुल चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कुल सूचीकृत ४ करोड ४० लाख कित्ता शेयरमा ३ करोड ८७ लाख २० हजार कित्ता शेयर सँस्थापक छ भने बाँकी ५२ लाख ८० हजार कित्ता साधारण शेयर छ। तर कम्पनीले आईपीओ जारी गरेको ३ वर्ष पुगिसकेकोले संस्थापक शेयरको समेत लकइन पिरेड खुलिसकेको छ। जसले गर्दा कम्पनीको संस्थापक शेयर पनि साधारण शेयर सरहनै कारोबार गर्न सकिन्छ। यसले गर्दा कम्पनीको शेयरमा बढी आपूर्ति रहेको देखिन्छ।

घोराही सिमेन्टको कुल चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँ रहेको छ। सूचीकृत ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयरमध्ये ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता शेयर संस्थापक शेयर रहेको छ। जुन शेयर आगामी ३ वर्षयता दोस्रो बजारमा कारोबारमा आउने छैन। बाँकी ७९ लाख ४३ हजार ८०१ कित्ता साधारण शेयर छ जसमध्ये स्थानीयमा बाँडफाँट भएको बाहेकको शेयर मात्रै दोस्रो बजारमा कारोबारमा आउने छ।

यस्तै सोनापुर मिनिरल्सको कुल चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ छ। कुल सूचीकृत ५ करोड ७ लाख ५० हजार ५०० कित्तमध्ये १ करोड ८४ लाख ५० हजार ३०० कित्ता शेयर संस्थापक रहेको छ भने बाँकी १ करोड २३ लाख २०० कित्ता साधारण शेयर रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।